टर्कीको ऐतिहासिक शहर इस्तानबुलको एउटा नगरपालिकाले सभ्य महिलाले आइसक्रिम खान नहुने भन्ने नियम जारी गरेपछि विवाद सुरु भएको छ । नगरपालिकाले महिलाहरूलाई कसरी ‘सुसंस्कृत’ बन्ने भनेर केही नियमहरू जारी गरेको छ, जसमा उनीहरूले चाट्दै आइस्क्रीम खान नहुने बताइएको छ । नियममा भनिएको छ, “यस्तो गर्नु भद्दा लाग्दछ ।”
उता सामाजिक संजाल प्रयोगकर्ताहरूले यस नियमलाई महिलाको स्वतन्त्रतामाथिको आक्रमण भन्दै आलोचना गरिरहेका छन् ।
दुई महिने पाठ्यक्रम तैयार
इस्तान्बुल्को बागसिलर नगरपालिकाले महिलाहरूलाई ‘संस्कार’ सिकाउने दुई महिने पाठ्यक्रम समेत सार्वजनिक गरेको छ । यसमा युवतीहरूलाई सार्वजनिक स्थलहरूमा कस्तो व्यवहार गर्ने भन्नेबारे प्रवचनहरूको शृंखला राखिने बताइएको छ ।
नगरपालिकाका अनुसार इस्तान्बुलका सभ्य महिलाहरूलाई पारम्परिक लोकाचार आउनु पर्दछ । उनीहरूलाई विनम्र रहन, भान्साघरको काममा निपुण रहन जस्ता कामहरू समेत यस पाठ्यक्रममा सिकाइने बताइएको छ । साथै उक्त पाठ्यक्रममा महिलाहरूले पुरै मुख खोलेर कुरा गर्न नहुने भन्ने समेत सिकाइने बताइएको छ ।
सामाजिक संजालमा प्रश्न- आइसक्रिम चाट्न नहुने भए खाने तरिका के ?
नगरपालिकाले प्रस्तावित गरेका नियमहरूबारे सामाजिक संजालमा बहस सुरु भएको छ । एउटा ग्रुप ‘लेडीज गाइडमा लेखिएको छ, “ठीक छ, महिलाहरूले आइसक्रिम चाट्नु हुँदैन । तर यसो गर्नु खराब कसरी भयो भन्नेबारे पनि केही भन्नु नि !” ग्रुपमा एक जनाले लेखेका छन्, “अचम्मको कुरा केही मानिस महिलाले आइसक्रिम खाएको देखेर पनि भयभीत छन् ।”
ट्विटरमा एक जनाले लेखेका छन्, “आइसक्रिम चाट्नु हुन्न भने यसलाई खाने सही तरिका पनि त भन्नु पऱ्यो ।” एक अर्को प्रयोगकर्ताले लेखेका छन्, “त्यसो भए पुरै आइसक्रिम मुखभित्र कोच्ने या अरु कुनै तरिका छ ? भनिदिनु पऱ्यो ।” एक जना भन्छन्, आफू त आइसक्रिम चाटेरै खाने हो, कृपया यस विषयमा ज्ञान नदिनु होला ।”
बस यात्रामा धेरै नबोल
त्यस्तै नगरपालिकाले जारी गरेको अर्को नियम अनुसार महिलाहरूले चुइङ्गम चपाउनु र बस यात्राको क्रममा फोनमा लामो वार्तालाप गर्नुलाई समेत ‘असभ्य’ कामको श्रेणीमा राखेको छ । उनीहरूलाई फोहोर शब्द उच्चारण नगर्न भनिएको छ । त्यसका साथै महिलाहरूलाई पहिलो पटक कुनै पुरुषलाई भेट्दा उनको विवाह भए नभएको या बच्चा कति छन् जस्ता प्रश्न समेत सोध्न नहुने भनिएको छ ।
महिलाहरूलाई ‘सुसंस्कृत’ बन्ने तालिम दिन गणितकी प्राध्यापक आरजु अरदालाई आमन्त्रित गरिएको छ । अरदा भन्छिन्, “हाम्रो धर्म, परम्परा र संस्कृतिमा निरन्तर ह्रास आइरहेको छ । समाजबाट शिष्टाचार र विनम्रता कम हुँदै गइरहेको छ । आशा छ स्थितिमा परिवर्तन आउनेछ ।”
Views: 0