नझुक्किनुहोस् ! यो गोठ होइन, वडा कार्यालय हो !! पुराहेरी सेयर गरौ

२०७५ माघ १५, मंगलवार १६:०४ गते २०७५ माघ १५, मंगलवार १६:०४ गते २०७५ माघ १५, मंगलवार १६:०४ गते

रुकुम पश्चिम – स्थानीय तहको चुनावपछि बनेका स्थानीय सरकारका भौतिक संरचना कस्ता हुनुपर्छ ? गोठमा वडा कार्यालय सञ्चालन गरेर सेवा दिन सकिएला ?

तपाईँलाई गोठमा वडा कार्यालय सञ्चालन भएको छ भन्दा अनौठो लाग्ला तर रुकुम पश्चिमको एक वडा कार्यालय गोठमा सञ्चालन गरिएको छ जहाँ वर्षाको समयमा पानीबाट जोगाउन छानोमा त्रिपाल टाँगिएको छ । हेर्दा गोठभन्दा अलग देखिन्न । साघुँरो, असजिलो । छानोमा राखेको खर कुहिएर छानो चुहिने भएको छ । अलिअलि बाँकी रहेको खरले पानी छेक्न नसकेपछि पानी छेक्न छानामा त्रिपाल राखिएको छ ।

त्यही त्रिपालले वर्षामा पानी छेकेको हो । घाँस उम्रिएर छानो खरबारी जस्तो पनि देखिन्छ । भित्ताले पनि घरको भार जसो तसो थामेको छ । झट्ट हेर्दा लाग्छ यो वर्षौदेखि मान्छे बस्न छाडेको घर हो ।
यही जीर्ण घरमा गएको एक वर्षभन्दा लामो समयदेखि पश्चिम रुकुमको एक नगरपालिकाको वडा कार्यालयले नेगरिकलाई सेवा दिइरहेको छ भन्दा विश्वास नै लाग्दैन । तर मुसिकोट नगरपालिका वडा नम्बर १० को कार्यालय यस्तै घरमा भाडा लिएर सञ्चालनमा रहेको छ ।

वडा कार्यालयले त्यहीँबाट सेवा प्रदान गरे पनि घरको मर्मत सम्भार भएको छैन । वडा कार्यालयले जोखिम मोलेरै यसै घरबाट सेवा दिइरहेको छ । साविकको चौखावाङ गाविसका ४ वडा मिलेर यो वडा बनेको हो ।
साविकको वडा नम्बर ६ खड्का टोल, वडा नम्बर ७ दलित टोल, वडा नम्बर ८ खर्सुपानी, चौर र वडा नम्बर ९ गलम्पाटी मिलेर अहिलेको १० नम्बर वडा बनेको हो । सबैको पायक पर्ने ठाउँमा भएकाले त्यही घरमा वडा कार्यालय बनाएको वडाध्यक्ष गोप्यश्वर केसीले बताउनुभयो ।

वडा कार्यालयका लागि अन्य कुनै घर नभएको र तत्काल नयाँ भवन बनाउन सम्भव नभएपछि जोखिम छ भन्ने जान्दा–जान्दै स्थानीय पञ्चाराम बुढाको जीर्ण घर भाडामा लिएर वडा कार्यालय राख्न बाध्य भएको उहाँले स्पष्ट पार्नुभयो ।
वडा अध्यक्ष केसीका अनुसार वडावासी सबैको पायक पर्ने त्यही ठाउँ भएका कारण बाध्य भएर जीर्ण घरबाटै सेवा प्रदान भइरहेको छ । पुरानो भैसकेको छानोले पानी छेक्न नसकेपछि छानामाथि त्रिपाल राखिएको छ ।
यस वर्षको वर्षा त्यही त्रिपालले धानेको वडा सदस्य धनबहादुर खड्काले बताउनुभयो । ‘बर्खामा छानो फेर्न सक्ने अवस्था पनि रहेन, छानो पुरानो भैसकेको छ, पानी छेक्न सक्ने अवस्था छैन्’, उहाँले भन्नुभयो, ‘त्रिपाल राखेर जसो–तसो यस वर्षको वर्षा कटाइयो ।’

पानी चुहिने भएपछि घर भत्किने हो कि भन्ने डरमा पनि सेवा दिएको समेत उहाँले बताउनुभयो । अहिले पनि घर भत्किने चिन्ता मनमा रहिरहेको उहाँको भनाई छ । वडाको नयाँ भवन नबनुञ्जेलसम्मका लागि यसै घरबाट सेवा दिने र त्यतिञ्जेलसम्म धान्ने गरी घरको मर्मत गर्न लागिएको खड्काले जानकारी दिनुभयो ।
जीर्ण घरबाट सेवा लिनुपर्दा सेवाग्राही पनि त्रसित हुने गरेका छन् । सेवा लिन आएका बेला केही भैहाल्ने हो कि भन्ने चिन्ता सेवाग्राहिमा पनि रहेको वडा कार्यालयको भनाई छ । धेरै सेवाग्राहीले घर मर्मतका लागि सुझाव दिने गरेका छन् ।

नेपालमा घाम–पानी छेक्ने छानो समेत बनाउन नसकेका नागरिक त छन् तर रुकुम पश्चिममा नागरिकलाई सेवा दिने स्थानीय सरकारको संरचना पनि घाम–पानी नछेक्ने बन्नु लज्जाको विषय बनेको छ ।
नागरिकलाई सेवा दिन बनाइएको वडा कार्यालयभित्र त्यस वडाका धेरै कागजातहरु सुरक्षित राख्नुपर्ने हुन्छ तर त्यस्तो घरमा सञ्चालनमा रहेको वडा कार्यालयका कागजातहरु कसरी सुरक्षित होलान र ?

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed