भारतीय नोट नचल्ने भएपछि सुदूरपश्चिमवासीलाई समस्या

२०७५ मंसिर २९, शनिबार २०:०२ गते २०७५ मंसिर २९, शनिबार २०:०२ गते २०७५ मंसिर २९, शनिबार २०:०२ गते

भारतीय नोट नचल्ने भएपछि सुदूरपश्चिमवासीलाई समस्या

डोटी – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोटहरु नसाटिँदा स्थानीयलाई समस्या भएको छ ।

सरकारले एकाएक भारतीय २ सय, ५ सय र २ हजारका नोटहरु नचलाउने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका स्थानीयवासी समस्यामा परेका हुन् । कामका लागि भारतका विभिन्न शहर गएका सुदूरपश्चिम प्रदेशका स्थानीयहरुले घर फर्किँदा ल्याएका भारतीय नोटहरु अहिले नसाटिने भएपछि उनीहरु निकै समस्यामा परेको डोटीका स्थानीय चेतराज भट्टले बताउनुभयो ।

‘भारत गएकाहरुले पुरै भारतीय नोट ल्याएका छन् । सरकारले नसाट्ने भनेपछि समस्या भएको छ’, उहाँले भन्नुभयो, ‘हामीले कमाएर ल्याएको सम्पति काहाँ गएर साट्ने ।’ त्यस्तै दिपायलको पिपल्लामा रहेको किरण इलेक्ट्रोनिकका प्रोपाइटर किरण भण्डारीले आफू कहाँ दैनिक दजनौं ग्राहकहरु भारु रुपैयाँ लिएर आउने गरेको बताउनुभयो ।

‘कुनै पनि सामान किन्दा भारु रुपैयाँ दिन्छन्, सरकारले चल्दैन । भारु भनेको छ, दैनिक ग्राहक फर्काउनु परेको छ’, उहाँले भन्नुभयो, ‘केही चिनेजानेका व्यक्तिले भारु साटिए नेपाली नोट दिनु होला भनेर रकम छोडेर गएका छन् । कहाँ गएर साट्नु आफै अलमलमा परेको छु ।’

सुदूरपश्चिमका अधिकांश स्थानीयहरु कामका लागि भारत जाने र उनीहरुले त्यहाँ कमाएको रकम भारतीय रुपैयाँ नै ल्याउने गरेका कारण यहाँको प्रदेशमा बढी जसो भारतीय रुपैयाँको कारोबार हुने गरेको दिपायलका अर्का स्थानीय तथा पूर्व नगर प्रमुख घनश्याम पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्रदेशका अधिकांश जिल्लाहरुमा प्रायः भारतीय रुपैयाँको कारोबार हुन्छ । सरकारले त्यही भारतीय रुपैयाँ नचल्ने भनेपछि समस्या त हुने नै भयो नि ।’ सुदूरपश्चिम प्रदेशका बैतडी, अछाम, बझांङ, बाजुरा, दार्चुला, कैलाली, कञ्चनपुर तथा डोटीका स्थानीयवासीहरु प्रायः कामका लागि भारत जाने गर्दछन् । यहाँका कतिपय जिल्लाहरुमा त नेपाली नोट भन्दा पनि भारतीय नोटको बढी कारोबार हुँदै आएको स्थानीयवासीहरु बताउँछन् ।

बजारमा भारतीय रुपैयाँ चल्न छाडेपछि यहाँको व्यापार व्यवसायमा पनि निकै कमी आएको दिपायल पिपल्लाका स्थानीय व्यापारी तुलसी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अधिकांश ग्राहक भारतीय रुपैयाँ लिएर सामान किन्न आउछन् । सरकारले नचल्ने भनेपछि हामीले भारु रुपैयाँमा सामान दिँदैनौं । सामान नदिँदा व्यापार घटेको छ ।’

डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कानुनी रुपमा नसाट्ने भनिएको भारतीय रकम कही कतै साट्न नहुने बताउनुभयो । ‘कानुनले नसाट्नु भनेको रकम साट्नु वा चलन चल्ति गर्नु भनेको गैरकानुनी हो’, उहाँले भन्नुभयो, ‘गैरकानुनी रुपमा नेपालमा रकम साट्नुभन्दा बरु भारत तिरै लगेर साट्न उपयुक्त होला ।’
source:ujyaaloonline.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *