यी हुन् छठ पर्वका धार्मिक लाभधाइ विषेस्ता

२०७५ कार्तिक २४, शनिबार १४:४६ गते २०७५ कार्तिक २४, शनिबार १४:४६ गते २०७५ कार्तिक २४, शनिबार १४:४६ गते
Hindu devotees offer prayers to the Sun god during the Hindu religious festival "Chhat Puja" in the northern Indian city of Chandigarh November 1, 2011. Hindu devotees worship the Sun god and fast all day for the betterment of their family and society during the festival. REUTERS/Ajay Verma (INDIA - Tags: RELIGION SOCIETY)

कात्तिक शुक्ल षष्ठीका दिन नेपालको तराई तथा भारतका विहार र उत्तरप्रदेशमा मनाइने पर्व हो छठ। यो पछिल्लो दुई दशकमा अन्य मुलुकका हिन्दू धर्मावलम्बीमाझ पनि विस्तारित हुँदै गएको छ।नेपालको तराई मधेशमा त हिन्दूबाहेक इसाई, मुस्लिम र नेवार समुदायले पनि मनाउन थालेका छन्। यस लोकपर्वलाई शास्त्रीय पर्वका रूपमा पनि व्याख्या गर्न थालिएको छ। विभिन्न वेद, पुराण र शास्त्रहरूसित जोडेर हेर्न थालिएको छ।

वेद र पुराणहरूमा सूर्य पूजाको चर्चा पाइन्छ। सूर्यलाई अर्घ्य दिने, जलार्पण र पूजा गर्ने संस्कृति पुरानै हो। विभिन्न मन्त्रहरूमा पनि सूर्यको उपसना पाइन्छ। सूर्यलाई अन्य धर्मावलम्बीहरूले पनि विभिन्न नाम र रूपमा पूजा गर्ने गरेको पाइन्छ। यस अर्थमा सूर्य पूजालाई छठ पर्व मान्न सकिँदैन।

छठ पर्वमा सूर्यलाई साक्षी मानिन्छ र अर्घ्य चढाइन्छ। वास्तवमा छठमा गरिने सूर्यको पूजा साक्षीका लागि मात्र भएको बुझाइ पाइन्छ।

रामायणका नायक रामलाई सूर्यवंशी मानिएको छ। दशानन रावणमाथि विजय पाएर अयोध्या फर्किएपछि उनले पनि सूर्यपूजा गरेका थिए। महाभारतका पात्र कर्ण पनि सूर्यका उपासक थिए। तर, दुवै प्रसंगलाई छठ पूजा भनिएको पाइन्न।

पहिलो छठ उपासक द्रौपदी!

सबैभन्दा पहिलै पाण्डवहरूकी पत्नी द्रौपदीले छठ पर्व मनाएको विश्वास छ। १२ वर्षको बनवासपछि एक वर्षको अज्ञातवासको सफलताका लागि उनले पहिलो पटक छठ मनाएको धार्मिक विश्वास छ।

पाण्डवहरूले बनवासको केही समय यस क्षेत्रमा बिताएका थिए। जस्तो- मकवानपुरको हेटौंडामा भुटनदेवीको मन्दिर छ। भुटनदेवीलाई महाभारतका योद्धा भीमकी पत्नी हिडिम्बाका रूपमा बुझ्ने गरिएको छ। हिडिम्बाकै नामबाट कालान्तरमा यस बस्तीको नाम हेटौंडा भएको हेटौंडा नगरपालिकाद्वारा प्रकाशित स्मारिकामा उल्लेख छ।

महाभारत युद्धमा भीमसेन र हिडिम्बाका पुत्र घटोत्कचको मृत्यु कर्णको अमोघ वाणबाट भएको थियो। आफ्ना पुत्र मारिएको खबर हिडिम्बालाई दिन भीम आतुर थिए। र, त्यसका लागि उनले युद्धभूमिबाट फालेको गदा यहाँ आएर बजारिएको किंवदन्ती छ। उनको गदा बज्रिँदा हेटौंडा उपत्यका बनेको धार्मिक विश्वास पनि छ।

यस्तै, रौतहटको गढीमाई नगरपालिकाको समनपुर ऐतिहासिक तथा पौराणिक स्थल हो। नेपाल-अंग्रेज युद्धमा स्थानीय बासिन्दाले तोपलगायत आधुनिक हातहतियारले सुसज्जित अंग्रेजी फौजलाई हराएको ऐतिहासिक ठाउँ पनि हो यो।

यस बजारको सम्बन्ध प्राचीन इतिहाससित पनि जोड्ने गरिएको छ। तत्कालीन नेपाल (काठमाडौं) र पाटलीपुत्र (पटना)को व्यापार वागमती नदीको किनारै किनार हुने गर्थ्यो। र, समनपुर त्यसको केन्द्र थियो।

