काठमाडौँ । अहिलेका विद्यार्थीको भविश्य परिवार र राष्ट्रसँग जोडिएको बताईएको छ । निजी तथा आवासीय विद्यार्थी अर्गनाईजेशन नेपाल (प्याब्सन) काठमाडौँ जिल्ला शाखा, प्याब्सन टोखा र साउन वेष्टन स्टेट कलेज बसुन्धराले आज माध्यामिक शिक्षा परिक्षा (एसईई)का विद्यार्थीका लागि आयोजना गरेको विषयगत प्रशिक्षणमा बोल्ने वक्ताले विद्यार्थीसँग परिवार र राष्ट्रको भविश्य जोडिएकाले दत्तचित्त भएर अध्ययन गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले एसईईको परिक्षासँग विद्यार्थी र शिक्षकमात्र नभई स्थानीय सरकार र देशको भविश्य जोडिएको बताउनुभयो । “परिक्षामा पढाईमात्र ठूलो कुरा होइन, पढेको कुरालाई कसरी उतार्ने भन्ने जान्नु आवश्यक छ,”–उहाँले भन्नुभयो । प्याब्सनका केन्द्रीय महासचिव आरवी कटवालले शिक्षकले पढाएको विषयलाई घरमा गएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धिमूलक हुने बताउनुभयो ।
साउथ वेष्टन स्टेट कलेजका प्राचार्य डा राजेन्द्र केसीले निर्धक्क भएर परिक्षा दिएमात्र राम्रो अङ्क हाँसिल गर्न सकिने बताउनुभयो । दुई दिनसम्म चल्ने प्रशिक्षणमा काठमाडौँको टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र तारकेश्वर नगरपालिकाका १०० भन्दा बढी निजी तथा सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीको सहभागीता रहने साउथवेष्टन कलेजका सहप्राचार्य हरिसिंह केसीले जानकारी दिनुभयो ।