रौतहट — चन्द्रपुर ४ का आनन्द दाहालले उधारो खाएर नतिर्नेहरूलाई ‘धन्यवाद’ भनेर ग्राहकको लिस्ट सार्वजनिक गरे । शुक्रबार दिनभरि लिस्ट सामाजिक सञ्जालमा भाइरल बन्यो ।
केहीले हतारमा उधारो पैसा तिरे । केहीले दाहाललाई सार्वजनिक बेइजत गरेको भन्दै धम्क्याए ।
Yamaha
चन्द्रनिगाहपुर चोक नजिक दाहालले ज्वाइँ जेठान होटल खोलेका छन् । उनको होटल नास्ताका लागि प्रख्यात छ । नास्ता खाने ग्राहकले लामो समयसम्म रकम नतिरेको भन्दै उनले लिस्ट तयार गरी बाहिर सार्वजनिक रूपमा टाँसे । ‘उधारो खाएर नतिर्ने महानुभावहरूको प्रचार गर्न पाए,’ लिस्टको माथिल्लो भागमा दाहालले लेखेका छन् ।
उधारो लिस्टका बारे संगम महतले यसमा केही भन्नु छ, भनेर टिट गरेका छन् । केहीले सामाजकि सञ्जालमा पोस्ट गरेका छन् । लिस्ट सार्वजनिक भएपछि केहीले रकम तिरेको दाहालले सुनाए । नास्ता खाएर नतिर्ने लिस्टमा कांग्रेसका नेतादेखि वडा अध्यक्ष र ट्रक व्यवसायी संघ समेत परेको छ । दिनभरी हड्डी घोटेर सेवा गरे बापत उधारो राख्नेहरूसित रकम माग्दा उल्टै धम्की दिने गरेपछि लिस्ट सार्वजनिक गरेको दाहालले सुनाए ।
‘चन्द्रपुर, गरुडा र गुजरा लगायतका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू समेत उधारो खानेमा परेका छन्,’ उनले भने, ‘सबैको लिस्ट तयार पारी सार्वजनिक गर्छु, ।’ १५ वर्षदेखि नास्ताको होटल गर्दै आएका दाहालको २० लाख बढी उधारो रहेको छ । लिस्ट सार्वजनिक गर्छु भनेपछि आधा जसो उठाइसकेको उनले सुनाए ।
गरडा नगरपालिकाका वडा अध्यक्ष चुनचुन साहको नाममा २ हजार ५ सय उधारो रहेको देखाइएको छ । साहले कसैको एक रूपैयाँ पनि नखाएको बताए । ‘लिस्ट सार्वजनिक गरेको सुन्दा दु:ख लागेको छ,’ उनले भने, ‘कम्तीमा एकपटक जानकारी गराएको भए राम्रो हुन्थ्यो । त्यसै बेला तिर्न बाँकी छैन भनेको थियो । अहिले बेइजत गर्ने काम भयो ।’
ट्रक व्यवसायी संघका अध्यक्ष धु्रव अर्यालको नाममा २ हजार ५ सय उधारो रहेको जनाइएको छ । लिस्ट सार्वजनिक भए लगत्तै उनले रकम भुक्तानी गरेको दाहालले सुनाए । कांग्रेसका स्थानीय नेता लेखनाथ कोइरालाको नाममा १० हजार उधारो रहेको उल्लेख छ । गौरका बजरंगी भाइजान ठेकेदारको नाममा २ हजार १ सय बाँकी रहेको उल्लेख छ ।
नास्ता खाएर बाँकी राखिएको रकम माग्दा दिन आनाकानी गरेपछि लिस्ट सार्वजनिक गरेका हुन् । चन्द्रनिगाहपुरका केही वडा अध्यक्ष र ठूला नेताहरू समेत खाएर नतिर्ने लिस्टमा रहेको दाहालले बताए ।
‘बिस्तारै सबैको नाम सार्वजनिक गर्छु,’ उनले भने, ‘राम्रो सँग माग्दा नदिएपछि यस्तो नीति अपनाएको हुँ ।’ लिस्ट सार्वजनिक भएपछि केहीले ज्यान मार्ने धम्की दिएको उनले जनाए ।
Views: 0