स्वतन्त्र पत्रकारितामा समार्पित निष्ठावान् संचारकर्मी ओझा

२०८० भाद्र ५, मंगलवार २०:०८ गते २०८० भाद्र ५, मंगलवार २०:०८ गते २०८० भाद्र ५, मंगलवार २०:०८ गते

सरोज ओझा पत्रकारिता जगतका एक निष्ठावान् संचारकर्मी हुन । बहुआयामिक व्यक्तित्वले ओतप्रोत ओझा क्षमतावान र स्वाभिमानी पत्रकार मध्येमा पर्दछन् । करिव दुई दशकदेखी पत्रकारितामा होमिएका ओझा विगत १७ बर्ष देखी नेपाल टेलिभिजनसँगको सहकार्यमा अनवरत रुपमा टेलिभिजन कार्यक्रम उत्पादनसँग जोडिदै आएका छन् । ओझा कार्यक्रम सचेतनाका प्रस्तोता, सम्पादक तथा निर्देशक हुन् । उनले प्रस्तुत गर्ने कार्यक्रम सचेतना बुधबार राती ९:१५ बजे अर्थात प्राइम टाइममा एनटिभि न्युज च्यानलमा प्रसारण हुँदै आएको छ । कार्यक्रम सचेतनाले प्रसारणको १५ बर्ष पुरा गरिसकेको छ । ओझाले हालसम्म सचेतना बाहेक पनि बाल आवाज, बिजनेस इन्फो, नमस्ते नेपाल, प्रवासीको सन्देश, आदर्श परिवार, नेपाल मै पहिलो पटक कुकिङ रियालिटी शो कलेज सेफ आईकन र हास्य टेलिश्रिँखला कुरा मात्रै भो जस्ता विविधतायुक्त कार्यक्रम आम दर्शकमाझ पस्कदै संचार जगतमा विशिष्ठ योगदान पुर्याएका छन्।

 

ओझा एक सफल डकुमेन्ट्री मेकर समेत हुन् । हालसम्म उनले हेल्थ रिटेन्सन, विश्व स्वास्थ्य संगठन -२०२१, गद्धी बैठक पुनर्निमाण , यु एस एम्बेसडर फण्ड -२०७५ , लुम्बिनी, आईबिडिए-०७४, अन्नपूर्ण ओडिसी, नेपाल पर्यटन बोर्ड -२०७१, किर्तीपुरको पर्यटकिय सम्भावना, किर्तिपुर नगरपालिका -२०७३, सहुलियत दरको सुपथ मुल्य पसल, साल्ट ट्रेडिङ -२०६८ देखी, हरियो झन्डा अभियान ललितपुर महानगर पालिका -२०७४, नेपालमा सुख्खा बन्दरगाहा -एनआईटिडिबी, नेपाल सरकार -२०६७ , दशौ सार्क व्यापार मेला, टिईपिसि, नेपाल सरकार -२०६८, बाल मैत्री स्थानीय शासन, सिसीडब्लुबी , नेपाल सरकार -२०६९, सबैका लागी पानी फण्ड बोर्ड, नेपाल सरकार-२०७० लगायतका वृत्तचित्र निर्माण लगायत स्क्रिप्ट लेखन तथा निर्देशन सम्बन्धी काम गरेका छन् । उनी एक कुशल जीवनी लेखक साथै शोधकर्ता पनि हुन् । ओझा हाल पनि ’बुढीगण्डकी सभ्यता र सेरोफेरो’ बिषयमा शोधमुलक अध्ययन, अनुसन्धान गर्नमा तल्लिन छन् ।

