रामबहादुर बमजनको आश्रमबाट हराएको भनिएकी एकजना अर्की आनी रीता बोटकी आमाले आफ्नी छोरीलाई अन्तिम पटक देखेको क्षण आजसम्म भुल्न सकेकी छैनन्।
त्यस घटनाको ९ वर्ष बितिसकेको छ र नेपाल प्रहरीले बमजनको आश्रमहरूबाट हराएका भनिएका व्यक्तिहरूको खोजी गरिरहेको छ।
यसरी हराउनेहरूको सूचीमा दुई साता अघि मात्र जोडिन आइपुगेकी आनी रीताकी आमा सोमतीले बीबीसी नेपाली सेवासँगको कुराकानीमा ९ वर्षअघि छोरी हराएपछि बमजनले, ‘प्रहरीलाई खबर नगर्नु म आफै खोजेर ल्याउँछु’ भनेको बताएकी छिन्।
तर, बमजनको प्रवक्ताले भने आफूले पहिलो पटक आनी रीताको नाम सुनेको भन्दै उक्त आरोपको खण्डन गरेका छन्।
उनको आश्रमबाट हालसम्म पाँचजना व्यक्तिहरू हराएको भन्ने उजुरीहरू विभिन्न प्रहरी कार्यालयहरूमा दर्ता भइसकेका छन्।
सोमतीले प्रहरीमा उजुरी गरेपछि बीबीसी नेपाली सेवाले रीताकी आमा र दिदीसँग सम्पर्क गरी रीता हराउँदाको अवस्था बारे कुराकानी गरेको गरेको थियो।
‘प्रहरीलाई खबर नगर्नू भने’
त्यसक्रममा रीताकी दिदी सीताले भनिन्, “बमजनसँग कुरा गर्ने क्रममा हामीले पुलिसलाई खबर गरौँ भन्दा उनले अप्ठ्यारो हुन्छ खबर नगरौँ भने। उनले प्रहरीलाई खबर नगर्नू कि नगर्नू भने। म जसरी पनि रीतालाई खोजेर ल्याउँछु भने। अनि हामी अहिलेसम्म चुपचाप नै बस्यौँ।”
रीता बोटकी दिदी सीता
बहिनीले बमजनको कुरामा लागेर आफ्ना फोटोहरू र कपडा लगायत सबै प्रमाण मेटाएर बमजनसँगै गएपछि उनी आजसम्म सम्पर्कमा नआएको उनले बताइन्।
हराएकी रीता बोटको खोजी गर्न परिवारजन चारैतिर भौँतारिए।
परिवारले काठमाण्डूसम्मै पुगेर खोजबिन गर्दापनि रीता फेला नपरेको उनीहरूले बताए।
रीता आफ्नो घर नफर्केको बताउँदा पनि बमजनले विश्वास नलागी स्वयम् नै दुई पटकसम्म सर्लाहीस्थित घरमा खोज्न आएको उनीहरू बताउँछन्।
त्यसपछि बारम्बार छोरीलाई खोज्न वा ‘मरेको भएपनि एकपटक मुख देखाइदिन’ आग्रह गर्दा बमजन आफ्नो घर नै आउन छाडेको सोमतीले बताइन्।
बोधी श्रवण धर्म संघका प्रवक्ता मणि लामाले भने आफूहरूले बोटको नाम पहिलो पटक सुनेको बताए।
उनले भने, ”गुरुले आश्रममा बसेका अनुयायीहरूलाई निकै कम भेट्नुहुन्छ। कहिलेकाहीँ महिनौँसम्म उहाँलाई भेट्न अप्ठ्यारो हुने अवस्थामा कसैको घरमै जाने आउने गरेको भन्ने कुरो पत्याउन सकिन्न,” लामाले बीबीसी नेपाली सेवासँग भने। हाल बमजन माथि भइरहेको चौतर्फी प्रहार उनको चरित्र हत्या गर्न तर्फ लक्षित रहेको समेत उनले दाबी गरे।
बमजमसँग भेट
२०६५ सालको गढीमाईको मेलाका बेला मारकाट बन्द गराइछाड्ने प्रतिबद्धता सार्वजनिक गरेका बमजन त्यसबेला सर्लाहीस्थित रीताको घरमा आएको बोट परिवारको दाबी छ।
उनीहरूका अनुसार बमजन र रीताले त्यतिबेला ‘एक अर्कालाई मन पराएको’ बताएका थिए।
बमजनले आफूहरू रीताको वाग्मती नगरपालिकामा पर्ने काजिराम टोल आएको कुरा कसैलाई नभन्न अनुरोध गरेको र आफूहरूले पनि त्यस्तै गरेको उनीहरूको दाबी छ।
रीताकी दिदी सीताले बीबीसी नेपाली सेवासँग भनिन्, “बहिनीले हामीले एक अर्कालाई मन पराइसक्यौँ भनिन्। दुईजना एक भइसक्यौँ भनिन्। हामीले विश्वास गर्यौँ। हामीले उनी राम्रै मान्छे होलान् भन्ठान्यौँ।”
त्यतिबेला उनीहरूकी आमा सोमती बोट वस्तुभाउ हेर्न र घाँस दाउरा गर्न व्यस्त थिइन्।
रामबहादुर बमजनलाई आफूसँगै लिएर आएकी छोरीलाई ‘नचिनेको कसलाई लिएर आएको?’ भनेर प्रश्न गर्दा रीता बोटले आफूले ‘भगवानलाई लिएर आएको’ बताएको सोमतीले सुनाइन्।
दुई–तीन महिनामा घर आउने रीता २०६६ सालयता परिवारको सम्पर्कमा छैनन्।
आफ्नी छोरीजस्तै अन्य व्यक्तिहरू पनि बमजनको आश्रमबाट हराएको भन्ने समाचारहरू आएपछि भने सोमतीले नेपाल प्रहरीमा हालै उनको खोजतलास गरिदिन माग गर्दै उजुरी दिएकी छन्।
बमजनम आबद्ध संस्थाले भने उनीविरुद्धका आरोपहरू आधारहीन र असत्य रहेको बताउँदै आएको छ।
नेपाल प्रहरीले चाहिँ रीता बोट र बेपत्ता भएका भनिएका अरुहरूको सम्बन्धमा पनि चारवटा उजुरी परिसकेको र उनीहरूको खोजतलास शुरु भइसकेको बताइरहेको छ।
रामबहादुर बमजनसँगै गएकी छोरी घर नफर्किएको भन्दै अर्को उजुरी
‘लिटिल बुद्ध’ रामबहादुर बमजनको आश्रममा प्रहरीको छापा
परिवारका दस्यहरूका अनुसार वाग्मती नदी किनारको गाउँमा सामान्य कृषि पेसा गर्दै आएको विपन्न बोट परिवारमा जन्मिएकी रीताले विद्यालय तहको अध्ययन पनि पूरा गरेकी थिइनन्।
उनी सानैदेखि धर्मकर्ममा आस्था राख्ने गर्थिन्।
घरमा थुप्रै भगवान्का फोटोहरू आफ्नो कोठामा राख्ने गरेकी थिइन्।
तर बमजन उनको जिन्दगीमा आएपछि ‘उनलाई नै भगवान् भन्दै सबै फोटो जलाएकी’ उनकी दिदी सीता बोटले बताइन्।
त्यतिबेला रीताले आफ्ना सबै फोटो र कपडाहरू पनि जलाएको उनले बताइन्।
उनका अनुसार २०६६ सालमा अन्तिम पटक बमजनसँगै घर आएको र एक महिना बसेपछि दुवैजना सँगै घरबाट हिँडेका थिए।
तर त्यसको केही महिना बित्ने बित्तिकै कथाले अर्कै मोड लियो।
एक दिन बमजनले बोट परिवारलाई फोन गरेर ‘रीता आश्रमबाट हिँडेको’ भनेर खबर गरे।
तर उनी घर फर्किएकी थिइनन्।
सीता बोटले भनिन्, “बहिनी घर आएकी थिइनन्। हामीले प्रहरीलाई जानकारी दिने कि भनेर सोच्यौँ।”
उनले भनिन्, “बमजनले फोन गरे र सोधे ‘रीता माइत जान्छु भनेर हिँडेकी थिइन् पुगिन् कि पुगिनन्’? हामीले आएकी छैनन् भनेर भन्यौँ।”
