ओमप्रकाश गुप्ता
भालुवाङ ८ माघ । देउखुरीको भालुवाङमा सञ्चालित दोस्रो राप्ती कृषि पर्यटन औद्योगिक तथा व्यापारिक महोत्सव २०७४ को सोमवार एघारौको महोत्सवलाई चर्चित लोकदोहरी गायिका पुर्णकला विसीले मेरो होसै हरायो मेरो जोशै हरायो,तिम्रो मेरो सोल्टी ज्यू भेट भाको छ, दुई मुटुको सम्झौतामा माया लाकै हो, उकाली र ओराली सँगै जान मन छ जस्ता गीतले दर्शकहरु छमछमी नाचेका थिए । महोत्सवको एघारौ दिनमा करिव ५ हजार बढी दर्शकहरुले मेला अवलोकन गरेका छन् । महोत्सवको एघारौ दिनमा चर्चित लोकदोहरी गायिका विसी सँगै गायक भगीरथ चलाउने, टोपेन्द्र विष्ट,फिल्मी तथा आधुनिक गायिका रेश्मा केसी, लोकदोहरी गायिका टिका सानु लगायतका कलाकारहरुले भरपुर्ण मनोरञ्जन दिएको महोत्सवका निर्देशक विराज बिष्टले जानकारी दिएका छन् । पौष २८ गते देखि माघ १० गते सम्म संचालन हुने महोत्सवमा माघ ९ गते चर्चित आधुनिक गायक रमेशराज भट्टराई,गायक टंक तिमिल्सीना, टिका तारमी मगर लगायतका कलाकारहरु आउने निर्देशक बिष्टले जानकारी दिएका छन् । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहेको महोत्सवका सचिवालय संयोजक सन्तोषकुमार योगीले जानकारी दिएका छन् ।
Views: 0