साथै, उनले विभिन्न कम्पनी तथा संस्थाहरुको प्रेस सल्लाहकार तथा संचार विज्ञको हैसियतले कार्यगर्दै आएका छन् । त्यस्तै, उनले सन २०१९ मा नेपालको काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटलाई नेपाल स्थित १४ वटा स्याटलाईट टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्ने संयोजनकारी भूमिका निर्वाह गरेका थिए ।त्यसो त ओझाले कर्पोरेट खबर पत्रिका एवम् सोको अनलाइन संस्करण कर्पोरेट खबर डटकमको सम्पादक भएर काम गरिसकेका छन् । यसका अलवा ओझाले ललितपुर महानगरपालिकाद्वारा प्रकाशित बुलेटिन र खेल जित मनोविज्ञान पुस्तकको सम्पादक र ट्रेकिङका सम्झना कृतिको भाषा सम्पादक रहेर कार्य सम्पादन गरेका छन् ।

नेपाल पत्रकार महासंघको एशोसियट संस्था एभरेष्ट प्रेस क्लबका महासचिव समेत रहेका उनि अघिल्लो कार्यकाल नेपाल पत्रकार महासंघ, एशोसयिट प्रदेश कमिटि कार्यसमितिमा निर्वाचित भएका थिए । ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक ओझा राज्य मिडिया नेटवर्कका अध्यक्ष समेत हुन् । नेपाली र अंग्रेजी दुवै भाषा माथि राम्रो पकड राख्ने उनले नेपाली, अंग्रेजी अनुवादकको रुपमा समेत कार्य गर्दै आएका छन् । बजेट, मौद्रिक नीति तथा सार्वजनिक वित्त जस्ता प्राविधिक बिषयका शोधमुलक सन्दर्भ सामाग्रीहरुका ठेली समेत उनले अनुवाद गरेका छन् । वित्त, वाणिज्य, सामाजिक, राजनीतिक, कुटनीतिक, प्रशासनिक, पर्यटन, कृषि, स्वास्थ्य, बालबालिका लगायतका जुनसुकै क्षेत्रको बिषयमा गहिराईमा पुगेर लेख्न सक्ने ल्याकत राख्छन् उनी । फुर्सदिलो समयमा उनी आर्थिक एवम् सामाजिक बिषयमा लेखहरु लेख्छन् । साहित्यतर्फ पनि उनको रुची छ । ओझाले नेपाली र अंग्रेजी दुवै भाषामा कविता कोर्दै आएका छन् ।

ओझाले लामो समयदेखी अनवरत रुपमा पुर्‍याएको योगदानको कदर गर्दै आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिभिजनले सम्मान समर्पण गरेको थियो । बाल श्रमिक र वैदेशिक रोजगारीको सिलसिलामा समस्या तथा बेचविखनमा परेकाको उद्धार एवम् पुनर्स्थापना साथै मानवअधिकार तथा शान्ति प्रबर्धानार्थ संचार क्षेत्रबाट ओझाले पुर्‍याएको योगदानको उच्च मुल्यांकन गर्दै सन् २०२१ मा थाईल्याण्डमा मुख्यालय रहेको युनाईटेड नेसन्स पिसकिपर्स फेडरल काउन्सिलले उनलाई ’युएनपिकेएफसी हुमानेटेरियन अवार्ड’ प्रदान गरेको थियो भने विश्व मानवाधिकार परिषद् भारतले ‘भारत गौरव रत्न सम्मान -२०२३’ बाट विभुषित गरेको छ । त्यसो त करिब २ दशकसम्म टेलिभिजनको पर्दामा आम दर्शक माझ विविधतायुक्त कार्यक्रमहरु पस्कने क्रममा बाल कार्यक्रम देखी रियालिटि शोसम्मका कार्यक्रमहरु निर्माण एवम् निर्देशन तथा कार्यक्रम प्रस्तोता रहि विविध क्षेत्रका सवाललाई चेतनामुलक तबरले प्रस्तुत गर्दै आएका ओझा टेलिभिजन क्षेत्रकै प्रतिष्ठित मानिने ’दादा साहेव फाल्के इन्डियन टेलिभिजन अवार्ड प्राप्त गर्ने पहिलो नेपाली टेलिभिजनकर्मी पनि हुन । उनले २०२३ मा विदेशी विधा अन्तर्गत सर्वोकृष्ट कार्यक्रम प्रस्तोता एवम् निर्देशकको रुपमा उक्त अवार्ड हात पारेका थिए ।