उनका अनुसार त्यसलगत्तै बमजन आफैँ घरमा आएर चारैतिर हेरे।
परिवारका दु:ख
आफूलाई ‘असाध्यै माया गर्ने कान्छी छोरी’ वर्षौँदेखि हराएपछि खोजेपनि नभेट्ने घरपनि नआउने अवस्था रह्यो। त्यही पीडा र तोडका कारण बाबु हर्कबहादुरले धेरै रक्सी खान थाले। तीन वर्षअघि उनको स्वास्थ्य अवस्था निकै खराब भयो। उपचार सम्भव नभएपछि उनको मृत्यु भएको दिदी सीता बोटले बताइन्।
दाजुभाइलाई कम पीडा छैन। उनको एक दाजु ‘पैसा कमाउन’ भन्दै विदेश गएका छन्। बहिनी हराएपछि निकै चिन्ता लागेको र घरमा रुवाबासी निरन्तर चलिरहेको रीता बोटाको घर बस्ने दाइले बताए।
गाउँका अरु किशोरीहरू पनि आनी बन्न चाहन्छन्
सर्लाहीको वाग्मती नदी नजिकैका खेतबारी माझ करिब २५ घरहरू रहेको सानो बस्ती नै रीता बोटको गाउँ हो। छरछिमेकमा तामाङ, मगर र माझी समुदायका मानिस पनि बस्छन्। वाग्मती नगरपालिकाको वडा नम्बर १२ मा अवस्थित यो गाउँलाई काजिराम टोल भन्ने गरिएको छ।
यहाँका मानिस खेतीपाती गरी जीविका चलाउँछन्। चारैतिर हरियाली नै हरियाली छाएको ठाउँको बीच भागमा हराएकी आनी रीताको काठ र माटोले बनेको दुईतले घर छ। वरिपरि आफन्त र छिमेकीका घर छन्।
रीता बोटका दुई आमा छन्। उनी ९ सन्तान मध्ये कान्छी हुन्।
यो गाउँका अन्य किशोरीहरू पनि स्वघोषित धर्मगुरु रामबहादुर बमजनको आश्रममा गएर आनी बन्न चाहने गरेको पाइएको छ। हालै यही गाउँका १७ र १८ वर्षका दुई किशोरी आनी बन्न बाराको हलखोरिया गाउँ पुगेका थिए। तर उनीहरू फर्किए।
एक किशोरीले भनिन् “आश्रमको वातावरण राम्रो छैन। हामीलाई गाली गर्ने र कुटपिट गर्ने काम समेत भयो। यहाँ दुर्व्यवहार हुन्छ भनेर अरू आनीले सम्झाएपछि हामी भागेर आयौँ। पछ्याउँदै हामीलाई लिन गाडी गाउँमा आयो तर हामी गएनौँ।”
झीनो आशाको त्यान्द्रो
हालै विभिन्न सञ्चारमाध्यममा रामबहादुर बमजनको आश्रममा विभिन्न मानिस बेपत्ता भएको र अन्यायमा परेको भन्ने विषयमा समाचारहरू बाहिर आएपछि बोट परिवारले पनि प्रहरीको ढोका ढक्ढक्याएको हो। रीताकी आमा सोमतीले सर्लाहीको हरिऔनस्थित प्रहरी चौकीमा गएर उजुरी हालेकी हुन्।
रीताको खोजीका लागि उजुरी परेपछि खोजबिन भइरहेको प्रहरीले जनाएको छ।
रीताका बुबा बितिसकेका छन् तर आमा सोमती बोटले छोरी घर फर्किने आशा पूरै त्यागिसकेकी छैनन्।
आँखाभरि आँसु लिएर रीता बोटकी ६० वर्षीया आमा सोमतीले भनिन्, “१९ वर्षको उमेरमा हराएकी छोरी २९ वर्षको उमेर पुग्ने बेलामा समेत फेला नपर्दा जिउँदो पनि छ कि छैन भन्ने चिन्ता लागेको छ। चाडवाड, रमाइलो बेला कान्छीको झलझली सम्झना आइरहन्छ।”
Views: 0