समनपुर बजारनजिक एउटा महादेव मन्दिर छ। पाण्डवहरूले अज्ञातवासको शुरुआत यहींबाट गरेको धार्मिक विश्वास छ। द्रौपदीले वागमती नदीको किनारमा छठ व्रत गरेपछि अज्ञातवास शुरु भएको जनविश्वास छ। सोही कारण छठ पूजाको शुरुआत नै रौतहटको समनपुरबाट भएको विश्वास गर्ने गरिएको छ।

छठलाई शास्त्रीय पर्व मान्न सकिँदैन। छठ पर्वमा कुनै पनि पण्डित या पुरोहितको आवश्यकता पर्दैन। व्रतालुहरू नै सर्वोपरि हुन्छन्। पर्वका सम्पूर्ण विधि व्रतालुहरू आफैंले पूरा गर्छन्।

तराई मधेशमा लोकदेवताका रूपमा गोविन्द, गणिनाथ, फेकुराम, कारिख, गोरेया आदिको पूजा गरिन्छ। कतिपयले छठ एक दिनको मात्र हुन्छ भनेर बुझेका छन्।

तर, यसको शुभारम्भ कार्तिक शुक्ल द्वितीयादेखि नै हुन्छ। यस दिन बिहान सामान्यतया सूर्योदयअघि (तर आइतबार, मंगलबार र बिहीबार परेमा कतै कतै सूर्योदयपछि) गोवर्द्धन पूजा गरिन्छ। हरेक व्रतालुले अनिवार्य रूपमा गोवर्द्धन पूजा गर्ने चलन छ।

गाउँको चौबाटोमा भेला भई सामूहिक गोवर्द्धन पूजा गर्नुलाई गोधन कुटाइ भनिन्छ। गोधन कुटाइका लागि गोबरमा केराउ (बजडी), सिन्दुर, गाजल, कपास, मिठाइ आदिको प्रयोग गरिन्छ। एउटा माटोको हाँडीलाई चारैतिरबाट टीका लगाएर हाँडीभित्र माटोको दियो बाली गोबरले बनाएको गोवर्द्धन पहाडमाथि राखिन्छ।

चारैतिरबाट व्रतालुहरूले उभिएर पहिला छठ गीत गाउँछन् र हलोको जुवाले हाँडीलाई फुटाउँछन्। हाँडी फुटाउने जुवालाई छठ व्रत बसेका महिलाहरूले मात्र समाउन पाउँछन्। यो नै छठ पर्वको संकल्प हो। टोलमा को को व्रत बसेका भन्ने यहींबाट थाहा हुन्छ।

जुवाको प्रहारबाट हाँडी फुटेपछि उपस्थित सबै महिलाका दाजु र भाइको नाम लिई एकै स्वरमा गीत गाउँछन्, जसलाई स्थानीय बज्जिका भाषामा सरापेको भनिन्छ।

तर, गीतमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना र प्रार्थना गरेका हुन्छन्। हाँडी फुटाएको गोबरमा चढाइएका विभिन्न सामग्रीलाई सबै व्रतालुले निकाल्ने प्रयास गर्छन्। खासगरी, दाजुभाइले अनिवार्य रूपमा त्यो सामग्री कपासमा मुछेर खाने चलन छ।

संकल्पपछि व्रतालुहरू छठ पर्वका सामग्री पकाउन चुलोको निर्माण शुरु गर्छन्। र, ठेकुआ तथा कसारका लागि धान र गहुँ घाममा सुकाउन थाल्छन्। संकल्पपछि छठको औपचारिक तयारी शुरु हुन्छ।

मुख्य पर्व खरना

कात्तिक शुक्ल चतुर्थीका दिन नुहाएर खाने गरिन्छ, जसलाई ‘नहाखाएके’ भनिन्छ। त्यसको भोलिपल्ट पञ्चमीको दिन खरना हो। खरनामा व्रतालु दिनभर भोकै बस्छन्।

द्वितीयामा चुलोमै खरनाको सामग्री पकाउन आगो बालिन्छ। पञ्चमीको साँझ खीर, चामलको रोटी र मुला छठीमाईलाई चढाइन्छ, जसलाई ‘नेओज काढेके’ भनिन्छ। खरनामा अन्य खानेकुरा पनि ठाउँ र क्षमताअनुसार चढाइन्छ तर यी तीनलाई अनिवार्य मानिन्छ।

घर वा आँगनको कुनै पनि ठाउँमा लिपपोत गरी पवित्र पारी केराको पातमा खीर, रोटी र मुला चढाइन्छ। कुनै पनि मूर्ति वा फोटोको प्रयोग हुँदैन। नजिकै एकाछेउमा आँपको लकडी वा गुइँठाको आगोमा धूप हालिन्छ।

कसले कुन भाकल गरेको हो वा किन पर्व गरेको हो भन्ने त्यहीबेला देवतासमक्ष पुकारा गर्ने हो। आरोग्यको कामना र प्रार्थनापछि व्रतालुले प्रसाद खान्छन्। त्यसलाई समग्रमा खरना भनिन्छ।

खरना सकिएपछि प्रसाद बाँड्ने चलन पनि छ। जसको घरमा छठ हुँदैन, उनका आफन्तहरूले खीर, रोटी र मुला पुर्‍याइदिन्छन्।

खरना नगर्दा छठ गरेको मानिँदैन तर कुनै बाध्यताका कारण षष्ठीको दिनको व्रत बस्न नसकी खरना मात्र गर्नेले पनि छठ गरेको मानिन्छ। यसर्थ छठको मुख्य पर्व खरना नै हो।

छठघाटको पूजन सामग्री

खरनाको भोलिपल्ट कात्तिक शुक्ल षष्ठीको दिउँसो बस्ती नजिकका नदी वा तलाउ किनारामा पूजा हुन्छ। सामान्यतया अस्ताउँदो र उदाउँदो सूर्यलाई देख्न सकिने ठाउँमा घाट बनाइन्थ्यो तर निरन्तर मानव बस्ती विस्तारको कारणले अब बिस्तारै प्रतीकात्मक बन्दैछ। पानीसम्म व्रतालु महिलाको पहुँच सजिलै होओस् भन्ने ध्यान दिइन्छ। हिजोआज घाटलाई सजाउने प्रतिस्पर्धा नै चलेको छ।

षष्ठीको दिन ठेकुआ र कसार बनाउने काम बिहानैदेखि हुन्छ। खरनाको सामग्री पकाएकै चुलोको उपयोग हुन्छ।

छठघाटमा लैजान ठेकुआ, कसार, केरा, अदुवा, केराउ, उखु, निबुआ, अक्षता र तुलसीको पात अनिवार्य चाहिन्छन्। ल्वाङ, सुकुमेल, नरिवल, स्याउ, सुन्तला विस्तारै थपिँदै गएका छन्।

पहिले अर्घ्य बाँसको सुपलीबाट दिइन्थ्यो। हिजोआज धातुका भाँडाको प्रचलन बढ्दै गएको छ। घाटमा लैजानुपर्ने सबै सामान बाँसकै एउटा ठूलो ढाकीमा राखिन्छ। यसमा पनि धातुको भाँडाको प्रयोग बढ्दै गएको छ।

छठ घाटमा पूजाको लागि बनाइएको ठाउँलाई श्रीसप्ता भनिन्छ। व्रतालुको उपस्थिति र घाटमा उपलब्ध ठाउँअनुसार एक वा अनेक श्रीसप्ता बनाइएको हुन्छ।

छठ घाटमा पुग्नासाथ सबैभन्दा पहिले सूर्यलाई अर्घ्य दिएर श्रीसप्ताको वरिपरि बस्छन्, पूजा गर्छन् अनि गीत गाउँछन्। रात पर्न थालेपछि कतिपय ठाउँका व्रतालु घर फर्किन्छन्। कतिपय ठाउँमा घाटमै रातभरि बस्ने व्यवस्था मिलाइएको हुन्छ।

घर फर्किंदा होस् वा घाटमा बस्दा, राति कोसिया भरिन्छ। हरेक व्रतालु छठमा प्रयोग भएको सम्पूर्ण सामग्रीसहित कुनै न कुनै कोसियामा अनिवार्य सहभागी हुनुपर्छ। यो पनि विशेष प्रकारको विशिष्ट पूजा हो।

घर फर्केकाहरूले पनि कोसिया भएको ठाउँमा पुगेर गीत गाउँदै छठपवनीको कथा सुन्छन्। जसलाई केही भाकल गरिएको हुन्छ, उसको हातखुट्टा एउटा धागोले बाँध्छन्। धागोले बाँध्ने अधिकार बहिनीलाई हुन्छ।

बहिनी नभए दिदी, फुपू वा भाञ्जीले बाँध्छन्। एक दुइटा गीतपछि बाँध्नेले केही दान–दक्षिणा लिएर खोल्छन्। यो निकै महत्वपूर्ण संस्कृति हो। कोसिया हुनेचाहिँ राति नै फेरि छठघाट पुग्नुपर्छ।

कोसियामा प्रयोग भएको माटोको हात्ती वा दियोयुक्त घैलालाई घाटनजिकको जलाशयमा राखिन्छ। घाटमा बस्नेहरूको रात त्यहीं बित्छ तर घर फर्किनेहरू बिहान झिसमिसेमै घाटमा पुग्छन्।

श्रीसप्ताको वरिपरि हिजोकै ठाउँमा जस्ताको तस्तै बसेर उही विधिले पूजा गर्छन्। जलाशयबाट सूर्य देखिन सक्ने गरी प्रकाश आएपछि फेरि जलाशयमा पुगेर अर्घ्य दिइन्छ। र, छठको समापन हुन्छ।

त्यसपछि सबै व्रतालु एकअर्कालाई शुभकामना दिने, ठूलाले सानालाई आशीर्वाद दिने र सानाले ठूलाको आशीर्वाद ग्रहण गर्ने काम हुन्छ। छठको प्रसाद साटासाट हुन्छ। छठ सकिएलगत्तै दिदी–बहिनीकहाँ छठको कोसेली पुर्‍याउने चलन छ।

-हिमाल खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *