काठमाडौँ, २४ साउन । काठमाडौँको कुलेश्वरमा सञ्चालित गौतमश्री बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमलाई बचतकर्ताले साथ दिन थालेका छन् ।सहकारीका म्यानेजर रविन विष्टले गतहप्ता सहकारी संकटमा परेको एक सूचना जारी गरी फरार भएपछि व्यापारको सिलसिलामा भारतमा रहेका अध्यक्ष गौतम एक्कासी काठमाडौँ आएका थिए ।
भारतको राजधानी नयाँ दिल्ली रहेका अध्यक्ष गौतम उक्त समचार सुन्नासाथ एक्कासी आफ्नो व्यापारिक पाटीसँग सवारी साधन मागेर रक्सौल नाका हुँदै काठमाडौँ आएका थिए । “गौतमश्री सहकारीले ठगी गरेर सञ्चालक फरार रहेको समचार सुनेर आश्चार्यचकित परेँ, उक्त समचार सुनेपछि म रातारात काठमाडौँ आएको हुँ,”– उनी भन्छन् ।
उक्त समचार सुनेपछि आफूलाई नमज्जा लागेको गौतम बताउँछन् । “म्यानेजरले के कारणले उक्त म्यासेज प्रवाह गरे त्यो अनुसन्धानको विषय होला, गौतमश्री सरकारी र मलाई विश्वास गरेर सहकारीमा राखेको पैसा फिर्ता हुन्छ,”– अध्यक्ष गौतम भन्छन् ।
अध्यक्ष गौतमले आफू भारतबाट फर्कदा फर्कँदै कतिपय बचतकर्ताले प्रहरी र सहकारी विभागमा सहकारी र आफ्नो नामको बैँक खाता रोक्का गर्न लगाएकाले उक्त खाता फुकुवा हुनासाथ साना बचतकर्ताको बचत फिर्ता गर्ने बताए । “सहकारीको खातामा रहेको पैसाले पुगेन भने म निजी सम्पत्ती विक्रिवितरण गरेर भएपनि बचतकर्ताको पैसा फिर्ता गर्छु, बचतकर्ताहरु ढुक्क हुनुहोस्,”– उनी भन्छन् ।
अध्यक्ष गौतमले गरेको उक्त साहसलाई सहयोग गर्न पछिल्ला दिनमा बचतकर्ताहरु फुलको माला लिएर अध्यक्ष गौतमलाई भेट्न गौतमश्री सहकारीको केन्द्रीय कार्यालय पुग्न थालेका छन् । अध्यक्ष गौतम र सहकारीलाई हालेको मुद्दासमेत फिर्ता लिन बचतकर्ता लागेका छन् । बचतकर्ता भन्छन्,– “बचत गरेको पैसा ढिलोचाँडो आउँछ, सहकारी राम्रोसँग चल्नुप¥यो,” । गौतमश्री सहकारीलाई परेको दुःखमा साथ दिन ऋणीहरु समेत पछिल्लो समय गौतमश्री सहकारी पुगेका छन् । अध्यक्ष गौतमलाई भेटेर आफूले लिएको ऋण चाँडो तिर्ने प्रतिवद्धता जनाएका छन् ।
काठमाडौँको न्यूरोडमा लामो समय मोबाइल पसल सञ्चालन गरेका एक ऋणीले आफूले लिएको ऋण चाँडो तिरेर सहकारीलाई सहयोग गर्ने बताए । “मलाई दुःख परेको बेलामा सहकारीले मलाई पैसा दिएर सहयोग गरेको छ, सहकारीलाई दुःख परेको बेला मैले सहकारीलाई किन सहयोग नगर्ने, चाँडो सहकारीबाट लिएको पैसा तिर्छु,”– उनी भन्छन् । लामो समयदेखि सञ्चालन हुँदै आएको गौतमश्री सहकारीमा हाल ७ हजारभन्दा बढी बचतकर्ता रहेका छन् भने पाँच अर्बभन्दा बढी निक्षेप रहेको छ ।