१८ फागुन २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ | नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले हिजो फागुन १७ गते राजधानीमा एक कार्यक्रमको आयोजना गरेर अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार प्रदान गरेका ९ वटा निजी क्षेत्रका रोजगारदाताहरूलाई सम्मान गरेको छ । डिडिपी युकेको साझेदारीमा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले समावेशी रोजगारदाता सम्मान कार्यक्रमको आयोजना गरेर रोजगारी उपलब्ध गराउने निजी संघ संस्थाहरूलाई सम्मान गरेको हो । यस सम्मान कार्यक्रमका प्रमुख अतिथि एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी प्रवर्धन गर्नका लागि सबैले आवश्यक सहयोग गर्नु पर्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय नीति जारी भएको र यसलाई कार्यान्वयन गर्नका लागि अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरू तथा अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहायक सामग्रीहरू उपलब्ध गराउनका लागि भौतिक पहुँच पुर्या्उन, पहुँचयुक्त सञ्चार, सूचना र न्यायमा पहुँच पुर्या उन मन्त्रालय सधैँ लागि पर्ने बताउनु भयो ।
यसै क्रममा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले राज्यले समावेशी भित्रको समावेशितामा अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समावेश गर्नु पर्ने, यस विषयमा राज्यले अभ्यास गरेको भन्दै अपाङ्गता भएका व्यक्तिहरूका हरेक सवालहरूलाई राज्य स्तर सम्म पुराउनका लागि तथा राजनीतिक अधिकार सुनिश्चितका लागि आफ्नो तर्फबाट सधैँ सहयोग गर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार प्राप्त गर्न निकै चुनौती रहेको अवस्थामा निजी क्षेत्रहरूले रोजगार प्रदान गर्नु भएकोमा उहाँहरूलाई धन्यवाद दिँदै अपाङ्गता भएका व्यक्तिहरूले रोजगारी प्राप्त गर्नु नै देश विकासमा सहयोग पुर्याधउनु हो भन्ने कुरामा जोड दिनु भयो ।
यस कार्यक्रममा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी अध्यक्ष तारावदन सेँडाइले अपाङ्गता भएका व्यक्तिहरूको सीप, क्षमता र योग्यताको सही मूल्याङ्कन हुनु पर्ने र उनीहरूलाई आत्म निर्भर हुन सक्ने बनाउनु पर्ने बताउनु भयो । त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको परिचय पत्रको दुरुपयोग गरी सरकारी सेवामा प्रवेश गर्नेहरूको छानबिन हुन पर्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी अभियानमा सबै सरोकारवाला निकायहरू मिलेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले आयोजना गरेको समावेशी रोजगारदाता सम्मान कार्यक्रममा निजी क्षेत्रका Cloud Factory Nepal का Regional Partnership Lead यूरिका कर्माचार्य, कोथिना मिठो छ का Managing Director देवेन्द्र न्यौपाने, होटेल हार्दिकका सञ्चालक रमेश प्रसाद पाण्डे, काठमाडौँ मोडेल अस्पतालका Hospital Director डा. राजेशध्वज जोशी, BIA इन्सिच्यूडका कार्यकारी निर्देशक गोकर्ण ढुङ्गाना, सुविसु केबल नेट प्रा.ली.का वरिष्ठ उपाध्यक्ष तथा मानव श्रोत सुदिप गौतम, Mero Job .com का Head of Business intelligence And Growth, प्रभु म्यानेजमेन्ट प्रा.ली.का Head of Digital Financial Services र टि- 21 क्याफेका प्रतिनिधि डा. पल्लव दासलाई समावेशी रोजगारदाता सम्मान प्रदान गरिएको थियो ।