प्रतिबन्धमा परेका दश बलिउड फिल्म

२०७५ मंसिर १, शनिबार १६:५२ गते २०७५ मंसिर १, शनिबार १६:५२ गते २०७५ मंसिर १, शनिबार १६:५२ गते

काठमाडौं — विश्वको सबभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारत । अनि फिल्म निर्माणको आधारमा बलिउड संसारका ठूलो फिल्म उद्योग । र, पनि यहाँ बन्ने सबै फिल्म दर्शकसम्म पुग्दैनन् । विभिन्न बहानामा फिल्ममाथि अकुंश लगाउन भारतीय फिल्म सेन्सर बोर्ड उद्यत देखिन्छ । खासगरी धर्म, यौन र कश्मिरका सवाल उठाएका फिल्ममाथि सेन्सर बोर्ड निर्दयी भइदिन्छ

पछिल्लो पटक ‘उड्ता पञ्जाब’को प्रर्दशन रोक्न बोर्डका पदाधिकारी लागिपरेका थिए । तर मुम्बई उच्च अदालतको आदेशपश्चात यो फिल्म तोकिएकै दिन रिलिज भयो । अदालतको साथ पाएर उड्ता पञ्जाब त रिलिज हुन पायो तर त्यस्ता कैयौं ‘अभागी’ फिल्म छन्, जुन करोडौं लगानीमा बने पनि सिनेमा घरमा प्रवेशै पाएनन् । कतिचाहीं निश्चित भूभागमा त्यो पनि लामो समयपछि मात्र प्रदर्शन हुन पाए ।

बोर्डले प्रतिबन्ध लगाएका यस्तै दश बलिउड फिल्म :

१) किस्सा कुर्सी का (सन् १९७७)
तत्कालिन भारतीय संसदका सदस्य अमृत नहाता निर्देशित यस फिल्ममा भ्रष्ट र स्वार्थी नेतामाथि व्यंग्य गरिएको छ । सवाना आज्मी र राज बब्बर मुख्य भूमिकामा छन् । खासमा यो इन्दिरा गान्धी र सञ्जय गान्धीमाथिको प्रहार थियो । भलै निर्देशकले ‘पूर्ण काल्पनिक र कुनै नेता वा पार्टीलाई प्रतिबिम्ब नगर्ने’ बताएका थिए । तैपनी सत्ताको उन्मादमा रहेको कांग्रेसलाई आफूमाथिको तीतो व्यंग्य कसरी पचोस ? संकटकालका दौरान फिल्ममाथि सरकारले प्रतिबन्ध लगायो । त्यतिमात्र होइन, फिल्मको मास्टर कपी नै गान्धी परिवारका समर्थकले जलाए ।

२) फायर (१९९६)


दीपा मेहता निर्देशित ‘फायर’ हिन्दु परिवारका दुई बुहारीको समलिगीं सम्बन्धको कथा हो । यसअगाडी लेस्बियन सम्बन्धले मुलधारका हिन्दी फिल्ममा प्रवेश पाएको थिएन । फरक विषयवस्तु र कलात्मक प्रस्तुतीका कारण यसले विश्वभर सकारात्मक समीक्षा बटुल्यो तर भारतमै प्रदर्शन हुन पाएन । शिवसेनालगायतका हिन्दु अतिवादी संघठनले निर्देशक दीपासहित अभिनेत्रीद्वय सवाना आज्मी र नन्दिता दासलाई मार्ने धम्की दिएपछि सेन्सर बोर्डले प्रतिबन्ध लगाएको थियो । भेट्रान फिल्म क्रिटिक तथा अभियन्ता शोनी घोषले यो फिल्मको विवाद, कन्टेन्टमाथि विश्लेषण गर्दै ‘फायर : अ क्युर फिल्म क्लासिक’ नामक पुस्तक नै लेखेका छन् ।

३) कामासुत्र : अ टेल अफ लभ (१९९६)

उर्दु लेखिका वाजिदा तबासुमको कथा उत्रानमा आधारित यस फिल्मलाई मिरा नायरले निर्देशन गरेकी हुन् ।  फिल्ममा सोह्रौ शताब्दीमा भारतीय समाजलाई विद्यमान वर्गीय विभेदलाई चित्रण गरिएको छ, सँगै हुर्किएका दुई युवती र तीनका प्रेमकथा मार्फत । फिल्ममा रेखा, इन्दिरा वर्मा, नभिन एन्ड्रियुस र सरिता चौधरी प्रमुख भूमिकामा छन् । कान्स फिल्म फेस्टिभलमा स्क्रिनिङ भयो, केही अवार्ड पनि जित्यो तर भारतमा रिलिज हुने मौका पाएन । स्वदेशी दर्शकका लागि अनैतिक र अश्लिल हुने कारण देखाएर सेन्सर बोर्डले प्रदर्शनको अनुमती नदिएको हो ।

