काठमाडौं। बिहानै उठेर पशुपति जाने र पशुपतिनाथ महादेवको दर्शन गरेर आउने चाबहिलमा बस्दै आएकी रुपमाया अधिकारीको दैनिकी हो। उनी ७३ वर्षकी भइन्। उनलाई पशुपतिनाथको दर्शन नगरी खाना खान मन लाग्दैन।
पुख्र्यौली घर नुवाकोट बताउने रुपमाया अहिले चावहिलमा छोरा बुहारीको घरमा बस्दै आएकी छिन्। रुपमाया पशुपतिमा निशुल्क सफा इलेक्ट्रिक टेम्पो चढेर दर्शन गर्न पाउँदा दंग छिन्। उनी भन्छिन्, ‘आहा! गज्जब गरिदियो हामीलाई मन्दिरले। माथिदेखि म बुढी मान्छे हिडेर आउन निकै गाह्रो पथ्र्यो, बल्ल हामी जस्ता बुढाबुढी अशक्तहरुलाई मन्दिरले धर्म गरिदिएको छ।’
आइतबार बिहानै पशुपतिमा टेम्पोबाट ओर्लिँदै गर्दा भेटिएकी झापाकी प्रशंसा कार्की निकै खुसी देखिन्थिन्। उनी भने पशुपतिनाथको दर्शन गर्न पहिलो पटक काठमाडौं आएकी हुन्। उनीसँगै प्रशंसाको सानो बच्चा उनका सासु र ससुरा पनि थिए। उनीहरु सार्वजनिक बसबाट झरेपछि चार शिवालय नजिकै हिँड्दै थिए।
उनीहरु पशुपतिनाथ मन्दिर भित्रसम्म हिँडेरै जाने तयारीमा थिए। बुढाबुढी र बच्चासहित जान समस्या भइरहेको थियो। प्रशंसाले भनिन्, ‘हिँडेर भित्रसम्म जान बुबा आमा र बच्चासँग मलाइ समस्या भइरहेको थियो टेम्पो आयो। भित्रसम्म जान पाइन्छ भनेपछि खुसी लाग्यो हामी टेम्पोमा आयौँ निकै सजिलो भयो।’
वैशाखी टेकेर पशुपति पुगेका काठमाडौं कपनका मणिराम उप्रेती पनि निकै दंग देखिन्थे। पशुपतिनाथको दर्शन उनलाई नशा जस्तै लागेको छ। उनी भ्याएसम्म दैनिक जसो मन्दिरमा आउँछन्। साँझ पनि उनी आरतीको समयमा पशुपतिमा धेरै जसो आउँछन्।
मणिराम भन्छन्, ‘बिहान माथिसम्म टेम्पो चढेर आउन पाइन्छ भनेर पर्खेर बस्छ । दुईवटामात्र टेम्पो छन्। अलि समय कुरेपछि टेम्पो चढेर नै आउँछु, साँझ टेम्पो चल्दैन हिड्नै पर्छ। जसोतसो हिडर आउँछु।’
विश्व सम्पदा सूचिमा सूचिकृति पशुपतिनाथ मन्दिरमा विश्वका विभिन्न देशबाट भक्तजन आउँछन् । विभिन्न देशका धर्मावलम्बीले पशुपतिनाथको दर्शन गर्न पाए जन्म सिद्ध हुन्छ भन्ने विश्वासले पशुपति दर्शन गर्न आउने दर्शनार्थी निकै ठूलो संख्यामा भेटिन्छन्। जसमध्ये पनि बृद्धबद्धा र अपांग अशक्तको संख्या निकै ठूलो पाइन्छ।
पशुपति क्षेत्र विकास कोषले एक वर्ष अगाडि पशुपति क्षेत्रमा सवारी साधन प्रवेश निशेष गरेसँगै बनकाली, उमाकुण्ड, चारशिवालयदेखि नै भक्तजन हिडेर आउनुपर्ने बाध्ता थियो। जसबाट सबैभन्दा प्रभावित अपांग, अशक्त, बृद्धबृद्धा भएका थिए।
यसै समस्यालाई मध्यनजर गर्दै गत असोज १३ गतेदेखि लक्ष्मी बैंकको सहयोगमा दुईवटा निःशुल्क विद्युतीय टेम्पो पशुपति क्षेत्र विकास कोषले सञ्चालनमा ल्याएको छ। टेम्पो विहानै ६ बजे देखि दिउँसो २ बजेसम्म सञ्चालनमा आउँछन्। जाडोको समयमा भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्र टेम्पो चलाउने गरेको कोषले बनाएको छ।
कोषले सञ्चालनमा ल्याएको टेम्पो चारशिवालय चोक, वनकाली देखि मोटरपार्किङ सम्म चल्ने बताउँछन् पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुली।
दुईवटा टेम्पोले पुग्ला त ?
दैनिक जसो हजारौँको संख्यामा पशुपतिनाथको दर्शन गर्न दर्शनाथी आउने गरेका छन्। तर पशुपति क्षेत्र विकास कोषले सञ्चालनमा ल्याएका दुईवटा टेम्पो कता पुर्याउने कता नपुर्याउने समस्या भएको बताउँछिन् टेम्पो चालिका कान्छी तामाङ।
पहिले कोषमा नै कार्यालय सहायकको रुपमा काम गर्दै आएकी कान्छी तामाङ हाल टेम्पो सञ्चालन भएदेखि नै टेम्पो चलाउँदै आएकी छिन्।
कान्छी भन्छिन्, ‘पहिले नै एउटा एनजीओले टेम्पो चालक सम्बन्धी तालिम दिएको थियो पशुपति विकास कोषमा काम गर्नुभन्दा पहिला म चालकको रुपमा काम गर्थे आफ्नै सीप अनुसारको काम गरौँ न भनेर फेरि सुरु गरेको हो।’dcnepal
Views: 0