सेनामा जागिर लगाइदिने प्रलोभनमा घुस लिने तीन जना सेनालाई कारबाही गरिएको छ।
दाङ तुलसीपुर स्थित १९ नम्बर बाहिनी अड्डाका बाहिनीपति तथा सहायक रथी विज्ञानदेव पाण्डेको अध्यक्षतामा गठित समरी जनरल अदालतले तीनै जनालाई जागिरबाट हटाउएको छ।
भर्ना अभियानमा आर्थिक अनियमितता गर्ने साविक बर्दियाको सानोश्री गाविस–८ घर भई ज्वालदल गण जाजरकोटमामा कार्यरत जमदार नरेन्द्रबहादुर डाँगी, बाँकेको बैजनाथ गाविस–१ चिसापानी घर भई सोही गणमा कार्यरत हवलदार कुलबहादुर राना क्षेत्री र गोर्खाको पालुङटार नगरपालिका–२ घर भएका सिपाही दिनेश अधिकारीलाई सेवाबाट बर्खास्त गरेको हो।
जमदार डाँगीले नेपाली सेनामा भर्ना गराइदिने प्रलोभन देखाएर डेढ लाख रुपैयाँ लिएको तथा हलवदार रानाले आफ्नो गाउँको भन्दै सघाएको र सिपाही अधिकारीले भर्ना भएपछि ५० हजार रुपैयाँ लिने कबुल गरेको प्रमाणित भएपनि सेवाबाट हटाइएको हो।
आर्थिक अनियमिततामा गरेको स्वीकार गरेपछि सैनिक अदालतले डाँगी र अधिकारीलाई ३–३ महिना र रानालाई एक महिना कैद गर्ने फैसला गरेको नेपाली सेनाका प्रवक्ता साहयक रथी गोकुल भण्डारीले जानकारी दिए।
प्रवक्ता भण्डारीका अनुसार सैनिक हीत विपरीत कार्य गरेका उनीहरुलाई सैनिक ऐन २०६३ को दफा ५२ को खण्ड ६ बमोजिम कारबाही गरिएको हो।
ज्वालादल गण जाजरकोटमा गत जेठ २ गते नेपाली सेनामा भर्ना खुलेको थियो। भर्ना छनौटको मौखिक अन्तरवार्तामा सोधपुछ गर्ने क्रममा भर्ना हुन आएकामध्ये एक जनाले डेढ लाख रुपैयाँ दिइसकेको र एक जनाले भर्ना भएपछि ५० हजार दिने कबुल भएको कुरा खुलेपछि घटना सार्वजनिक भएको हो।
पैसा खाएको खुलेपछि डाँगीले पैसा फिर्ता गरिसकेका थिए। कात्तिक ५ गते उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो।
श्रोत-देशसंचार
Views: 0