निर्मला पन्तकी आमा भन्छिन्– न्याय माग्दा कसरी राजनीति हुन्छ

२०७५ आश्विन १४, आईतवार ०६:४६ गते २०७५ आश्विन १४, आईतवार ०६:४६ गते २०७५ आश्विन १४, आईतवार ०६:४६ गते

निर्मला पन्तकी आमा भन्छिन्– न्याय माग्दा कसरी राजनीति हुन्छ ?काठमाडौं । निर्मला पन्तको हत्या भएको आज ६६ दिन पूरा भएको छ । कञ्चनपुरस्थित घरबाट साथि रोशनी बमको घरमा पढ्नका लागि भन्दै साउन १० गते गएकी निर्मला पन्त ११ गते बिहान नजिकैको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको बलात्कारपछि हत्या भएको रिपोर्ट सार्वजनिक भइसकेको छ । तर यतिका दिन बितिसक्दा पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।

हत्याराको माग गर्दै यसअघि गरिएको आन्दोलनका क्रममा एकजनाको ज्यान गएको छ भने कैयौं घाइते भएका थिए । हत्या सम्बन्धी अनुसन्धानका लागि बनेको समितिको रिपोर्ट सार्वजनिक नभएको भन्दै कञ्चनपुरमा फेरि आन्दोलन सुरु भएको छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले आइतबार बिहान बाह्रखरीसँग कुरा गर्दै

हत्यार पत्ता लगाइदिन आग्रह गर्दैै गृहमन्त्री, प्रधानमन्त्रीलगायतसँग भेटेको भए पनि अहिलेसम्म पत्ता लाग्न नसक्दा आफूहरु दुःखी भएको बताइन् ।

मेरी छोरी निर्मला पन्तको हत्या भएको आज ६६ दिन पुगेको छ । तर, उनको हत्यारालाई पत्ता लगाएर अझै पनि सरकारले कारवाही गर्न सकेको छैन । यो अवस्थाले गर्दा हामीलाई दुःख लागेको छ । हामी असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कञ्चनपुर फर्किएको समेत लामो समय भइसकेको छ । छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाएको सुनिएपनि त्यसमा के छ भन्ने कुरा हामी पीडित परिवारका सदस्यहरुलाई पनि जानकारी दिइएको छैन ।

त्यसैले त्यसमा के छ सार्वजनिक गर भनेर कञ्चनपुरबासीले आन्दोलनको तयारी गर्नु भएको छ । शनिबार कञ्चनपुर उद्योग वाणिज्य संघको हलमा अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरेका थियौं । आज आइतबार दिउँसो १२ बजेतिर भेटेर फेरि छलफल गर्ने कार्यक्रम छ । प्रदर्शन राष्ट्रिय झण्डा लिएर गर्ने कि भन्ने बारेमा पनि छलफल भएको छ ।

हिजोको बैठकमा कञ्चनपुरका सबै दलका स्थानीय नेताहरुपनि सामेल हुनुुहुन्थ्यो । उहाँहरु सबैले आन्दोलनप्रति ऐक्यबद्धता जनाउनु भएको छ । सत्तापक्षकै पनि नेता त्यहाँ थिए । तत्कालीन नेकपा एमालेका एक जना नेता कार्यक्रममा आउनु भएको थियो । उहाँको नाम त थाहा भएन , तर हाम्रो आन्दोलनमा उहाँले पनि ऐक्यबद्धता जनाउनु भएको छ ।

मेरी छोरी निर्मलाका हत्यारालाई पक्राउ गरेर कारवाही नगरेसम्म उहाँहरुले सहयोग गर्ने वचन दिनुभएको छ । राजधानीमा पनि हिजो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको सुने । उहाँहरुलाई धन्यवाद छ । सबैले सहयोग गरिरहनु भएको छ र हामीले न्याय नपाएसम्म यो सहयोग जारी रहने आशा गरेका छौं ।

हामीले असोज १ गते प्रधानमन्त्रीलाई भेट्दा उहाँले हत्यारालाई छिट्टै कारवाही गर्ने र आफूहरुले न्याय पाउने बताउनुभएको थियो । त्यो भन्दा अघि हामीले गृहमन्त्री रामबहादुर थापालाई भेट्दा उहाँले पनि त्यस्तै कुरा गर्नु भएको थियो । तर, हामी यहाँ आएको यतिका दिन भइसक्दापनि केही भएन । अझै पनि दोषीलाई कारवाही नहुनुले दुःख लागेको छ ।

अहिलेसम्म हत्यारा पत्ता लागेको पनि छैन र उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदन पनि सार्वजनिक भएको छैन । यसले गर्दा शंका उत्पन्न भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघको सभाहलमा शनिबार भएको छलफलमा दबाव दिनका लागि संघर्ष समिति बनाउने निर्णय भएको छ । आज आइतबार नागरिक समाज, राजनीतिक दल, अधिकारकर्मी सबैको बैठक बसेर आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने निर्णय गर्ने कुरा भएको छ ।

सरकारमा भएका मान्छेहरुले निर्मलाको हत्यारा पत्ता लगाउनुपर्छ भनेर गरेको आन्दोलनमा राजनीति भएको आरोप लगाएको पनि सुनियो । त्यस्तो कुरा सुन्दा चित्त दुखेको छ । छोरी मारिएकी छन् । उनको हत्यारा पत्ता लगाएर न्याय दिनुप¥यो भन्दा कसरी राजनीति हुन्छ ? हामीले बुझ्न सकेका छैनौं । हामीले राजनीति गरेका होइनौं । हामीले न्याय मात्रै मागेका हौं ।

प्रतिवेदन सार्वजनिक नभएको र दोषीलाई कारवाहीपनि नगरिएकाले हाम्रो मनमा चिसो पसेको छ । सरकारले दोषीलाई कारवाही नगरेसम्म र हामीलाई न्याय नमिलेसम्म सबैले दबाबका लागि सहयोग गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं ।

(बाह्रखरीसँगको कुराकानीमा आधारित)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *