काठमाण्डौ, १५ माघ । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीहरु स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालहरुलाई संघीय सरकार मातहतमै राख्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकारमातहत ल्याउने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ती दुवै अस्पताल आवश्यक मापदण्ड पुरा गरेपछि संघीय सरकारमा ल्याउँदा राम्रो हुने बताए पनि कांग्रेसले नमानेपछि सरकारले यस्तो निर्णय गरेको हो ।
दुवै अस्पताल विघटनको खेलमा नेकपा अध्यक्ष एवं केपी ओली नेतृत्वको सरकार लागेको भन्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । तर सरकारले भने अस्पताल विघटन नभइ स्थानीय र प्रदेश सरकारमातहत राखेर चलाउन खोजिएको स्पष्टिकरण दिएको थियो ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल ५९ बेडको छ । तनहुँस्थित गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल १५ बेडको मात्रै छ । सरकारले यी दुवै अस्पताल संघमा ल्याउन पूर्वाधार र आवश्यक मापदण्ड नपुग्ने बताउँदै आएको थियो ।
तनहुँको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल १५ बेडको मात्रै भएको बताउँदै यसलाई स्थानीय तहबाटै चलाउने योजना गरिएको सरकारले जनाएको थियो ।
Views: 0