काठमाडौँ,अंग्रेजीमा एउटा शब्दावली छ– कन्फ्लिक्ट अफ इन्ट्रेस्ट अर्थात स्वार्थको सिद्धान्त । यही कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कारण विदेशमा रहेका नेपालीहरुको आस्थाको सँस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) संकटको बाटोतिर गएको छ । ११ औँ विश्व सम्मेलनमा कार्यकारी अध्यक्ष बद्री केसीले कन्फ्लिक्ट अफ इन्ट्रेस्टका आधारमा कामकारबाही अघि बढाएपछि एनआरएनए विभाजित त बनेको छ नै उनकै दलीय र गुटगत प्रवृत्तिको नतिजाले संघको भविष्यमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
असोज ३० देखि सुरु भएको गैरआवासीय नेपाली संघको एघारौं महाधिवेशनमा केसी दोहोरो भूमिकामा थिए । उनी कार्यकारी अध्यक्ष त थिए नै आफैँ नयाँ कार्यकालका लागि अन्तिममा अध्यक्षको उम्मेदवार पनि बने । उनले स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन गराउने हो भने पहिलो सर्त नै अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने थियो । उनले राजीनामा दिनु त परको कुरा कार्यकारी पदको दुरुपयोग गर्दै संघको सचिवालयदेखि अनलाइन भोटिङ गराउने सिस्टमसम्मम पहुँच बनाएको विषय यतिबेला गैरआवासीय नेपालीबीच बहसको विषय बनेको छ । यो विषयमा बढ्दो विवाद र काठमाडौँ विश्व सम्मेलनका क्रममा भएको हर्कतले आम जनमानसमा समेत एनआरएनएप्रति नकारात्मक धारणा प्रवाह भएको छ भने संघप्रतिको शाख बढ्दै जानुपर्नेमा गिर्दो बाटोमा गएको देखिन्छ ।
गैरआवासीय नेपाली संघको कात्तिक २ गते सम्पन्न निर्वाचनमा केसीसँगै आरके शर्मा र महेश श्रेष्ठ अध्यक्षको रुपमा मैदानमा खडा भएका थिए । चुनावी अभियानका क्रममा आरके शर्माको प्रचारप्रशार सशक्त थियो भने उनले चुनावी अभियानका क्रममा ४१ देशमा पुगेर अभियन्ताहरुसँग अन्तरक्रियाका साथै राय सुझाव लिएका थिए । एनआरएनए इतिहासमै २० वर्षमा पहिलो पटक मध्यपूर्वबाट नेतृत्व लिन लागेका शर्माको पक्षमा माहोल अत्यन्त राम्रो थियो भने कांग्रेसहरुको बाहुल्य रहेको एनआरएनएमा महेश श्रेष्ठको पक्षमा पनि उस्तै माहोल थियो । तर, आफ्नो चुनावी अभियान समेत राम्ररी सञ्चालन नगरेका बद्री केसी दुबै उम्मेदवारलाई माथ खुवाउँदै सेटिङ्गको नतिजामा अगाडि देखिए । यो नतिजा अप्रत्यासित त थियो नै उपाध्यक्षका एक जना उम्मेदवार निवर्तमान महासचिव डा केशव पौडेलको पक्षमा देखिएको मतले एनआरएनएभित्र शंकाको बिउ रोपियो भने धाँधली भएको प्रमाणीत भयो । काठमाडौँमा ८०० भन्दा बढी एनआरएनए डेलिगेट्स (मतदाता) ले मत हालेकोमा पौडेलको पक्षमा शून्य मत देखाइएको थियो भने उनी पराजित बनेको उल्लेख गरियो । उनको नतिजा यस्तो देखिएसँगै निर्वाचनस्थल होटल सोल्टीमा उम्मेदवारहरुले नै चर्को विरोध गरेका थिए भने निर्वाचन समिति र अध्यक्ष बद्री केसीको नियतमाथि प्रश्न उठाइएको थियो । त्यतिबेला सोल्टीमा बाहिर अबिरजात्रा गर्नुको साटो एकाएक नाराबाजीको स्वर सुनियो ।
यतिसम्मकी बद्री केसी समर्थक समेत नतिजाबाट सन्तुष्ट हुन सकेका थिएनन् भने आरके र महेश श्रेष्ठ पक्षधर आवश्वस्त हुन सक्ने अवस्था नै सिर्जना हुने नै भएन ।
रातभरजस्तो चुनावी नतिजालाई लिएर नाराबाजी भयो भने अध्यक्षका उम्मेदवारद्वय श्रेष्ठ र शर्माले नतिजा स्वीकार गर्न नसकिने घोषणा गर्दै धाँधली भएकाले पुनर्निर्वाचनको माग गरे । त्यतिबेलासम्म निर्वाचन समितिले न स्पष्ट जवाफ दिन सक्यो न त बद्री केसीले नै । उनीहरु बरु भित्रभित्रै धाँधलीको ढाकछोपमा लागे भने भेरोको सिस्टममा केशव पौडेलको नामको स्पेलिङ मिस्टेक भएको भन्दै काठमाडौँमा प्राप्त मतमा शून्य देखिएको दलिल पेश गरे । पछि नजिता सच्याएर केशव पौडेललाई विजयी गराइएपनि केशवले नै त्यसलाई अस्वीकार गरिदिए । अन्य पदमा पनि केसीले मत तलमाथि गरेर आफ्ना मान्छेलाई चुनाव जितेको दाबी गरिएको छ । यतिमात्रै होईन केसीले भेरोमा आफ्नो पहुँचलाई दुरुपयोग गरेर भोट नै फेरबदल गर्न सफल भएको दाबी गरिएको छ । केसीलाई डा हेमराज शर्मा,डा विनोद श्रेष्ठ सहित आईटीमा पोख्त इन्जिनियरहरुले साथ दिएका थिए ।
धाँधलीकै भरमा चुनाव आफ्नो पक्षमा पारेपछि सबै ठीक हुने विश्वासका साथ अघि बढेपनि आरके र महेशको घोषणापछि बद्री दबाबमा परेपनि उनले पेलेर जाने रणनीतिलाई रोकेनन् । अघिल्लो दिन निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गरेर जाने ३ अध्यक्षसँग सहमति भएपनि शनिबार केसीले सहमती तोडेर जवरजस्ती शपथ लिए । जवकी विवादको निदान हुनु त परको कुरा अघिल्लो दिन (शुक्रबार) अध्यक्षहरु बद्री केसी,कुल आचार्य र रबिना थापासमेतको हस्ताक्षरमा निर्वाचनका प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने सहमति भएको थियो । केसीको समेत हस्ताक्षर रहेको उक्त विज्ञप्तिलाई केसीले २४ घण्टा पनि पालना गरेनन् । उनले शनिबार एकाएक निर्वाचित भएकाहरुलाई बोलाएर शपथ लिए । भलै कतिपय विजयी भएका उम्मेदवारहरु पनि त्यस शपथमा सहभागी भएनन । स्मरणीय त के छ भने बद्रीले निर्वाचन समितिका प्रमुख यादव प्रसाद ढुंगानालगायतलाई दवाब र धम्की दिँदै शपथ राख्न लगाएका थिए । यद्यपि निर्वाचन समितिका सदस्य चिरञ्जिवी ढकाल,मन केसीलगायतले भने चाँडै विदेश फर्किनुपर्ने बहाना बनाउँदै शपथ नै बहिस्कार गरे ।
उक्त शपथका क्रममा बोल्दै केसीले निर्वाचन पारदर्शी भएको दाबी गर्दै केही प्राविधिक समस्या उपाध्यक्ष पदको उम्मेदवारको हकमा देखिएको भएपनि त्यसलाई सच्याइसकेको बताएका थिए । उनले एनआएनए अभियानमा सबैलाई साथमा लिएर अघि बढ्ने भन्दै आफूले सबै एनआरएनएको वास्तविक एकता गर्नका लागि प्रयास गर्ने पनि बताएका थिए । लगत्तै केसीले बालुवाटारस्थित संघको सचिवालयमा पुगेर पदभार ग्रहण गर्नुका साथै बैठक समेत राखेर विभिन्न निर्णय गर्न भ्याएका थिए ।
केसीको विवादित कमिटीको उपाध्यक्षमा विनोद श्रेष्ठ, हेमराज शर्मा, केशव पौडेल, राजु रेग्मी (राज), रामशरण सिम्खडा र रोबिन प्रसाद शेरचन, महासचिवमा गौरीराज जोशी चयन हुँदा महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा रोशन थापा चयन भएका छन् । यसैगरी उपमहासचिवमा प्रविन गुरुङ र सोम सापकोटा तथा सचिवमा भीम केसी कमल, ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, नवराज रोस्यारा, पारसमणि पोखरेल र स्वतन्त्र प्रताप शाह चयन गरिएको थियो । यस्तै महिला सचिवमा राधिका गुरुङ, कोषाध्यक्षमा सुदन कुमार थापा तथा सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सेना, तिलक गैरे र अभिमन्यु बस्नेत चयन गरिएको थियो । केसीले चुनावमा धाँधली गरेको विषय बाहिरिने क्रम अझै जारी छ । केसी बचाउमा लगिरहेको अवस्था भएपनि उनी एकपछि अर्को संकटमा फस्दै गएका छन् । जस्तो कि परराष्ट्र मन्त्रालयमा आरके शर्माले आधिकारिकताको लागि निवेदन दिइसकेका छन् भने यस विषयमा निष्पक्ष छानबिनका लागि साइबर ब्युरोमा उजुरी पनि परिसकेको छ । कात्तिक ३ मै महासचिवका उम्मेदवार रहेका बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्ट्रेलियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताएका थिए ।
अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरे पनि अहिले प्रमाणित भएको उनको जिकिर थियो । यस नतिजाले ८० लाख गैर आवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको भन्दै उनले उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको मत नेपालबाट खसेको शून्य मत रहेकाले पनि प्रमाण स्वतः सिद्ध हुने जिकिर गरेका थिए ।
सोही दिन साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको सुवेदीको भनाइ छ । यस विषयमा साइबर ब्युरो र सिआइबीले अनुसन्धान गरिरहेको छ तर निर्वाचित केसी र उपाध्यक्ष हेमराज शर्माले अनलाइन भोटिङबाट आएको परिणामलाई स्वीकार गर्न सक्नुपर्ने बताए । उनले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शून्य हुनु समस्याको जड रहेको बताए । उनले शून्य मत नहुनुपर्ने भए पनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटि भएको हुनसक्ने बताए । हेमराज शर्मा एनआरएनएभित्र बद्री गुटका भरपर्दा रणनीतिकार मानिए पनि पदका भोका उनले जुनसुकैबेला बद्रीलाई पनि छाड्न सक्ने बताइन्छ । केसीले नै गठन गरेको निर्वाचन अनुगमन समितीका संयोजक दुर्गा आचार्यसहित सदस्यहरूले निर्वाचनमा धाँधली भएको १० प्रमाणसहित बिज्ञप्ती नै निकालेका छन । योबाट पनि निर्वाचनमा धाँधली भएको प्रस्ट हुन्छ ।
कात्तिक ४ गते बद्रीले विवादको निरुपण नभइकन अध्यक्षको शपथ खाएपछि आरके शर्मा र महेश श्रेष्ठ एकठाउँमा उभिएका छन । दुई पक्षीय वार्ताका क्रममा महेश श्रेष्ठ आरके शर्मालाई अध्यक्ष मानेर नयाँ कार्यसमिति गठनमा सघाउन तयार भए भने बद्री केसीले महाधिवेशनका बाँकी प्रक्रिया समेत पुरा नगरेकाले त्यो प्रक्रिया पुरा गर्दै नयाँ नेतृत्व चयनमा अघि बढ्ने उनीहरुबीच सहमति थियो । श्रेष्ठ र शर्मा एक ठाउँमा हुँदा एनआरएनएको ठूलो हिस्सा एक ठाउँमा भएको थियो भने बद्री सानो गुटमा खुम्चिन पुगेको छ । शनिबार साँझ पत्रकार सम्मेलनबाट बद्रीको हर्कतको विरोध गर्दै महाधिवेशनको बाँकी प्रक्रिया पुरा गर्ने जानकारी दिइयो भने त्यसपछि ललितपुरको होटल हिमालयमा विधिसम्मत ढंगले बन्दसत्र सञ्चालन गरी आर्थिक प्रतिवेदनसहित सबै डकुमेन्ट पास गरेर आरके शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा गरियो । यो समिति नै आधिकारिक भएको दाबीसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
नयाँ कार्यसमितिमा डा केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् । महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला रहेका छन् । त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्थ, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन् । कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे,सीपी पौडेल र कृष्ण तिम्सिना छन् । यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन् । नयाँ कार्यसमिति घोषणापछि शर्माले कार्यालयमा पुगेर पदभार ग्रहण गरिसकेका छन् भने प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्री र अर्थमन्त्रीलगाएतसमेतको बधाइ थापिसकेका छन् । यस्तै शुक्रबारमात्रै उनले परराष्ट्र मन्त्रालयमा आधिकारिकताका लागि निवेदन दिनुका साथै बाँकी प्रक्रिया अघि टुंगो लगाउने बताइसकेका छन् । यद्यपि आधिकारिकताको विवाद हालसम्म टुंगिएको छैन । तर, दुई वर्षको अवधिमा एनआरएनए तीन चिरा भने भइसकेको छ । यही ११ औँ महाधिवेशनबाट केसीको धाँधलीपछि आरकेको नेतृत्वमा नयाँ कमिटी बन्दा दुई एनआरएनए बनेको अवस्थामा यसअघि दुई वर्षअघिको विवादका विनोद कुँवरको नेतृत्वमा एनआरएनए बनिसकेको छ । पूर्व अध्यक्ष शेष घलेको योजनामा १० औँ महाधिवेशनमा एनआरएनए फुटेर कुँवरको नेतृत्वमा कार्यसमिति बनेको थियो । ११ औँ महाविधेशनमा कुँवरसँग एकता हुनुको साटो थप विभाजन हुँदै एनआरएनए तीन चिरा भएको हो ।
उसो त आधिकारिकताको दाबी गर्दै कुँवरले अदालतमा हालेको मुद्दा अझै विचाराधीन छ । यस्तै १० औँ विश्व सम्मेलन र निर्वाचन अवैध भएको दाबी गर्दै पाटन उच्च अदालतमा अर्को मुद्दा पनि छ । यसले के संकेत गर्छ भने २० वर्षअघि स्थापना भएको एनआरएनए केही व्यक्तिहरुको स्वार्थका कारण विघटनउन्मुख भएको छ । संस्थाको गरिमालाई बचाउनकै लागि भन्दै आरके र महेश श्रेष्ठले तदारुकता देखाएपनि यो विवाद तत्काल साम्य हुने देखिँदैन बरु धाँधलीका अनेक बाछिटाहरु फैलँदो क्रममा छ ।
२० वर्षपहिले रसियाबाट डा उपेन्द्र महतोले स्थापना गरेको एनआरएनए २० वर्षमा रसियाकै केसीले संकटमा पुर्याएका छन । अहिले एनआरएनको भबिस्य संकटमा पुगेको छ । एनआरएनएको भविस्य संकटमा पुग्दापनि केसी भने यसलाई बचाउनुको सट्टा झनै समस्या निम्त्याउन तल्लीन छन ।
स्रोत: जनसवाल दैनिक