वासिङटन, कात्तिक १३ ।
अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुइ लगाएर सोमबार मृत्युदन्ड दिइएको छ ।
रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना सुरक्षागार्डको हत्या गरेका थिए ।
उनी दुईओटा हत्या प्रयास र एउटा बलात्कारमासमेत दोषी पाइएको थियो ।
उनका दाजुलाईसमेत कार चोरी गर्नेक्रममा एकजनाको हत्या गरेको दोषी प्रमाणित भएपछि १८ वर्षअघि ओक्लाहोमा राज्यमा मृत्युदन्ड दिइएको थियो ।अदालती सुनुवाइकाक्रममा बर्गेटले आफू मृत्युदन्डको सजाय पाउनयोग्य रहेको बताएका थिए । तैपनि, अपिलका कारण उनको सजायमा ढिलाइ भएको थियो ।
तर, सन् २०१६ मा उनले अपिल फिर्ता लिएका थिए । उनले अपिल फिर्ता लिनेक्रममा जेलको कठघरामा अरु ३० वर्ष बिताउन नचाहेको बताएका थिए ।
सन् १९७६ मा साउथ डकोटा राज्यमा मृत्युदन्डसम्बन्धी सजाय दिने कानुन पुनः जीवित गरिएपछि राज्यमा यो चौथो मृत्युदन्डको सजाय हो ।उनका दाजु रोजर बर्गेटलाई एक शिक्षकको हत्यामा दोषी ठहर गरी ३९ वर्षको उमेरमा ओक्लाहोमामा सन् २००० मा मृत्युदन्ड दिइएको थियो ।
अमेरिकी सन्चारमाध्यमहरुले दुवै दाजुभाइ मदिरा सेवन र हिंसाको पृष्ठभूमिमा हुर्किएको बताएका छन् । रासस/एएफपी&imagekhabar
Views: 0