जनक नेपाली
दाङ, २३ फागुन
साविकको राप्ति उपक्षेत्रीय अस्पतालवाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीणत भएको उक्त प्रतिष्ठानमा आइसियु र एनआइसियु उपलब्ध नहुँदा प्रसूति सेवा जोखिममा पर्ने गरेको छ ।
सरकारी निर्णयअनुसार उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति भएर प्रतिष्ठान रुपान्तरण भएपनि हालसम्म आइसियु र एनआइसियु सेवा सञ्चालन हुन सकेको छैन । सरकारले अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने समाहित गर्ने निर्णय गरेपछि आइसियु सेवा सञ्चालनमा थप अन्योलता छाएको छ ।
आइसियु सेवा उपलब्ध नहुँदा सुत्केरी आमा र नवजात शिशुले निकै जोखिम मोल्नु परेको सर्वसाधारणहरु बताउँछन् । अहिले भएका प्रसूति कक्षका उपकरण पनि थोत्रा भइसकेका छन् । पुरानो भवन, साँघुरो कोठा र फोहोर वातावरणका कारण सुत्केरी महिला तथा नवजात शिशु थप जोखिममा पर्ने गरेका छन् । अस्पतालमा कुरुवाहरुलाई समेत उचित बस्ने व्यवस्था छैन । विरामी कुरुवाहरु अहिले पनि रातको समय बाहिर खुल्ला चौरमा बस्नुपर्ने बाध्यता छ ।
तुलसीपुर उप–महानगरपालिका १५ की सुशीला रेउलेले समयमा डाक्टर नै नभेटिदा समस्या भएको बताउनुहुन्छ । समयमा डाक्टर नभेटिदा आफुले धेरै पीडा खेप्नुपरेको उहाँको गुनासो छ । ‘बच्चा नजन्मिदै डाक्टर एक पटक आउनुभयो, जन्मिएपछि अर्को पटक मात्रै देखिनुभयो, बीचमा डाक्टरहरु आउनुभएन,’ रेउलेले भन्नुभयो ।
प्रसूतिका लागि आउने गर्भवती महिलाहरुलाई ‘सिकारु’ नर्सहरुले मात्र हेर्ने गरेको उहाँको आरोप छ । राप्ती उपक्षेत्रीय अस्पताल प्रसूति वार्डमा कार्यरत स्टाफ नर्स कमला पोख्रेल जनशक्ति र उपकरण अभावले सुत्केरी आमा र नवजात शिशुलाई आवश्यक सेवा दिन नसकिएको स्वीकार गर्नुहुन्छ । आइसियु र एनआइसियु सेवा नहुँदा सुत्केरीलाई गम्भीर अवस्थामै रिफर गर्नुपर्ने बाध्यता रहेको पोख्रेलको भनाई छ ।
अस्पतालमा प्रसूति सेवाका लागि ३ वटा कोठामा १७ वटा वेड छन् । तर कहिलेकाँही बिरामी ह्वात्तै बढ्ने भएकाले गल्लीमै राखेर उपचार गर्नुपर्ने बाध्यता छ । नवजात शिशुहरुको मुटुको धड्कन जाँच गर्ने मेसिन अहिलेसम्म अस्पतालमा नभएकाले गम्भीर संक्रमण देखिएका नवजात शिशुहरुलाई रिफर गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
साविकको राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थीले भने प्रसूति सेवा प्रभावकारी रहेको दावी गर्नुभयो । अस्पतालले दिने अरु सेवाभन्दा प्रसूति सेवा उत्कृष्ट रहेको उहाँको भनाई छ । ‘विगतको तुलनामा प्रसूति सेवाको रिफर दर घटेको छ, अहिले पनि सेवा सुधारोन्मुख नै छ,’ पन्थीले भन्नुभयो ।
आइसियु र एनआइसियु सेवा सञ्चालनको काममा अवरोध आएको उहाँले जानकारी दिनुभयो । प्रतिष्ठान स्थापनाले अस्पतालमा आइसियु सेवा सञ्चालनको काम अन्योलमा परेको पन्थीले बताउनुभयो ।
अस्पताल विकास समितिको आइसियु र एनआइसियु सेवा सञ्चालन तथा जनशक्ति व्यवस्थापनको काम निर्माणकै चरणमा रोकिएकाले थप समस्या उत्पन्न भएको उहाँको भनाई छ । यता यस विषयमा बुझ्न खोज्दा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानकि उपकुलपति डा. संगिता भण्डारीले प्रतिष्ठानले अव गति लिने भन्दै सरकारले बजेट छुट्टाएमा यसले थप तिव्रता पाउने बताउनु भयो । उहाले प्रतिष्ठानलाई अस्पतालभित्रैवाट असहयोग गर्ने काम भएको भन्दै आफ्नो स्वार्थका लागि प्रतिष्ठान धरापमा पार्ने गरी खेल भएको बताउनु भयो । उहाले अव आफुले प्रतिष्ठानमा आवद्ध सबै कर्मचारी, चिकित्सककको तथ्याङ्क लिइरहेको र अस्पतालका सुधार गर्नुपर्ने पक्षको पनि जानकारी लिइरहेको भन्दै थप सुविधाका लागि अध्ययन गरेर नयाँ भर्नाका लागि विज्ञापन गर्नेसमेत बताउनु भयो ।
Views: 0