दाङ, माघ ८ । नेकपा एमाले दाङले प्रदेश नं. ५ को राजधानी दाङलाई बनाउका लागि सवै खालको पहल गर्ने भएको छ । नेकपा एमाले दाङको आज बसेको सचिवालय बैठकले दाङलाई प्रादेशीक राजधानी बनाउनका लागि कुटनीतिक तथा राजनीतिक पहल गर्ने निर्णय गरेको हो ।
नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षता तथा केन्द्रीय सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले बुटवललाई प्रदेशको अस्थायी केन्द्र तोक्ने भनेर गरेको निर्णय समग्र प्रदेशको हित विपरित भएको ठहर गर्दै स्थायी राजधानी दाङलाई तोक्नका लागि आवश्यक दवाव मुलक कार्यक्रम पनि गर्ने निर्णय गरेको छ ।
बैठकले यहि माघको १० गतेका दिन घोराहीमा जिल्लास्तरिय अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । जसका लागि पार्टी अध्यक्ष टिकाराम खड्काको संयोजकत्वमा तयारी समिति गठन गरेको छ । भेलामा जिल्ला कमिटीका सवै, प्रतिनिधि सभा कमिटी, प्रदेश सभा कमिटी, तीनवटै नगर कमिटी, सातवटै गाउँ कमिटीहरु, जनबर्गिय संगठन र सवै विभागका सदस्यहरुको सहभागिता रहने निर्णय गरेको छ ।
यसैगरी आगामी माघको २४ गतेका दिन दाङमा हुन थालेको राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न आउने मतदाताहरुको व्यवस्थपनका लागि पनि विभिन्न निर्णय गरेको छ । जसमा स्वागत तथा व्यवस्थापनका लागि जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका सदस्यहरु, प्रदेश सभाका सांसदहरु, दाङका दुवै उप महानगर र नगरपालिकाका प्रमुख र उप प्रमुखहरुलाई जिम्मा दिइएको छ ।
यसैगरी एमालेका तर्फबाट आउने मतदाताहरुको व्यवस्थापनका लागि आवास तथा व्यवस्थापन समिति बनाएको छ । जसमा जिल्ला उपाध्यक्ष हुकुमवहादुर बस्नेतको संयोजकत्वमा घोराहीका मेयर नरुलाल चौधरी, तुलसीपुरका मेयर घनश्याम पाण्डे, लमहीका मेयर कुलवहादुर केसी र सचिवालय सदस्यहरु शरद अधिकारी, मनोहर बुढाथोकी, विवेक श्रेष्ठ, भोजराज वली, हुमा डिसी, मिना गुरुङ, गेहेन्द्र बस्नेत र मानवहादुर विक लाई राखिएको छ ।
यस्तै स्वयमसेवक परिचालनका लागि मोर्चा विभागका प्रमुख समेत रहनुभएका उप सहित सुरामणि बेल्वासे, मनोहर बुढाथोकी, विवेक श्रेष्ठ, सुदन केसी र मौसम आचार्यलाई राखिएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न आउने मतदाताहरुलाई स्वागत सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख शरद अधिकारीले जानकारी दिनुभयो ।
बैठकलाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरीले दाङलाई प्रदेश नंं ५ को राजधानी बनाउनका लागि आन्दोलन जारी राख्ने बताउनुभएको थियो । उहाँले सरकारले अन्यायपूर्ण तरिकाले प्रदेश नं. ५ को अस्थायी केन्द्र बुटवललाई तोक्ने निर्णय गरेर जनभावना विपरित कार्य गरेको बताउनुभयो । बैठकलाई नेकपा एमाले सामाजिक सेवा विभागका सदस्य विकिरण गौतमले पनि बोल्नुभएको थियो ।
सचिवालय बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभामा विजयी भएका बाम गठवन्धनका सवै उमेदवारलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । बैठकले पुराना सदस्यहरुको नविकरण र नयाँ सदस्यता आह्वान गर्ने पनि निर्णय गरेको थियो । बैठकले प्रदेश राजधानी तोक्नका लागि दवाव दिन गरिएको आन्दोलनको समिक्षा गर्दै आगामी दिनमा पनि यसलाई निरन्तर रुपमा लैजाने निर्णय गरेको बैठक पछि प्रचार विभाग प्रमुख शरद अधिकारीले जानकारी दिनुभयो ।
संघर्ष समितिको बैठक
यसैबीच दाङलाई प्रदेश नं. ५ को राजधानी तोक्नका लागि दवाव दिन गठन गरिएको संघर्ष समितिको बैठक पनि आज बस्यो । संयोजक टिकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले भोली माघ ९ गतेका दिन दाङका सवै स्थानीय निकायमा कालो झण्डा गाड्ने निर्णय गरेको छ । यस्तै भोली नै मुख्य शहरमा सरकारको कदमको विरुद्धमा उल्टो शंख फुक्ने कार्यक्रम तय गरिएको बैठकमा सहभागि नेकपा एमाले दाङका उप सचिव सुरामणि बेल्वासेले जानकारी दिनुभयो ।
यसैगरी राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन आउने सवै मतदाताहरुलाई दाङमा भव्य स्वागत गर्ने निर्णय गरेको छ । प्रदेशको राजधानी दाङ देउखुरीमा तोक्नका लागि दवाव दिने आन्दोलनलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
Views: 0