४) पाँच (२००१) 
अनुराग कश्यप निर्देशित क्राइम थ्रिलर पाँच ८० को दशकमा पुनेमा भएको एक सिरियल मर्डरमा आधारित छ । जसमा केके मेनन, आदित्य श्रीवास्तवको मुख्य भूमिका निर्वाह गरेका छन् । तर यो फिल्म कहिल्यै सार्वजनिक प्रदर्शन हुन पाएन । सेन्सर बोर्डले लागुपदार्थ दुव्यर्सन र खराब भएकाले रिलिजका लागि योग्य नभएको कठोर निर्णय गरेको थियो । पछि बोर्डले दर्जनौं दृश्य काटेर प्रदर्शनको अनुमती त दियो तर निर्माताले हलमा चलाउन मानेनन् । यद्यपी सन् २०१० मा यसको ओरिजिनल कपि अनलाईनमा लिक भयो ।

५) गुलाबी ऐना (२००३) 
भारतीय समाजमा दबाएर राखिएको ‘ट्रान्सजेन्डर सेक्स’को यर्थाथलाई पर्दामा उतारेको यो फिल्मलाई श्रीधर रंगायनले निर्देशन गरेका हुन् । खासमा यो दुई गे (पुरुष समलिगीं)को कारुणिक सम्बन्धको फेहरिस्त हो । यस्तै विषयमा बनेको फायरमाथि प्रतिबन्ध लागेकाले गुलाबी ऐनामाथि पनि सेन्सर बोर्ड क्रुर हुन्छ भन्ने अनुमान फेल खाएन । आपत्तिजनक र भल्गरको आरोप लगाउँदै बोर्डले प्रदर्शनको अनुमती दिएन । यद्यपी यसले दर्जनौं विदेशी फेस्टिभलमा काफी तारिफ कमायो । अमेरिका र फ्रान्समा त अवार्ड नै जित्यो । भारतीय पुरुष समलिगी अभियन्ता अशोक कविले फिल्मलाई ‘यस्तो आश्चर्य, जुन यसअगाडी बाहिर आएको थिएन’ भनेर फिल्मको खुलेर प्रसंशा गरेका थिए ।

६) हवा आने दे (२००३)
फ्रान्स र भारतको संयुक्त लगानीमा बनेको फिल्म हो, ‘हवा आने दे’ । निर्देशक हुन्, पर्थो सेन गुप्ता । दुई असल मित्रमार्फत भारत–पाकिस्तानको सम्बन्ध र शत्रुतालाई मार्मिक शैलीमा देखाइएको यो फिल्म बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । अन्य दर्जर्नौ अन्तराष्ट्रिय फेस्टिभलमा प्रदर्शन भएर अवार्ड पनि जित्यो । तर भारतमै भने कहिल्यै रिलिज हुन पाएन । सेन्सर बोर्डले २१ वटा दृश्य काटेपछि मात्र चल्न दिने अड्डी कस्यो । तर निर्देशकले यसलाई ठाडै नकारे । यो विवाद अन्त्य नभएपछि हवा आने देले सिनेमाघरमा कहिल्यै प्रवेश पाएन । अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै धेरै फिल्मकर्मीले विरोध जनाए पनि सेन्सर बोर्डले प्रदर्शन अनुमती दिएन ।

७) ब्ल्याक फ्राइडे (२००७)
अुनराग कश्यपको अर्को फिल्म ब्ल्याक फ्राइडे पनि प्रतिबन्धको सिकार भयो । यो हुसैन जैदीको ‘ब्ल्याक फ्राइडे : द ट्रयु स्टोरी अफ बम्बे ब्लास्ट’ को एडेप्टेसन हो । केके मेनन, आदित्य श्रीवास्व, पवन मल्होत्रा प्रमुख भूमिकामा छन् । यसले इन्डियन फिल्म फेस्टिभल अफ लस एन्जलसमा ग्रान्ड जुरी प्राइज जित्यो भने लोकार्डो इन्टरनेशनल फिल्म फेस्टिभलमा बेस्ट फिल्ममा नोमिनेशनमा पर्‍यो । तर स्वदेशमा प्रदर्शन गर्न सेन्सर बोर्डले निर्ममरुपमा कैचीं चलायो । यसको प्रदर्शन अनुमती रोक्न मुम्बई उच्च अदालतले स्टे अर्डर जारी गरेको थियो । तैपनी अनुराग र उनको टिम फिल्म रिलिजका लागि निकै रस्साकस्सी गरिरहे । फिल्म रिलिजै नहुने खतरा बढेको थियो । तर तीन वर्षपछि हलमा त लाग्यो, जतिबेला यसको ‘चार्म’ हराइसकेको थियो ।

