काठमाडौं। युएइमा वनडे र टि–२० सिरिज जितेर नयाँ इतिहास बनाएको नेपाली क्रिकेट टोली काठमाडौं आइपुगेको छ ।
टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट बिच्छ्याएर स्वागत गरिएको छ । टिमलाई स्वागत गर्न हजारौं फ्यानका बीच पारस खड्काका हजुरबुवा प्रेमबहादुर खड्का र पिता मोहन खड्का पुगेका थिए ।
उनीहरुले डिसीनेपालसँग विशेष कुराकानी गर्दै आफ्ना छोरा÷नातीको नेतृत्वमा खेलाडीहरुले दिलाएको सफलताले सिंगो देश हर्षित हुन पाएको भन्दै आफूहरुलाई गौरवको अनुभूति भएको बताए ।
पारसका हजुरबुवा प्रेमबहादुर ७० वर्षका वृद्ध हुन् र क्रिकेटका निकै ठूला फ्यान पनि हुन् । उनी सम्भव भएसम्म मैदानमै पुगेर खेल हेर्न रुचाउँछन् ।
नेपाली टोली विमानस्थलबाट बाहिरिनुअघि पारसका पिता मोहन र हजुरबुवा प्रेमबहादुर समर्थकसँग खुसी साट्दै पर्खेर बसे ।
नेपाली टोलीलाई स्वागत गर्न हजारौंको संख्यामा समर्थक र सयौं संचारकर्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
Views: 0