स्वर्गको ढोका !केशर राेका
प्युठान : हिन्दू धर्मावलम्बीमा विश्वास छ, सात धामको दर्शनपछि स्वर्ग पुगिन्छ। पशुपतिनाथबाट सुरु हुने एउटा धार्मिक यात्राको अन्तिम बिन्दु हो— स्वर्गद्वारी। धर्मलाई नै विश्वास गर्ने हो भने प्युठानको पवित्र तीर्थस्थल स्वर्गद्वारीले हरेक वर्ष करिब पाँच लाखलाई ‘स्वर्ग तारेको’ छ। यही स्वर्ग जाने बाटो प्युठानको मात्रै नभई प्रदेश ५ कै समृद्धिको एउटा ढोका हो।
नेपालका सात धाममध्ये एक स्वर्गद्वारी। पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल। नाम सुन्ने सबैलाई लाग्छ, ‘एकपटक पुग्नैपर्छ।’ प्युठानलाई चिनाउने सबैभन्दा प्रमुख माध्यम स्वर्गद्वारी नै हो। ‘साँच्चिकै कस्तो होला स्वर्गद्वारी ?’ धेरैको मनमा यही खुल्दुली भएको सुनिन्छ। तर, पुगेर फर्केकाहरूलाई स्वर्गद्वारी ‘स्वर्गको द्धार’ जस्तै लागेको छ। यहाँ पुग्ने जो कोहीलाई स्वर्गकै अनूभुति हुनेगर्छ। स्वर्गद्वारी नगरपालिका वडा नम्वर १ स्थित खालमा स्वर्गद्वारी आश्रम अवस्थित छ। यहाँको स्वच्छ हावापानी, डाँडाबाट देखिने हिमशृंखलाहरूले पर्यटकको मन अझ तानेका छन्। स्वर्गद्वारीलाई पहिल्यै ‘स्वर्गको लेक’ पनि भन्ने गरिन्थ्यो।
यहाँको गरिमा पछिल्लो समय बढ्दै गएको छ। हिन्दू धर्मावलम्बीहरूले गर्ने सबै खालका पूँजा स्वर्गद्वारीमा हुने गर्छ। पशुपतिनाथपछिको धार्मिक पर्यटकको मुख्य गन्तव्य ‘स्वर्गद्वारी’ बनिरहेको छ। स्वर्गद्वारीमा आन्तरिकभन्दा बाह्य पर्यटक धेरै आउँछन्। अझ बढी भारतको महाराजगन्ज, गोरखपुर, बलरामपुर, कृष्णनगरलगायत ठाउँबाट पर्यटक भित्रिने गरेका छन्।
भारतीय पर्यटकले चढाएको भेटी यहाँको प्रमुख आम्दानीको स्रोत बनेको छ। उनीहरूले भारतीय रुपैयाँ भेटीका रूपमा चढाउँछन्। यसले नेपाली रुपैयाँको तुलनामा दोब्बर भेटी जुट्न मद्दत गरेको छ। आश्रम व्यवस्थापन समितिका अनुसार ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपाली पर्यटक स्वर्गद्वारी दर्शनका लागि आउँछन्। आन्तरिक र बाह्य गरी बर्सेनि करिब पाँच लाख पर्यटक स्वर्गद्वारी घुमेर फर्कने गरेको आश्रम व्यवस्थापन समितिले बताएको छ।
मन्दिरमा पुगेर पूजाअर्चना गरेपछि स्वर्ग पुगेजस्तै अनुभूति हुने भएकाले नै आकर्षण दिनानुदिन बढ्दै गएको हो। ‘स्वर्गद्वारीमा पर्यटकको संख्या बढ्दो छ’, आश्रमका सहायक कोठारी बाबुराम न्यौपानेले भने, ‘स्वर्गद्वारीलाई पहिल्यै स्वर्गको लेक भनेर पनि चिन्ने गरिन्थ्यो।’ स्वर्गद्वारी समुद्री सतहदेखि २ हजार ३ सय मिटर उचाइमा छ। बिहानीपख धौलागिरी, माछापुच्छ«े, अन्नपूर्णलगायत हिमशृंखलाहरू यहाँबाट स्पष्ट दृश्वालोकन गर्न सकिन्छ।
के हुन्छ स्वर्गद्वारीमा ?
वेदमन्त्रद्वारा प्रकट गरिएको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड स्वर्गद्वारीकोे प्रमुख आकर्षण हो। १९५२ सालदेखि उक्त यज्ञकुण्ड अहिलेसम्म पनि निरन्तर बलिरहेको छ। स्वर्गद्वारी महाप्रभुले पूजा सामग्री फेला पारी आश्रम निर्माण गरेको इतिहास छ। उक्त पूजा सामग्री पाँच पाण्डवले यज्ञ गर्दाको हो भन्ने किंवदन्ती रहेको विश्वासले गर्दा स्वर्र्गद्वारीको महत्व बढेको पाइन्छ। विशेषतः वैशाख पूर्णिमा, गाईतिहार औंसी, विजयादशमी, माघे संक्रान्तिलगायत पर्वमा यहाँ ठूलो मेला लाग्छ। अन्य समयमा पनि दैनिक पूजापाठ र मेला भइरहेका हुन्छन्।
ऐतिहासिक एवं मनोरम तलाउ, पाँच पाण्डव, स्वर्ग गएको बाटो, महाप्रभुले तपस्या गरेको गुफा, १९५२ सालदेखि अनवरत सञ्चालित वेदपाठशाला, गोवद्र्धन पहाड, आश्रममा पालिएका सयौं गाई, विभिन्न आकृतिका मठमन्दिर, आश्रम यज्ञशालाको दक्षिण भूभागमा अवस्थित ठूलो बाँझको वृक्ष नै धर्मावलम्बीका लागि मुख्य आकर्षण हुन्।
नेपालका सात धाममध्ये एक स्वर्गद्वारी। पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल। नाम सुन्ने सबैलाई लाग्छ, ‘एकपटक पुग्नैपर्छ।’ प्युठानलाई चिनाउने सबैभन्दा प्रमुख माध्यम स्वर्गद्वारी नै हो।
वैशाख पूर्णिमाको दिन आश्रममा सञ्चालन हुने अखण्ड महायज्ञमा आवश्यकताअनुसार ब्राह्मणहरू परिवर्तन गर्ने प्रचलन छ। सोही दिन वर्षभरका लागि विभूतिसमेत निकाल्ने गरिन्छ। स्वर्गद्वारीमा पुगेर पूजापाठ र मठमन्दिरको अवलोकन गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ।
पुग्ने कसरी ?
स्वर्गद्वारी पुग्न दुई सडक छन्। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङबाट प्युठानको भिंगृ हुँदै र दाङको घोराही हुँदै होलेरी सडकबाट यहाँ पुग्न सकिन्छ। भालुवाङबाट करिब ५५ किलोमिटर पक्की सडक हुँदै स्वर्गद्वारीको आधार शिविर (स्वर्गद्वारी गेट) भिंगृमा पुग्नुपर्छ। भिंगृबाट साढे १३ किलोमिटर उकालो कच्चीसडक पार गरेपछि धरमपानी बजार पुगिन्छ। धरमपानीबाट झन्डै डेढ किलोमिटर सिँढीबाट उक्लनुपर्छ।
पैदल हिँड्न नसक्नेहरूका लागि निश्चित शुल्क तिरेर घोडा सवारीको पनि व्यवस्था छ। भारतीय तीर्थयात्री भिंगृबाट पैदल हिँडेर स्वर्गद्वारी जान मन पराउँछन्।
Annapurnapost
Views: 0