सल्यान । सल्यानमा एक विद्यालयमा शिक्षक कक्षाकोठाभित्र थुनिएपछि विद्यार्थीमाथि कुटपिट भएको छ । जिल्लाको कुमाख गाउँपालिका–२ रुमाल गाउँमा रहेको नारायण माविमा कक्षा १० मा अध्यानरत छात्र राजु हमाललाई सोही विद्यालयका शिक्षक हिमबहादुर बुढाले गम्भीर घाइते हुनेगरी कुटपिट गरेको परिवारले आरोप लगाएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
आउँदै गरेको एसइईको तयारीका लागि कोठा लिएर पढ्दै गरेका विद्यार्थीलाई बुधबार कोठामै गएर शिक्षकले बाँसको लठ्ठीले कुटपिट गरेर घाइते बनाएको पीडित विद्यार्थीका बुबा गणेश हमालले बताए । घाइते विद्यार्थीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भएको र स्वास्थ्यमा समस्या देखिएकाले थप उपचारका लागि परिवारले बाहिर लैजाने तैयारी गरिरहेको प्रहरीले जनाएको छ । विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई अस्थायी प्रहरी पोस्ट नेटाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
यता विद्यालयका प्रधानाध्यापक देवेन्द्र रावतले विद्यार्थीमाथि कुटपिट भएको स्वीकार गरेका छन् । ‘कक्षा १० को ट्युसन पढेर विद्यार्थी घर फर्किंदा विद्यालय कक्षाकोठा बन्द गर्ने क्रममा शिक्षक भित्रै थुनिएका रहेछन्,’ प्रअले भने, ‘अन्तिममा रहेका विद्यार्थी राजु हमालले कक्षाकोठा बाहिरबाट बन्द गरेका रहेछन्, शिक्षक भित्र छन् भन्ने थाहा नपाएका उनले ढोका बन्द गरेर आफ्नो कोठातिर लागेछन् । पछि शिक्षकले थाहापाएपछि रिसको झोकमा विद्यार्थीकै कोठामा गएर कुटेको थाहा पाएँ ।’ यस विषयमा विद्यालय व्यवस्थापन समिति र पीडित पक्षबीच छलफल भइरहेको विद्यालय स्रोतले जनाएको छ ।
Views: 0