ओमप्रकाश गुप्ता
देउखुरी १४ चैत । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको आयोजनामा अर्घाखाँची सितगंगा नगरपालिका ८ सातमारामा सञ्चालित ३ दिने समुदायमा आधारित विपद जोखिम न्यूनिकरण कार्यशालाको बुधवार समापन गरिएको छ । शाखाका जिल्ला सभापती नारायण आचार्यको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयका विपद ब्यवस्थापन प्रमुख हरिबन्धु अर्यालको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागीहरु माधव पण्डित शर्मा, सिता थापा लगायतका वक्ताहरुले बोलेका थिए । कार्यशालामा उपशाखा गढवाका पदाधिकारी, स्वयंसेवक तथा रेडक्रस अभियानका सामुदायिक कार्यकर्ता गरि २६ जनाको सहभागीता रहेको कार्यशालाको सहजीकरण नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयका विपद ब्यवस्थापन प्रमुख हरिबन्धु अर्याल, विपद व्यवस्थापन सुचना अधिकृत खिलानाथ दहाल र इन्कोर कार्यक्रम दाङका कार्यक्रम संयोजक जगत तामाङ, फिल्ड अधिकृत देवी प्याकुरेल र गणेश वलीले प्रशिक्षण गरेका थिए । विपदका हिसाबले अत्यन्तै जोखिमपूर्ण क्षेत्र मानिने देउखुरीका राजपुर र गढवा गाउँपालिकामा समुदाय उत्थानशिलतामा अभिबृद्धि(इन्कोर) कार्यक्रम सञ्चालन गरी विपद जोखिम न्यूनिकरण गर्न रेडक्रस अभियान सञ्चालन गरेको छ । डेनिस रेडक्रसको सहयोगमा समुदाय उत्थानशिलता अभिबृद्धि परियोजना मार्फत जिल्लाका दुई गाउँपालिकामा विगत एघार महिना अघि देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको परियोजनाका जिल्ला कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिएका छन् । ३ दिने समुदायमा आधारित विपद जोखिम न्यूनिकरण कार्यशालामा अभियानको कार्यक्रमबारे सहभागीहरुलाई जानकारी गराइएको हो । हाम्रो अभियानको बारेमा उपशाखा , सरोकारवाला तथा समुदायको साझा बुझाई भएमा कार्यक्रमको लक्ष्य सजिलो ढंगले पुरा हुन सक्ने धारणा कार्यक्रम अधिकृत तामाङले राखेका थिए । राजपुर गाउँपालिकाका ७ बटा वडाहरुमा २० बटा तथा गढवा गाउँपालिकाका ८ वटा वडामा २६ वटा गरि ४६ वटा विपद तथा जलवायु उत्थानशिल समितिहरु निर्माण गरीएको र त्यसमा दुवै गाउँपालिकाका १५ वटा वडाहरुमा १५ जना सामुदायिक कार्यकर्ता छनौट गरि रेडक्रस अभियान परिचालन गरिएको फिल्ड कार्यक्रम संयोजक देविप्रसाद प्याकुरेलले जानकारी दिएका छन् । रेडक्रस उपशाखा गढवाको कार्यक्षेत्र गढवा र राजपुरमा परियोजना सञ्चालन गरिएको हो । यसले चार बर्षको अवधिमा गठित समितिहरु, स्वयंसेवक तथा समुदायलाई चलायमान गर्दै विपद पुर्व तयारी, प्राथमिक उपचार, खोज तथा उद्धारका कार्यक्रम सञ्चालन गर्दै संकटासन्न समुदायको पहिचान गरी विपद जोखिम न्यूनिकरण, खानेपानी स्वास्थ्य तथा सरसफाई र क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गर्दै दक्ष जनशक्ति समेत तयार गरेको परियोजनाका जिल्ला कार्यक्रम संयोजक तामाङले बताए ।
Views: 0