काठमाडौं । केहि दिन अघि वीरेन्द्र स्कुल भक्तपुर क्षेत्रमा १४ घण्टाको फरकमा पीएम २.५ को धुलोको प्रदूषण दुई सय ५१ माइक्रोग्राम परमिटर क्युले वृद्धि भयो। मंगलबार बिहान ६ बजे १२ माइक्रोग्राम परमिटर क्यु मात्र भएको वायुप्रदूषण राति ८ बजेसम्म वृद्धि भएर दुई सय ६३ पुग्दा वायुप्रदूषण स्तर वर्षकै उच्च भएको तथ्यांकले देखाएको थियो।वातावरण विभागको तथ्यांक हेर्दा त्यस दिन भक्तपुरमा राति १० बजेसम्म पनि प्रदूषणको दर दुई सय ३० कायम थियो । २४ घण्टालाई आधार बनाएर विभागले वायुप्रदूषणको अवस्था जाँच गर्दै आएको छ। त्यस दिन मापदण्ड एक सय २२ कायम छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डले २५ र राष्ट्रिय मापदण्डमा ४० माइक्रोग्राम परमिटर क्यु तोकेको छ। रत्नपार्क क्षेत्रमा राति ८ः३५ बजे पीएम २।५ आकारको धुलो दुई सय ३९ माइक्रोग्राम परमिटर क्यु पुगेको थियो यहाँ दिउँसो २ः३० बजे २७ मात्र थियो। ६ घण्टाको फरकमा उपत्यकामा दुई सय १२ माइक्रोग्राम परमिटर क्यु वृद्धि भयो।महाशिवरात्रि भएकाले विभिन्न स्थानमा खुला क्षेत्रमा आगो बाल्ने काम तीव्र भएकाले प्रदूषणको अवस्था उच्च भएको हुन सक्ने वातावरण विभागकी प्रवक्ता सफला श्रेष्ठले बताइन्। अन्य दिनभन्दा बढी प्रदूषण बढ्नुमा खुला क्षेत्रमा आगो बाल्दा निस्कने धुवाँ नै पहिलो कारण भएको उनी बताउँछिन्। अमेरिकी दूतावासले राखेको फोरा दरबार क्षेत्रमा त्यस दिन राति १२ बजे दुई सय २७ पुगेको छ।

प्रदूषणको दर दुई सय माइक्रोग्राम परमिटर क्युभन्दा माथि पुगेपछि मानवस्वास्थ्यका लागि खतराजनक भएको वातावरणविद्ले बताएका छन्। पीएम २.५ धुलोको कण आँखाले नदेख्ने मसिनो हुँदा श्वासनली हुँदै रक्तनलीसम्म पुग्ने भएकाले श्वासप्रश्वासमा समस्या हुनुका साथै क्यान्सरजस्ता रोगको मुख्य कारण बन्ने गरेको भनेर स्वास्थ्यकर्मीले सचेत गराएका छन्। वातावरणमैत्री भनी हरियो स्टिकर टाँसिएका ४१ प्रतिशत सवारी प्रदूषित भएको वातावरण विभागको अनुगमनले देखाएको छ। सवारी प्रदूषण नै मुख्य भए पनि मंगलबार खुला आगो बाल्दा प्रदूषणले डाँडा काटेको हो।
Views: 0