त्यसैगरि ओझाले नगद राशीसहितको टान पर्यटन पत्रकारिता सम्मान, ललितपुर चेम्बर अफ कमर्सबाट आर्थिक पत्रकारिता सम्मान, निगरानी दैनिकबाट संचार उद्यम सम्मान, निर्वाचन आयोगबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९लाई निष्पक्ष रुपमा सम्पन्न गर्न योगदान पुर्याए बापत कदरपत्र, मोडल सङ्स नेपालद्वारा सन् २०१९ मा इजिप्टको अलेक्जेन्ड्रियामा आयोजित एमएसएन एक्सिलेन्स अवार्डमा पत्रकारिता सम्मान हासिल गरेका छन् ।

सरोज ओझा कला एवम् मनोरन्जन उद्योगमा समेत चिरपरिचित नाम हो । जसले सो क्षेत्रको बारेमा बरोबर रुपमा कलम चलाउने देखी निर्णायकको भूमिका समेत निर्वाह गर्दै आएका छन् । यस क्रममा ओझाले बिराट फिल्म तथा म्युजिक अवार्ड, द मम् व्युटि कन्टेस्ट, नेक्स्ट सुपर टप मोडेल, सुपर प्लस साईज मोडेल, डिजाईनर रन वे, फेस अफ द नेशन लगायतका प्रतियोगिताहरुमा जुरी मेम्बर भई कार्य सम्पादन गरेका छन् ।

अब्बल लेखनि कला भएका ओझाका विभिन्न जर्नल तथा राष्ट्रिय पत्रिका एवम् अनलाईन माध्यमहरुमा सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक, समसामयिक आदी बिषयमा थुप्रै लेख रचनाहरु प्रकाशित हुँदै आएका छन् । पुस्तक एवम्, म्यागाजिनको सम्पादक भएर कार्य सम्पादन गरेको कार्यानुभव हासिल गरेका ओझाले भाषा सम्पादकका रुपमा पनि स्वतन्त्र रुपमा काम गर्दै आएका छन् । चाहे अनुसन्धानमुलक लेख होस् वा रिपोर्ट लेखन, उनी शब्द तौलेर लेख्ने गर्दछन् । जुन गुण कमै मात्र लेखकहरुमा पाईन्छ ।

टेलिभिजन कार्यक्रम, पत्रिका, अनलाईन जस्ता संचार माध्यमबाट सार्वजनिक हितका बिषयलाई प्राथमिकता दिई सचेतना अभिबृद्धीमा महत्वपूर्ण योगदान पुर्याएका ओझाले महिला, बालबालिका तथा सामाजिक, श्रम तथा परराष्ट्र, संचार, स्वास्थ्य, आर्थिक आदी क्षेत्रसँग सरोकारित रहि राज्यको ऐन, नीति, नियम, कानुन, संविधान निर्माणका क्रममा विभिन्न परामर्श कार्यक्रमहरुमा सहभागी भई मस्यौदा निर्माण आदी कार्यका निम्ती रचनात्मक राय, सुझावहरु समेत पस्केका छन् । विदेशमा समेत नेपालको झन्डालाई चिनाउदै राष्ट्रको प्रबर्धन गर्ने अभियानमा ओझा सकृय छन् ।

