लाहान हत्याकाण्डका दोषीलाई जोगाउन चलखेल, जानकारी माग्दा रिसाउन थाले एसपी श्रेष्ठ

२०७५ मंसिर ३, सोमबार ०४:५८ गते २०७५ मंसिर ३, सोमबार ०४:५८ गते २०७५ मंसिर ३, सोमबार ०४:५८ गते

लाहान हत्याकाण्डका दोषीलाई जोगाउन चलखेल, जानकारी माग्दा रिसाउन थाले एसपी श्रेष्ठदैनिक नेपाल

हत्या गरिएका सुमित साहको शव, बीचमा सुमित साह, दाँया एसपी श्रेष्ठ, बाँया सबैभन्दा माथि गोलो तस्बिरमा रहेका मुख्य आरोपी रघु

लाहान, ३ मंसिर । सिरहा प्रहरीले कात्तिक १३ गते हत्या गरिएका जनकपुरका २४ वर्षीय युवक सुमित साहका मुख्य दोषीलाई अहिलेसम्म पक्राउ नगरेको भन्दै पीडित परिवार र आफन्तले आक्रोश व्यक्त गरेका छन् ।

सुमित साहलाई आफ्नै साथी ‘रघु’ भनिने रघुवेन्द्र नारायण चौधरीले सिरहाको लाहानस्थित आफ्नै घरबाट दश मिटर नजिक रहेको पोखरीमा हत्या गरेर फालेको पीडित पक्षको आरोप छ । सुमित र रघु काठमाडौंमा सँगै बसेर काम गर्थे । उनीहरू एकअर्काको घरमा जाने आउने गरेका थिए । हत्याको असली कारण थाहा नभए पनि सामान्य विवाद नै रहेको सुमितका दाई अमित साहले दाबी गरेका छन् । फेसबुकमा सुमित र रघुबीच झगडा भएको स्टाटसले देखाएको अमित साहको बुझाइ छ ।

प्रवेश चौधरीका बुबा (रघुको काका)को शुद्धिको कार्यक्रम अर्थात भोज खान पुगेका सुमित साहलाई रघुका घरपरिवार मिलेर घाँटी थिचेर हत्या गरेको भन्दै आफन्तले लहान प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले आरोपी चारजनामध्ये प्रवेश चौधरी र विवेक चौधरीलाई पक्राउ गरेको छ । मुख्य आरोपी भनिएका रघु फरार छन् । अर्का आरोपी लवप्रकाश चौधरीलाई प्रहरीले नियन्त्रयामा लिएको छैन ।

फरार रहेका भनिएका रघु सामाजिक सञ्जालमा सक्रिय छन् । रघुले फेसबुक चलाउनुका साथै बेलाबेला अपडेट गर्ने गरेका छन् । तर, प्रहरीले रघुको लोकेशन पत्ता लगाएर पक्राउ गर्ने इच्छा देखाएको छैन । मुख्य आरोपी रघुलाई किन पक्राउ नगरेको भन्ने जवाफमा सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले झर्किदै अनुसन्धान भैरहेकाले केही भन्न नमिल्ने जवाफ दिए । ‘अनुसन्धान भैरहेको छ । तपाईहरूले सिकाउने होइन । हाम्रो काम गर्न हामीले जानेका छौँ’, सिरहाका प्रहरी प्रमुख एसपी श्रेष्ठले भने, ‘सुमित साहको हत्याका विषयमा केही भन्न मिल्दैन । अनुसन्धान सकियो भने अदालतमा पेस गर्ने हो ।’

सिरहा प्रहरीले अनुसन्धानमा किन ढिलाइ गरेको हो सुमित साहका आफन्तले आश्चर्य व्यक्त गरेका छन् ।

लाहान प्रहरीका प्रमुख डिएसपी राजेश थापाले सुमित साहका दोषीमध्ये दुईजना पक्राउ परिसकेको र बाँकीलाई पक्राउ गर्न खोजतसाल जारी रहेको बताए । उनले भने, ‘मुख्य आरोपी भनिएका रघुवेन्द्र नारायण चौधरीको बारेमा केही थाहा भए हामीलाई सूचना दिने हो भने पक्राउ गर्छौं ।’

मृतक सुमित साहका दाई अमित साहले प्रहरीले मुख्य आरोप रघुवेन्द्र नारायण चौधरीलाई पक्राउ गर्न तदारुकता नदेखाएको भन्दै आक्रोश व्यक्त गरे । ‘सिरहा प्रहरीले मुख्य दोषीलाई किन पक्राउ गरेको छैन अचम्म लागेको छ । परिवार नै मिलेर सुमितको हत्या गरेको हाम्रो आशंका छ । प्रहरीले किन ढिलाइ गरेको छ थाहा छैन’, उनले भने, ‘कतै हामीले न्याय त पाउँदैनौँ भनेर चिन्ता लागेको छ ।’

सुमित साहको हत्याका मुख्य आरोपी रघु भनिने रघुबेन्द्र नारायण चौधरी । फरार छन् ।

स्रोतका अनुसार सिरहाबाट प्रदेश सांसदमा विजयी भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद लगनलाल चौधरीले सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठलाई राजनीतिक दवाव दिएर हत्याका मुख्य आरोपी रघुवेन्द्र नारायण चौधरीलाई उन्मुक्ति दिन चलखेल गरेका छन् । रघुवेन्द्र नाताले प्रदेश सांसद चौधरीका नाती पर्छन् ।

यसरी भएको थियो हत्या

जनकपुर स्थायी घर भएका सुमित साह र सिरहाको लाहान घर भएका रघुवेन्द्र नारायण चौधरी साथी हुन् । उनीहरूका बीच ६–७ वर्षदेखि चिनजान छ । उनीहरू काठमाडौंमा सँगै बसेर काम गर्थे । सुमित साह जापान जाने तयारीमा थिए । उनको भिसा आउने क्रममा थियो । चाढपर्व मनाउन सुमित जनकपुरस्थित घर गएका थिए । रघुवेन्द्र लाहानस्थित घरमा थिए ।

प्रवेश चौधरीका बुबाको मृत्यु भएको शुद्धिको कार्यक्रममा भोज खान सुमितलाई बोलाइयो । भोज खान आएका सुमितको शव रघुवेन्द्रकै घर नजिकै रहेको पोखरीमा भेटियो । सुमितको शरीरमा रहेको टाटुलाई हटाउन छाला काटिएको र अनुहार नचिनिने गरेर चिथोरिएको अवस्थामा शव भेटियो । रघुले सुमितको मोबाइल दुई दिनसम्म आफैले चलाएका थिए ।

सुमितकी आमासँग रघुले सुमितकै मोबाइलबाट पटक–पटक कुरा गरेका थिए । दुई दिनपछि झर्किएर रघुले सुमितकी आमालाई झपारेका थिए । सुमितको शव भेटिएको सूचना रघुले नै सुमितकी आमालाई दिएका थिए । सुमितले लगाउने टिसर्ट र आरोपीको घडी केही दिनपछि प्रवेश चौधरीकै घरमा रगत लागेको अवस्थामा भेटिएको थियो । ती सामान उनीहरूकै भएको दाई अमित साहको दाबी छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *