१८ मंसिर– प्रधानमन्त्री केपी ओलीले केही दिनअघि राजधानीमा सम्पन्न विवादास्पद ‘एसिया प्यासिफिक समिट’ मा आफूलाई फसाइएको दाबी गरेका छन् ।
सटिमा सक्रिय सहभागिता जनाएका कारण सत्तारुढ नेकपाभित्रसमेत चर्को आलोचना भएपछि प्रधानमन्त्रीले निकटस्थहरुसँग त्यसबारे मुख खोलेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेकपाका वरिष्ठ नेता माधव नेपालले आफूलाई फसाएको आरोप लगाएका छन् ।
सम्मेलनमा नेता नेपालको सक्रियता शंकास्पद थियो । ओलीका अनुसार नेता नेपालले नै ६ महिनाअघि उक्त कार्यक्रममा सहभागी भइदिन आग्रह गरेका थिए ।
नेपालकै आग्रहमा आफूले युनिभर्सल सिप फेडेरेशन नेपालका अध्यक्ष एवं परिवार दलका नेता एकनाथ ढकाललाई भेटेको दाबी ओलीको छ ।
ओलीलाई प्रधानमन्त्री निवासमा भेटेका नेकपाका एक नेताले दिएको जानकारीअनुसार वरिष्ठ नेता नेपालले ‘शान्ति र विकासका लागि सम्मेलन’ हुन लागेकाले सहभागी भइदिन आग्रह गरेका थिए ।
ओलीलाई कार्यक्रममार्फत नेपालमा विदेशी पर्यटक आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने लक्ष्य रहेको भनिएको थियो ।
‘मलाई माधव नेपालजीले शान्ति र विकास उम्मेलनको उद्देश्य हो भन्नुभएको थियो’, ओलीले भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उद्देश्य राम्रै लागेर हुन्छ भनिदिएँ, पछि मात्र मलाई फसेको भान भयो ।
ओलीद्वारा राष्ट्रघात र चर्चको कार्यक्रममा सेनाको दुरुपयोग गरिएको आरोप
काठमाडौँ– विवादास्पद एशिया प्यासिफिक शिखर सम्मेलन–२०१८ समाप्तिपछि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र खैलाबैला बढेको मात्र छैन, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एउटा चर्चको कार्यक्रममा सहभागीको शान र सौकतका लागि कुटनीतिक मर्यादा र राष्ट्रिय सेनाको समेत दुरुपयोग भएको आरोप ओइरिन थालेको छ।
सत्ताधारी नेकपाका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री भीम रावलले चर्चको कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्रीले विदेशी राष्ट्र प्रमुख तथा विशिष्ट व्यक्तिलाई निम्तो दिन एकनाथ ढकाललाई प्रयोग गरेको आरोप लगाएका छन्। ‘प्रधानमन्त्रीले एउटा चर्चसँग निजी तथा गोप्य सम्बन्ध राख्न मिल्दैन,’ रावलले भने। आफूले सुरुदेखि नै चेतावनी दिँदै आए पनि त्यसलाई बेवास्ता गरी एउटा विवादास्पद संस्थासँग सरकारले सहकार्य गर्नु र उनीहरुबाट प्रधानमन्त्रीले इनाम स्वीकार गर्नुले राष्ट्रको मनोबल गिरेको पनि रावलले बताए।
अर्का पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले अनौपचारिक भ्रमणमा आएका कुनै पनि ‘अतिथि’लाई नेपाली सेनाको ‘गार्ड अफ अनर’ दिने परम्परा नभएपनि ओली सरकारले नयाँ परम्परा सुरु गरेको आरोप लगाएका छन्।
म्यानमारकी स्टेट काउन्सिलर आङ सान सूची र कम्बोडियाली प्रधानमन्त्री हुन सेनलाई नेपाली सेनाद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गार्ड अफ अनर’ दिइएको र रक्षामन्त्री ईश्वर पोखरेल स्वयं त्यहाँ उपस्थित थिए।
तर, नेपाली सेनाले सरकारको आदेशमा गार्ड अफ अनर दिइएको बताएको छ। ‘दुवैको यात्रालाई औपचारिक यात्राको हैसियत’ प्रदान गरिएकाले गार्ड अफ अनर दिएको नेपाली सेनाका प्रवक्ता रथी गोकुल भण्डारीले देशसञ्चारलाई बताएका छन्।
राजा वीरेन्द्र अनौपचारिक भ्रमणमा विदेश जाँदा र फर्कदा विमानस्थलको भीभीआईपी गेट प्रयोग नगर्ने र गार्ड अफ अनर नदिने नेपाली सेनाको परम्परा चर्चका डेलिगेटको सम्मानमा तोडिएको टिप्पणी गर्दै जोशीले आक्रोश व्यक्त गरेका छन्।
‘२०५७ सालमा राजा वीरेन्द्र चीनबाट फर्कदा अनौपचारिक यात्रा भएकाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र म उहाँलाई स्वागत गर्न विमानस्थल पुगेका थियौँ, अरु कुनै तामझाम थिएन,’ जोशीले देशसञ्चारसँग भने।
यस पटक सरकारले हुन सेन र आङ सान सूचीलाई मात्र सलामी दिएपनि एशिया प्यासिफिक शिखर सम्मेलनका उच्च पद र ओहोदाका विदेशी सहभागीको सुरक्षामा पनि नेपाली सेना खटाएको जानकार स्रोतले दावी गरेको छ।
फिलिपिन्सका उपराष्ट्रपति सोमबार बिहान राजधानीस्थित नर्भिक अस्पताल प्रांगण र पार्किङमा नेपाली नेपाली सेनाको बाक्लो उपस्थिति थियो।
यी सबै राजकीय त्रुटीहरुको जवाफदेही खोजिँदै र ओलीको आलोचना चुलिँदै गर्दा पार्टीका उनका निकटस्थहरु पनि आक्रोशित भएका छन्।
‘माधव नेपालले ओलीलाई फसाए,’ पार्टीका एक जना उच्च पदाधिकारीलाई उद्धृत गर्दै नेकपाका एक अर्का बौद्धिक नेताले देशसञ्चारलाई भने। तर, नेपाल समर्थकहरु यो बैठकको आयोजनाको प्रारम्भिक बहसदेखि नै ओलीको ‘पिक्चर’मा रहेको दावी गर्छन्।
एकनाथ ढकाललाई समानुपातिक कोटाबाट संघीय संसदमा ल्याउने निर्णय ओलीकै भएको पनि नेपाल निकट स्रोतले बतायो।
खासगरी, गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रशासन राजधानीका बिजुलीका खम्बाहरुमा टाँसिएका ओलीका तस्बिरमुनि टाँसिएका निर्मला पन्तका फोटो च्यातिएकोमा आलोचित बनिरहेकै बेला प्रहरी प्रवक्ताले भने विदेशी पाहुनाहरु समक्ष मुलुकको नकारात्मक छवि प्रस्तुत नगर्ने उद्देश्यले त्यसो गरिएको बताएका छन्।
ओलीका फोटोहरु सामाजिक सुरक्षा कोष परियोजनाका सन्दर्भमा छापिएका र खम्बाहरुमा टाँसिएको भएपनि अन्तर्राष्ट्रिय सम्मेलनका समयमा ‘प्रचारबाजी’का लागि त्यसो गरिएको दावी उनका आलोचकहरुको छ।
साभारः deshsanchar
Views: 0