काठमाडौं । नेपाल खुला विश्वविद्यालयले सञ्चालन गर्न गइरहेको गाइडेन्स एण्ड काउन्सिलिङ र आइसिटी एण्ड सेन्चुरी स्किल्ससम्वन्धी कार्यशाला आइतबार पर्साको बीरगंजमा सम्पन्न भएको छ ।
कार्यक्रम संयोजक डा.अनिला झा तथा सहायक प्राध्यापक निर्मला सुबेदीले सो विषयमा प्रस्तुति दिएका थिए । बीरगंजको ग्लोबल विजनेस कलेजमा भएको कार्यक्रममा उत्साहपूर्वक सहभागिता भएको आयोजकले जनाएको छ । कार्यक्रममा ग्लोवल विजनेस तथा अन्य कलेजका प्राध्यापक, सह– प्राध्यापक, विद्यार्थी तथा शिक्षासेवीलगायतको उपस्थिति रहेको थियो । डा.अनिला झाले नेपाल खुला विश्वविद्यालयमा विभिन्न कार्यक्रम तथा शिक्षण पद्धतिका साथै शिक्षा तथा शिक्षणमा प्रविधिको महत्वको विषयमा जानकारी दिएका थिए । उनले यी दुइवटा विषयको महत्वको र उपयोगिताको बारेमा पनि चर्चा गरेका थिए ।
सहायक प्राध्यापक सुबेदीले नेपाल खुला विश्वविद्यालयमा सञ्चालन भइरहेका कार्यक्रम तथा आगामी दिनमा आउन लागेको कार्यक्रमसम्वन्धी जानकारी दिएकी थिइन् । सुवेदीले यस प्रकारका कार्यक्रम देशैभर सञ्चालन गर्ने र यस विषयमा सबैलाई जानकारी दिने लक्ष्य रहेको बताइन् । ग्लोवल विजनेस कलेजका प्रिन्सिपल तथा डाइरेक्टर श्रीराम दासले शिक्षासँग जोडेर कतिपय नीति र ऐनहरु कागजमा मात्रै सीमित रहेको तर व्यहारमा आउन नसकेको बताए ।
रोयल एकेडेमीका विजया ओझैयाले गाइडेन्स एण्ड काउन्सिलिङका विभिन्न पक्षमा प्रकाश पारेका थिए ।