८) प्रजानिया (२००५)सन् २००२ को गुजरातको साम्प्रदायिक दंगामा १० वर्षीय बालक अजहर मोडी बेपत्ता भएका थिए । उनलाई खोज्न अजहरको परिवारले लामो संघर्ष गर्‍यो । यही कथालाई प्रजानियामा ढालेका थिए, निर्देशक राहुल ढोलकियाले । नश्रृद्दिन शाह, सारिका अभिनीत यो फिल्म अहमवाद र हैदरवादमा छायाकन गरिएको थियो । तर बिडम्बना कस्तो भइदियो भने दंगा भड्कने डरले गुजरातका कुनै हलले प्रजानिया रिलिज गर्न मानेनन् । फिल्मले गुजरातका जनताको आत्मसम्मानमा ठेस पुराउने जिकीर गरियो । यसलाई निर्देशक राहुलले ‘अघोषित प्रतिबन्ध’ भएको बताए । गुजरात सरकारले पनि फिल्म रिलिजमा खासै चासो देखाएन । अन्तत: गुजरातमाथि बनेको फिल्म यही रिलिज हुन पाएन । तर यसले भारतका अन्य राज्य र विदेशी फेस्टिभलमा वाहवाही कमायो ।

९) अनफ्रिडम (२०१५)
न्युर्योकमा एक कट्टर मुस्लिमले उदार मुस्लिमलाई मार्ने नियतले र नयाँ दिल्लीमा एउटी लेस्बियनले माया गर्ने नियतले आफ्नो बायोसेक्सुअल प्रेमीलाई अपहरण गर्छन । फरक उद्येश्य राखेर गरिएका यी अपहरण राज अमित कुमार निर्देशित अनफ्रिडमको मुख्य कथा हो । अदिल हुसैन, भानु उदय, प्रिती गुप्ता अभिनीत यस फिल्मको ‘वानलाइन स्टोरी’ बाहिरीना साथ भारतमा प्रतिबन्ध लाग्ने अनुमान गरिएको थियो । किनभने धर्म र समलिगी सेक्समाथि सेन्सर बोर्ड कठोर छ भन्ने फायर, कामासुत्रजस्ता फिल्मबाट नजीर बसिसकेको थियो । अन्तत: बोर्डले अनुमती नदिएपछि फिल्म भारतमा प्रदर्शन हुन पाएन । प्रदर्शन अनुमतीको माग गर्दै निर्देशकले सञ्चार मन्त्रालयमा निवेदन त दिए तर मन्त्रालयले सेन्सर बोर्डकै निर्णयलाई सदर गरिदियो । त्यसैले युट्युब रिलिजबाट फिल्म युनिटले चित्त बुझाउनु पर्‍यो ।  यद्यपी यसको सार्वजनिक प्रदर्शनका लागि निर्देशक अझ संघर्ष गर्दैछन् ।

१०) मै हुँ रजनीकान्त (२०१५)
एक दुष्ट तथा हास्यास्पद ‘कन्ट्रयाक किलर’को कथा हो, ‘मै हु रजनीकान्त’ । यो कमेडी फिल्मलाई फैजल सैफले निर्देशन गरेका हुन् । प्रदर्शनको मिति नजिकिदै गर्दा दक्षिण भारतीय सुपरस्टार मद्रास उच्च अदालत पुगे र फिल्मले आफ्नो छवि धुमिल्याएकाले प्रदर्शन रोक्न आग्रह गरे । फिल्म युनिटले रजनीकान्तको आरोप नकार्‍यो । तैपनी अदालत सुपरस्टारकै पक्षमा उभियो । दक्षिण भारतमा फिल्म विरुद्ध नाराबाजी नै भयो । फिल्म चल्नै नपाउने स्थिती सिर्जना भएपछि निर्देशक नाम परिवर्तन गर्न बाध्य भए । मै हुँ पार्ट टाईम किलरको नाममा यो फिल्म उत्तर भारतमा त प्रदर्शन भयो तर दक्षिण भारतमा प्रवेशै पाएन ।  –प्रस्तुती : गोकर्ण

(कान्तिपुर डेलिबाट साभार) 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed