रेखाले भनिन् : ‘ऋषि दाईजस्तो खट्ने हो भने विदेशी फिल्मको प्रभाव कम हुन्थ्यो’paban bhattarai
रामचन्द्र पौडेल १२ वर्षपछि हलमा, ‘अनुराग’ हेरेपछि गरे धमलाको प्रशंसा
काठमाडौं, १७ असोज । पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग हेर्न कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल सिटी सेन्टरस्थित् बिग मुभिजमा पुगेका छन् ।
बुधबार साँझ पौडेलसहित चर्चित नायिका एवम् अभिनेता रेखा थापापनि धमलाको अनुराग हेर्न हलमा पुगेकी छिन् । नायिका थापाले पत्रकार ऋषि धमलाले चलचित्र क्षेत्रमा हात हालेर यो क्षेत्रमा ठूलो योगदान पुर्याएको बताए । उनले भनिन्,‘ऋषि धमला यो देशलाई र यो देशको माटोलाई माया गर्ने व्यक्ति हो । म उहाँको योगदानको म उच्च कदर गर्न चाहन्छु ।’
नायिका थापाले चलचित्र क्षेत्रमा नयाँ अनुहार भएपनि नायिका एलिजा गौतमको प्रस्तुति दमदार रहेको भन्दै उनको अभिनयको खुलेर प्रशंसा गरिन् । उनले भनिन्,‘म त जहिलेपनि नयाँ आर्टिष्ट ल्याउने मान्छे हो । एलिजा नयाँ आर्टिष्ट भएकोले कस्तो अभिनय गरेको होला भनेर मलाई सुरुमा कौतुहलता थियो । त्यही भएर म अनुराग हेर्न आएकी हुँ । उ आगामी दिनमा अझै स्थापित हुन्छजस्तो मलाई लाग्छ ।’
नायक/नायिका नयाँ भएपनि दुवैको अभिनय हेर्दा आफूलाई नयाँजस्तो अनुभव नभएको थापाले स्पष्ट पारिन् । उनले थपिन्,‘एलिजाको कामबारे म खुशी छु । म उनीप्रति गर्व महशुस गर्छु । ऋषि धमलाको पत्नी भएको कारणले होईन । उहाँकै कामको कारणले म गर्व महशुस गर्छु ।’
त्यस्तै उनले पत्रकार ऋषि धमलाले नेपाली चलचत्रि क्षेत्रको विकास र उन्नतीको लागि अथक मेहनत गरेको सुनाईन् । उनले भनिन्,‘ऋषि दाई पछिल्लो समय धेरै खट्नु भएको छ हामी कुरापनि गर्छौं कि यसरी नै हामीले खट्ने हो भने विदेशी फिल्महरुको प्रभाव हाम्रो देशमा कम हुनेथियो ।’
‘अनुराग’ धमलाको नयाँ प्रयास भएको सुनाउँदै उनले पहिलो प्रयासमै यसले लोकप्रियता हाँसिल गरेको सुनाईन् । उनले नेपाली चलचित्रलाई हल वितरण गर्ने कुरामा, माया गर्ने कुरामा कतिको माया गरियो भन्ने कुराबारे उल्लेख गर्दै चलचित्र क्षेत्रको एकाधिकार तोड्ने कुरामा ऋषि धमलाले हिम्मत गरेको र त्यसमा आफ्नो पूर्ण साथ रहेको विश्वास दिलाईन् ।
उनले भनिन्,‘मलाई उहाँको कुराले छोएको छ । नयाँ मान्छेलाई माया र सम्मान गर्नुपर्दथ्यो । जे भएपनि ऋषि दाई भनेको यो देश र माटोलाई माया गर्ने मान्छे हो । देश र जनतालाई माया गर्ने मान्छे चलचित्र क्षेत्रमा आउनुभएको छ। हामीले किन साथ, सहयोग र समर्थन नगर्ने ? गर्नुपर्छ ।’
पत्रकार ऋषि धमलाले आफूले सुरुमा अनुरागको लागि समय दिन नसकेको स्विकार गरे । उनले भने,‘मैले सुरुवातमा अनुरागलाई समय दिएको भए अझै धेरै राम्रो चलचित्र बन्थ्यो । हुन त यो चलचित्रलाई दर्शकले धेरै रुचाउनुभएको छ । यसको कन्टेन्ट नै जबरजस्त छ । त्यही भएर यसलाई मन पराईयो ।’ धमलाले चलचित्र जगतमा रहेको अत्याचार, अन्यया र एकाधिकार तोड्न सबै एक हुनुपर्ने बताए ।
यता नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भने आफू १२ वर्षपछि हलमा आएर चलचित्र हेरेको प्रतिक्रिया दिए । उनले भने,‘ऋषि धमलाले बनाएको फिल्म राम्रो छ । विषयवस्तु राम्रो छ । धमलाजीको कुरा हार्न नसकेर म हलमा आएको हुँ । कलाकारहरुको अभिनय जबरजस्त छ ।’ चलचित्रले युवा पुस्ताहरुको मन जितेको पनि नेता पौडेलले बताए ।
त्यस्तै कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि चलचित्र सफल हुने विश्वास दिलाए । उनले चलचित्र क्षेत्रमा भएको एकाधिकार तोड्न पत्रकार धमलालाई साथ दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,‘देश र जनताको लागि निरन्तर खट्ने पत्रकार फिल्म क्षेत्रमा आउनुभएको छ, उहाँलाई हल वितरकहरुले किन प्रोत्साहन नगरेको ? किन सहयोग नगरेको? मलाई यसमा दुःख लागेको छ । सबैले साथ दिनुपर्छ । मुलुकमा विद्यमान सबै प्रकारका एकाधिकार तोड्नुपर्छ । धमलाजीले भनेकोजस्तो चलचित्र क्षेत्रमा रहेको सिण्डिकेट तोड्न मेरो पूर्ण साथ छ ।’
reportersnepal
Views: 0