तपाइँलाई मुखभरीको जवाफ दिन मन छ प्रधानमन्त्री ज्यू, वाइडबडी खरिद काण्डमा मात्र ६ अर्ब भ्रष्टाचार भएको छ भनेर संसदीय समितिले भनेको छ । वाइडबडीको छानबिन गर्नुस, भ्रष्टाचार भएको रकम असुल उपर गर्नुस, २ वटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्छ । यति गर्न नसक्ने अनि सोध्ने, ‘पैसा छ कि नाई ?’ तपाइँलाई कत्ति पनि लाज लागेन है प्रधानमन्त्री ज्यू ?
बारम्बार भ्रष्टाचारको विरुद्धमा शून्य सहनशीलता अपनाउने भन्दै भाषण गर्न मजा आउँछ । तर तपाइँका आसेपासेहरू मध्ये कतिले काठमाडौँमा घर बनाएका छन्, देख्नु भएको छ ? अस्ति भर्खर तपाइँको सचिवालय टीममा रहेको एकजनाले घर ढलाई गरेर ठूलै भोज खुवाए । तपाइँ प्रधानमन्त्री भएको एक वर्ष पनि भएको छैन तर तपाइँका आसेपासेले काठमाडौँमा घर घडेरी जोडिसके । के त्यो पैसा गाइ पालेर आएको हो ?
यो देशमा विकास निर्माण धुर्मुस सुन्तलीले गर्ने, न्याय दिलाउने काम रवी लामिछानेले गर्ने, जनताको स्वास्थ्यको जिम्मेवारी गोविन्द केसीले लिने हो भने तपाइँको के काम प्रधानमन्त्री ज्यू ? धेरै पहिलादेखि यो प्रश्न सोध्न मन थियो ।
आज धुर्मुस सुन्तली फाउन्डेसनले २५ हजार दर्शक क्षमता भएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा कार्यक्रममा गएर तपाइँले भाषण ठोक्न भ्याउनुभएको रहेछ । अनि सोध्नु पनि भयो रे, बजेट छ कि नाइँ भनेर । ४ करोड त्यहीं उठिसक्यो तीन अर्बको प्रोजेक्टमा अझै २ अर्ब ९६ करोड उठ्न बाँकी छ ।
तपाइँलाई क्रिकेट सेन्स नै छैन । दुई चार डल्ला फ्याँकेर सन्दिप लामिछाने चम्कियो भन्ने तपाइँको अभिव्यक्ति सुन्दा खेलकुद प्रतिको तपाइँको ज्ञान शून्य रहेछ भन्ने जो कोहीले पनि थाहा पाइसकेका छन् । आजपनि भन्नुभएछ, ‘क्रिकेट हाम्रा लागि अलिक नयाँ खेल हो, यसको अर्को रुप डण्डी बियो हो । दौड, कुस्ती, छेलो फ्याँक्ने जस्ता परम्परागत खेलहरू नेपालमा छन् ।’ कठै तपाइँको खेलविश्लेषण । भारतीयहरूले अंग्रेजसँग क्रिकेट जितेर आफ्नो खेतबारीको लगान तिर्नु नपरेको कथा पनि छ ।
नेपालको एकमात्र त्यस्तो खेल छ जसले अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम चम्काएको छ त्यो हो क्रिकेट । छेलो फ्याँकेर कुनै पनि नेपाली सन्दिप लामिछाने जस्तो विश्वभर उदाएको छैन । जे कुरामा तपाइँको ज्ञान छैन, त्यो कुरामा प्याच्च बोलिहाल्ने तपाइको बानी सुधार्नुस प्रधानमन्त्री ज्यू।
राज्यसँग अथाह सम्पति छ । देशमा अथाह कालोधन छ । स्विजरल्याण्डमा लगेर अर्बौं डलर जम्मा गरेर राखिएको छ । आधा कालोधन फिर्ता ल्याएमात्र पनि सातवटै प्रदेशमा एक एक वटा क्रिकेट रंगशाला बन्न सक्छ । क्रिकेटको मात्र के कुरा, हजारौ मेगावाट विजुली उत्पादन गर्न सकिन्छ । कृषिमा आधुनिकीकरण गर्न सकिन्छ र हरेक नेपालीले आफ्नो परिश्रम अनुसारको मूल्य पाउँछ । तर तपाइँजस्तो लाचार प्रधानमन्त्रीले गफ बाहेक केही जोत्न सक्नुभएको छैन ।
काठमाडौँमा मेडिकल क्षेत्रमा सुधार ल्याउनुपर्यो भन्दै एक सन्यासी मर्न लागेको छ । तपाइँ प्लेनमा सरर चितवन गएर गफ लडाउन भ्याउनुभएको छ । प्लेनको एउटा पाइलट तपाईं, जहाज होइन, गफ उडाउने प्लेनको पाइलट !
भुईचालोबाट घरबार बिहीन भएका नागरिकहरूलाई घर बनाइदिने जिम्मेवारी धुर्मुस सुन्तलीको हो ? हो भने ढलेका घर र घाइते जनताको फोटो र भिडियो देखाएर विदेशीसँग भीख मागेको खरबौं रुपैया कहाँ छ, त्यो पनि धुर्मुस सुन्तलीको जिम्मा लगाईदिनुस् । प्रत्येक नागरिकलाई छानो उनीहरूले बनाइदिनेछन ।
धुर्मुस र सुन्तलीलाई पनि एउटा प्रश्न सोध्न मन छ, हावा, गफाडी, लाचार, भ्रष्ट प्रधानमन्त्रीलाई कार्यक्रममा बोलाएर भाषण गर्न किन लगाएका होलान् धुर्मुस सुन्तलीले ? प्रधानमन्त्री हास्यकलाकार जस्ता छन्, हास्यकलाकारहरू प्रधानमन्त्री जस्ता छन् । यो देख्दा स्वयम् लाजलाई पनि लाज लाग्यो होला ।
प्रधानमन्त्री ज्यू ! बैंकमा कति ब्यालेन्स छ भनेर धुर्मुस सुन्तलीलाई सोध्दा लाज लागेन ?
Views: 0