ओझाले राष्ट्र र समाजहितका निम्ती निष्ठापूर्वक पत्रकारिता कर्ममा समर्पित रहदै आउने क्रममा जोखिमहरु मोल्दै पटक पटक विभिन्न चुनौतीहरुको सामना गरेका छन् । घरेलु तथा उद्योग कलकारखानामा बाल श्रमिक, वैदेशिक रोजगारीमा रहेका र र वेचबिखनमा परेका चेलीबेटीको उद्धार तथा पुनर्स्थापना कार्यमा संचार क्षेत्रबाट कहिले एकल त कहिले अग्रपँतिमा रहि काम गरेका ओझाले रिपोर्ट लेखन, निर्देशन एवम् छायाँकनको सिलसिलामा जोखिम मोलेर कामहरु गरेका छन् । विकट पहाडी जिल्लाहरुसहित ६२ जिल्ला टेकेका ओझाले पैदल यात्रा तय गरि कयौ दिन हिडेर काम गरेका छन् भने दुबई पुगेर नेपालमा अवैध रहेको बिट क्वाईन तथा सुन तस्करी जस्ता बिषयमा स्थलगत रिपोर्टिङ गरि सत्य तथ्य बाहिर ल्याउने काममा संलग्न रहेका पनि छन् । पत्रकार हकहित तथा आचार संहिता पालना गर्ने गराउने काममा सकृय ओझाले सौन्दर्य प्रतियोगिताहरुलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्दै र अवार्ड वितरणका नाममा हुने अवान्छनिय गतिविधिका विरुद्धमा अनवरत रुपमा आवाज उठाउदै आएका पनि छन्।

अनुसन्धानमुलक खोज पत्रकारिताको क्षेत्रमा सकृय रहदै आएका ओझा कार्यक्रम निर्माण तथा वृत्तचित्र निर्माण पूर्व गहन अध्ययन गर्दछन् । कुनै पनि रिपोर्ट वा स्क्रिप्ट लेखन पूर्व र अन्तर्वार्ता पूर्व अतिथि छनौटमा समयसामायिकता, बिषयवस्तु र सामाजिक पक्ष माथि आफूले बिशेष ध्यान दिने गरेको ओझा बताउँछन् । कुशल पत्रकार बन्न लेखन क्षमता वा अन्य प्राविधिक ज्ञान मात्र पर्याप्त नहुने ओझाको धारणा छ । असल पत्रकारमा क्षमता साथै निष्ठा, असल चरित्र र निडरपना जस्ता गुणहरु उत्तिकै आवश्यक रहने उनको ठम्याई छ । सामाजिक संजालमा मनगढन्ते, उत्तेजक तथा सनसनीपुर्ण समाचार सम्प्रेषणले समाजमा नकारात्मक असर परेको र यसले संचार क्षेत्र बदनामित बन्दै गएकोमा ओझा चिन्ता व्यक्त गर्छन् । निजी लगानीमा संचालित केही मुलधारका मिडिया संचालकहरु प्रतिको आमदृष्‍टि त्यति सकारात्मक नहुनुले पनि पत्रकारिता क्षेत्र नै बदनाम भैरहेको ओझाको बुझाई छ । त्यसो त उनी सत्य, तथ्य र विश्वसनियताको कमीले संचार क्षेत्रले आफ्नो साँख गुमाउने हुँदा त्यस बिषयलाई संचारकर्मीहरुले ‘टिआरपी’ वा व्यक्तिगत फाईदासँग नजोडी निष्ठापुर्वक लाग्नुपर्ने ओझाको धारणा छ । निष्ठाको पत्रकारिता हराउदै गएकाले देशमा अराजकता मौलाएको ओझा बताउँछन् ।

ओझा हाल ललितपुरमा बसोबास गर्दै आएका छन् । तनहुँको ब्यास ५ साँगेमा जन्मेका ओझाको बाल्यकालको अधिकांश समय तनहुँ सदरमुकाम दमौली र केही समय काठमाडौं र बुटवलमा बितेको थियो । श्री शान्ती बर्ष अंग्रेजी मा. वि. बाट प्रथम श्रेणीमा प्रवेशिका परिक्षा उतिर्ण ओझाले दश जोड दुईसम्मको अध्ययन दमौली कलेजबाट गरेका हुन । विद्यालय तहमा अध्ययन गर्दैगर्दा ७ कक्षामै उनी क्विज मास्टरको रुपमा उदाएका थिए । त्यसो त उनी विद्यालय तहमा वक्तृत्वकला तथा वादविवाद प्रतियोगिताहरुमा समेत विजयी रहनुका साथै टेबल टेनिस च्याम्पियन समेत बनेका थिए ।

दश जोड दुई अध्ययन गर्दैगर्दा उनले ने.बि.संघको इकाई सचिव र स्वतन्त्र हैसियतको साझा संस्था स्टुडेन्ट काउन्सिलको अध्यक्ष भएर कार्यभार सम्हालेका थिए । आफनो अध्यक्षता कालमा उनले नयाँ विद्यार्थी स्वागत, ११ र १२ मा अध्ययनरत विद्यार्थीको दमौलीदेखी नगरकोट भ्रमण कार्यक्रम, नगरस्तरिय अन्तरविद्यालय हाजिर जवाफ प्रतियोगिता, भलिबल, टेबल टेनिस, व्याडमिन्टन, चेस आदी प्रतियोगिता सफलतापुर्वक आयोजना गरि अद्धितिय नेतृत्व क्षमता प्रस्तुत गरेका थिए । १० जोड दुई पढदा ताका उनी चेस प्रतियोगितामा प्रथम समेत भएका थिए । साथै, उनले व्यास असल शासन युवा क्लबको सचिव, कार्यवाहक अध्यक्ष साथै प्रो पब्लिक, जिल्ला कार्य समिति तनहुँको कार्य समिति सदस्य र सोको मासिक बुलेटिन भ्रष्टचार विरुद्धको आवाजमा संवाददाता भएर काम गरेका थिए ।

ओझाले पब्लिक युथ क्याम्पसबाट व्यवस्थापन संकाय अन्तर्गत वाणिज्य शास्त्र र त्रि चन्द्र मल्टिपल क्याम्पसबाट मानविकी संकाय अन्तर्गत समाजशास्त्र तथा अंग्रेजीमा स्नातक र सेफर्ड कलेजबाट मास्टर्स ईन मिडिया टेक्नोलोजि बिषयमा स्नाकोत्तर गरेका छन् । पब्लिक युथ क्याम्पसमा अध्ययनरत रहदाँ उनले पश्चिमान्चल विद्यार्थी समन्वय समिति अध्यक्ष साथै नेपाल विद्यार्थी संघको कोषाध्यक्ष भई जिम्मेवारी सम्हालेका थिए । उनले आफनो कार्यकालमा विद्यार्थीहरुको नेतृत्व गर्दै मैत्रीपूर्ण शैक्षिक माहौलका निम्ती अग्रसर रहि काम गरेको थिए । ओझाले ने. बि. संघ तनहुँ काठमाडौं संपर्क समिति सदस्य रहेर पनि काम गरेका छन् ।

राजनीतिक दलको भातृ संस्थाको सदस्य हुँदै गर्दा पत्रकारितामा पाईला हालेका ओझा पत्रकारितामा लागेपछि आफुले स्वतन्त्र रही निष्पक्ष पत्रकारिताको अभ्यास गर्दै आएको बताउँछन् । त्यसो त उनले आफुले कहिल्यै पनि नेताको दहिलो नटेकाले आस्थाको राजनीति गर्न अप्ठ्यारो महशुस भएसँगै स्वतन्त्र नागरिकको हैसियतमा कसैप्रति आग्रह पुर्वाग्रह नराखी पत्रकारिताको धर्म निभाउदै आएको खुलाए । ओझा आफुले सबैलाई गुण र दोषका आधारमा व्यवहार गर्ने गरेको र सबैलाई समभावको दृष्‍टिले हेर्ने गरेको स्मरण गर्छन् । देश र जनतालाई हृदयमा सजाउनु पर्ने दायित्व बोकेका पत्रकारले निहित स्वार्थका लागि नेता वा अमुक व्यक्तिको पछि लाग्दा समाजमा विकृति मौलाउने ओझाको निचोड छ। यसलाई रोक्न महासंघ लगायतका फोरममा ओझाले आवाज उठाउदै आएका पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *