ओमप्रकाश गुप्ता
भालुवाङ ७ माघ । देउखुरीको भालुवाङमा सञ्चालित महोत्सव ३ दिनका लागि थप गरिएको छ । बन्द र दर्शकहरुको मागलाई मध्य नजर गर्दै आयोजकले जिल्ला प्रशासन सँग महोत्सव थप्न माग गरे पछि प्रशासनले महोत्सवलाई ३ दिन थप गर्न अनुमती दिएको इन्द्रेणी युवा क्लवका अध्यक्ष भिमबहादुर मरासिनीले जानकारी दिएका छन् । अव महोत्सव माघ १० गते सम्म सञ्चालन हुने छ । दोस्रो राप्ती कृषि पर्यटन औद्योगिक तथा व्यापारिक महोत्सव २०७४ को आइतवार दशौ दिनमा ९ हजार बढी दर्शकहरुले मेला अवलोकन गरेका छन् । महोत्सवको दशौ दिनमा चर्चित पप गायक कमल खत्रीले विभिन्न पप गीत गाउदा महोत्सव स्थल नै धुलाम्मे भएको थियो । दर्शकहरु खत्रीको गीतमा उफ्रि उफ्रि नाचेका मात्र थिएनन् उतीकै मात्रमा हुटिङ समेत गरेका थिए । अरु दिनको तुलनामा आइतवार बन्द खुले सँगै महोत्सवमा दर्शकले भरि भराउ रहेको थियो । महोत्सव हेर्न पश्चिम रिहार देखि पुर्वमा प्युठान, कपिलबस्तु र अर्घाखाचीका स्थानीयहरु महोत्सव हेर्न आएका थिए । बन्दका कारण महोत्सव हेर्न नपाएका स्थानीयहरु विहानै देखि गाडीको पर्खाइमा सडकमा देखिन्थे, गाडीमा यात्रुहरु खचाखच भरिएको महोत्सवका प्रेस संयोजक सन्तोष कुमार गुप्ताले जानकारी दिएका छन् । घण्टौ समय सम्म गाडी कुरेर बेलुका ३ बजे सम्म पनि दर्शकहरु महोत्सव हेर्न आएका थिए । महोत्सवको आइतवार पप गायक कमल खत्री सँगै लोकदोहरी गायक तथा मोडल संदिप न्यौपाने,पप गायिका सिम्पल खरेल, पप गायिका रेश्मा पुन,लोकदोहरी गायिका टिका सानु, लोकदोहरी प्रेम शर्मा, गायक तथा मोडल विजय पुन लगायतका कलाकारहरुले भरपुर्ण मनोरञ्जन दिएको महोत्सवका निर्देशक विराज बिष्टले जानकारी दिएका छन् । पौष २८ गते देखि माघ १० गते सम्म संचालन हुने महोत्सवमा माघ ८ गते चर्चित लोकदोहरी गायिका पुर्णकला विसी, भगीरथ चलाउने, गायिका टिका सानु, गायक तथा मोडल विजय पुन लगायतका कलाकारहरु आउने निर्देशक बिष्टले जानकारी दिएका छन् । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहेको महोत्सवका सचिवालय संयोजक सन्तोषकुमार योगीले जानकारी दिएका छन् ।
Views: 0