२३ आश्विन २०७५, मंगलवार
काठमाडौं । बहुराष्ट्रिय दातृ संस्था विश्व बैङ्कले सन् २०१८ मा दक्षिण एशियाली क्षेत्रमा ६ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । बैङ्कले आइतवार यस क्षेत्रको अद्र्धवार्षिक आर्थिक समीक्षा सार्वजनिक गर्दै आउँदो वर्ष सो वृद्धि ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कको मुख्यालयबाट जारी विज्ञप्तिमा दक्षिण एशिया संसारकै तीव्र आर्थिक वृद्धि भएको क्षेत्रका रूपमा स्थापित भएको उल्लेख छ । तर, बैङ्कले अमेरिका र चीनबीच भइरहेको व्यापार युद्ध, पूँजी पलायन र अन्य बाह्य प्रभावका कारण आगामी दिनमा यो क्षेत्रले सोचेजस्तो आर्थिक वृद्धि प्राप्त गर्नेमा शङ्का व्यक्त गरेको छ ।
त्यसैगरी कुल गार्हस्थ्य उत्पादन (जीडीपी)सँग वित्तीय घाटाको अनुपातका आधारमा पनि दक्षिण एशियाको अवस्था आगामी दिनका लागि सुखद नहुने बैङ्कको अनुमान छ । मध्यपूर्व र उत्तरी अफ्रिकापछि सबैभन्दा धेरै वित्तीय घाटा जीडीपी अनुपात (४ दशमलव ४ प्रतिशत) हुने क्षेत्रमा दक्षिण एशिया छ । यो क्षेत्रको त्यस्तो अनुपात विगत ३ वर्षमा साढे ५ प्रतिशतको हाराहारीमा छ ।
दक्षिण एशियामा तीव्र आर्थिक वृद्धि भए पनि नेपाल भने आर्थिक वृद्धिका आधारमा चौथो स्थानमा रहेको छ । दक्षिण एशियामा ८ प्रतिशतको आर्थिक वृद्धिसहित माल्दिभ्स शीर्ष स्थानमा रहेको छ । त्यसपछि बङ्गलादेशले ७ दशमलव ९ प्रतिशतको वृद्धि प्राप्त गर्ने बैङ्कको अनुमान छ । तेस्रो स्थानमा रहेको भारतले ७ दशमलव ३ प्रतिशत र नेपालले ६ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिन्छ । विश्वमै दक्षिण एशियाली राष्ट्रको बजेट घाटा अधिक रहेको भन्दै विश्व बैङ्कका दक्षिण एशिया हेर्ने उपप्रमुख हार्टविग स्केफरले यस क्षेत्रमा देखिएको वित्तीय कमजोरी घटाउन सके अर्थतन्त्रमा आन्तरिक र बाह्य चुनौती सम्बोधन हुनसक्ने बताएका छन ।
-aviyaan
Views: 0