काठमाडौं । सरकारले स्पष्टीकरण सोधिरहेका बेला चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन् । बैठकमा उपस्थित नभएको भन्दै सम्बन्धित मन्त्रालयले स्पष्टीकरण सोधेका बेला उनले पदबाट राजीनामा दिएकी हुन् । तर, उनले राजीनामा दिनुको कारण भने व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने खुलाएकी छन् ।
निकिताले विज्ञप्तिमार्फत माघ २३ गतेदेखि लागू हुने गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई राजीनामा पेश गरेको बताएकी छन् । ‘ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हुँ’ उनले भनेकी छन् ।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । तर निकिताले भने मन्त्रालयको स्पष्टिकरण पत्र आफूले नपाएको बताइन् ।
२०७४ मंसिर २५ गते तत्कालिन मन्त्रिपरिषले उनलाई विकास बोर्डमा अध्यक्ष नियुक्त गरेको थियो । उनले आफूले नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक ‘बक्स अफिस’ प्रणाली शुरूवात गरेको र विकास बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाएको पनि उल्लेख गरेकी छन् ।
पौडेलले आफूलाई दिइएका जिम्मेवारी मन्त्रालयले तोकेको समय–सीमा भित्रै समापन गरी त्यसको रिपोर्ट पनि मन्त्रीलाई बुझाएको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
Views: 0