२९ साउन, वीरगञ्ज । बारा विश्रामपुर गाउँपालिका–५ ईटियाहीका २३ वर्षीय राजकुमार ठाकुर वीरगञ्जमा ट्युसन पढ्ने गर्थे । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईटियाहीमा कक्षा ९ मा अध्ययनरत उनी २ महिनादेखि विदाको दिन बाहेक बिहानसाइकलमा वीरगञ्ज जान्थे । वीरगञ्ज–१६ स्थित श्रवण कोचिङ सेन्टरमा ट्युसन पढेर फर्कन्थे ।
साउन २४ गते बिहान पनि उनी घरबाट ट्युसन पढ्न भनी निस्किए । तर उनी फर्किएनन् ।राजकुमारका बुवा मोतिलाल वीरगञ्ज–८ लिंक रोडमा सैलुन सञ्चालन गर्छन् । बिहानै पसलमा आउने उनी साँझ मात्र घर फर्किन्छन् । साउन २४ गते बिहान ट्युसन पढ्न गएको छोरा घर नफर्किएपछि उनीहरुले आफन्त र छोराको साथीभाइसँग सोधपुछ गरे ।संभावित ठाउँमा खोजी गर्दा पनि नभेटिएपछि खोजतलासका लागि प्रहरीलाई अनुरोध गरे । प्रहरीले नगवा क्षेत्रबाट हराएको हुन सक्ने आशंकामा सीसीटीभी क्यामेराका फुटेजहरु खोज्यो । नभन्दै सीसीटीभी फुटेजले अनुसन्धानका लागि बाटो देखायो ।
प्रहरीका अनुसार राजकुमार बिहान बिहान ९ः२० बजे कोचिङ सेन्टरबाट निस्किएका थिए । घर जान लागेका उनलाई दुई जनाले टेलरतिर लगेको पत्ता लाग्यो ।राजकुमारलाई ईटीयाहीकै ३० वर्षीय प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेलले वीरगञ्जको नगवामा रहेको आफ्नो टेलरमा लगेका थिए । उनीहरुले वीरगञ्ज– १६ नगवामा उत्तम टेलर्स सञ्चालन गर्दै आएका छन् ।
तारले घाँटी कसेर हत्या: प्रहरीका अनुसार उनीहरुले टेलरमै कुटपीटपछि विद्युतको तारले घाँटी कसेर राजकुमारको हत्या गरेको दुबैको बयान छ । हत्यापछि कपडाका टुक्राहरुसहित प्लाष्टिकको बोरामा शव पोको पारे । उत्तम र प्रितम पटेलले बोलबम (बाबाधाम) जाने रातो ड्रेस लगाए । उत्तमले ना ३८ प ४३९५ नम्बरको मोटरसाइकल चलाए । बीचमा शव हालेको बोरा राखेर प्रितमले समाते । बाइपास सडक हुँदै वीरगञ्ज भन्सार कार्यालय अगाडिको सडक हुँदै भारत रक्सौलको रेल्वे स्टेशनमा पुगे । त्यहाँ उनीहरुले मुज्जफरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा शव छोडेर फर्किए ।
मुख्य सडक हुँदै शव भारत पुर्याउँदा प्रहरीले चाल पाएन । जबकी रक्सौलबाट वीरगञ्ज आउँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय समेतले गरेर पाँच ठाउँमा चेक गरिन्छ ।
साउन २७ गते साँझ ५ बजे भारत बिहार भागलपुर जिल्लाको नौगछियास्थित रेल्वे स्टेशनमा ट्रेन सफा गर्ने क्रममा शव भेटियो । नौगछिया भागलपुर रेल्वे स्टेशनदेखि ३० किलोमिटर पूर्वमा पर्छ । वेवारिसे शव भेटिएपछि भारतीय प्रहरीले मृतकको पहिचानका लागि नेपाल प्रहरीसँग पनि समन्वय गर्यो । उसले पोष्टमार्टम लगायत अन्य अनुसन्धानको प्रक्रिया अघि बढायो । त्यसबारे जानकारी पाएपछि साउन २८ गते नेपाल प्रहरी र मृतकका आफन्त पुगेर मृतकको पहिचान गरेर शव बुझेर ल्याएका छन् । शव नारायणी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
बहिनीको प्रेमीको हत्या आरोपमा २ जना पक्राउ: जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘सुनियोजित तरिकाले हत्या भएको देखिन्छ, हत्यापछि बाबाधाम जाने लुगा लगाएर शव सीमा पारी पुर्याएर मुज्जफरपुर जाने ट्रेनमा छोडिएको रहेछ । भारतीय प्रहरीसँगको समन्वयमा भागलपुरबाट शव ल्याइसकेका छौं’ उनले भने, ‘जघन्य प्रकृतिको घटना भएकोले गम्भिर ढंगले अनुसन्धान गरिरहेका छौं ।’
छोरीसँग नजिकिनेलाई भौतिक कारबाही: पक्राउ परेका पटेल परिवारले यसअघि पनि गाउँका केहि युवकलाई कुटपीट गरेको रहस्य बाहिरिएको छ । आइतबार हत्यामा संलग्न व्यक्तिहरुलाई कडा कारबाहीको माग राखेर वीरगञ्जमा प्रदर्शन भयो । जिल्ला प्रहरी कार्यालय घेराउ गर्न आएका स्थानीयलाई प्रहरीले मुख्य सडकमै रोकेको थियो ।
प्रदर्शनमा सहभागीहरू । त्यही प्रदर्शनमा सहभागी भएकाहरुले पटेल परिवारले यसअघि पनि गाउँका युवकहरुलाई कुटपीट गरेको बताएका छन् । स्थानीय राम कुमारी पासवानले उनीहरुले परिवारले आफ्नो छोरालाई पनि निर्घात कुटपीट गरेको आरोप लगाइन् । ‘छेउको किराना पसलमा सामान किन्न मेरो छोराले हर्न बजाएको थियो । उनीहरुको छोरीलाई जिस्काएको भनेर हतौडीले हानेर निर्घात कुटपीट गरे,’ उनले भनिन् ।
हत्याका आरोपीलाई कडा कारबाहीको माग गर्दै वीरगञ्जमा प्रदर्शन: १६ वर्षकी बहिनीसँग प्रेम सम्बन्धमा रहेको आशंकामा पटेल दाजुभाइले राजकुमारको हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताए । उनी भन्छन्, ‘अभियुक्तहरुको बहिनीसँग मृतकको बोलचाल हुने गरेको रहेछ । प्रेम सम्बन्धको आशंकामा सोधपुछ गर्ने क्रममा हत्या गरेका रहेछन् ।’
४ जना विरुद्ध किटानी जाहेर: प्रहरीले दुई दाजुभाइलाई मात्र पक्राउ गरे पनि मृतकका बुवा मोतिलाल ठाकुरले भने हत्यामा ४ जनाको संलग्नता रहेको भनी अपहरण तथा शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दामा किटानी जाहेरी दिएका छन् ।
३५ वर्षीय पुरुषोत्तम पटेल र बुवा ६५ वर्षीय कृष्ण राउत कुर्मीको पनि घटनामा संलग्नता रहेको उनको दाबी छ ।
बोलचाल गरेकै निहुँमा आफ्नो छोराको हत्या भएको मृतकका बुवा मोतिलालले बताए ।
‘कृष्ण राउत कुर्मीको छोरी र मेरो छोरा एउटै विद्यालयको कक्षा ९ मा पढ्थे । कक्षा साथी भएकाले बेलाबखत कुरा हुने गरेको थियो,’ उनले भने, ‘त्यसैको निहुँमा मेरो छोराको हत्या भएको छ । हत्या गर्नेहरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।’अनलाइन खबरबाट साभार