भनिन्छ नी “वनको बाघले खाओस या नखाओस मनको बाघले खान्छ” ठीक तेही अवस्था छ सुदुरपश्चिम र मध्यपश्चिमका पाहाडी भुभागमा प्रचलनमा रहेको छाउपडी प्रथाको । छाउ भएकी महिलाले घर भित्र बस्न नहुने, खाने कुराहरु बार्नु पर्ने, देउताका मन्दिर नजिक देखिनु नहुने यो सब गरेमा देउता रिसाउने र कही न कही हानी हुने भने मान्यता बनको बाघले होइन केवल मनको बाघले खाएको कुराको ज्वलन्त उदाहरण हो । क्रिस्चियन महिलाहरु, मुस्लिम महिलाहरु अनि शहरका सभ्य परिवारका महिलाहरु के कहिल्यै छाउ हुन्निन होला त ? उनका देउता छैनन ? उनीहरुले छाउ बारेको नि सुनिन्न देउता रिसाएको नि सुनिन्न । छाउ नबारेकै कारण परिवारमा हानी भएको पनि सुनियन । बरु उनीहरुको स्वास्थ्य अवस्था तुलनात्मक रुपमा स्वस्थ्य भएको देखिन्छ । तर हाम्रा सज्जन दिमागमा किन भ्रम सिर्जना भएको होला ? त्यसैले छाउपडीको प्रथाले कसरी कुप्रथाको रुप लियो होला जिज्ञासा जो कोहीमा नि हुन्छ ।
के हो छाउपडी प्रथा ?
सामान्यतया प्रजनन उमेर पुगेकी महिलाको पाठेघर सङ्गै जोडिएर रहेका २ अण्डासयले हरेक महिनामा पालो पालो अण्ड उत्पादन गर्ने गर्छ । अण्ड उत्पादन पछि पाठेघरमा बच्चालाई चाहिने बाताबरण बन्न थाल्छ । कमसल झिल्ली र रगत मिलेर तह बस्न थाल्छ। सहि समयमा यो अण्ड पुरुषको सुक्रकिट सङ्ग मेल हुन नपाए पछि पाठेघरको तह फुटी रगत योनी मार्ग हुँदै बाहिर जान्छ जसलाई सुदुरपश्चिम र मध्यपश्चिममा छाउ भएको मानिन्छ । त्यसरी छाउ भएकी महिला घर भित्र नबसी घरबाट केही पर रहेको अलग्गै गोठमा बस्ने अनि घर आँगन नछुने, भिजेको चिज वस्तु र अर्काले सेवन गर्ने अन्नवालि नछुने लगायतका प्रतिवन्धात्मक व्यवहार हुन्छन । यस्तो खराव व्यवहारलाई प्रचलनको रुपमा मानिनु छाउपडी कुप्रथा हो । समाजमा प्रचलित अन्धविश्वासका कारणले गर्दा महिनावारी भएको महिला र महिनावारीको बेलामा बग्ने रगत अशुद्घ भनिएको देखिन्छ । यस बेलामा थुप्रै बन्देज एंव निषेध गर्ने व्यवहारहरु मानिसहरुले गर्ने गरेका छन् । यस्ता व्यवहार महिनावारीको वास्तविक एवम् ठिक कारण थाहा नभएर विभिन्न काल्पनिक कुराहरुमा विश्वास गरी गर्ने गरेको देखिन्छ ।
छाउपडी सम्बन्धमा धार्मिक मान्यता के छ ?
डा.स्वामी प्रपन्नाचार्यका अनुसार परात्पर परब्रह्मा परमात्माले विश्व सिर्जना गर्ने क्रममा स्त्री र पुरुष दुवैलाई समान अधिकार दिएर विश्व सृजनाको अनन्य शोभाका लागि पठाएको भन्ने उल्लेख गर्नु भएको छ । त्यसै गरी ऋगवेदमा यस्ती विदुषी नारीहरुको स्वभाव व्यक्त गरेर ऋचादर्शी र सङ्ग्रह गर्ने अनेकौँ प्रमाण हामी पाउँछौ । पुरा ऋग्वेद देखी लिएर ब्राह्मण अगरण्यक उपनिषद्कालसम्म पुर्णरुपेण स्त्री र पुरुष दुवैको विद्या, व्यवहार र संस्कारमा समान अधिकार भएको पाउँछौ । महिनावारी सम्बन्धमा धार्मिक प्रतिबन्ध कही कतै भएको ग्रन्थहरुमा प्रमाण भेटिँदैन । तर हाम्रो समस्त ईतिहास हेर्दा मातृसत्ताको उल्लेख कहीँ पनि पाईँदैन । पितृ सत्तात्मक समाजले आफै सिर्जना गरेको विभेदले महिला दमित भएकी हुन भन्ने मत फेला परेको छ । सोही क्रममा छाउपडीलाई समेत अंकुश लगाईएको कुरा ईतिहासले देखाएको छ । धर्मिक ग्रन्थले महिनावारी सम्बन्धमा कहीँ कतै अन्याय गर भनेको देखिदैन । महिनावारीका बेला शरीरमा करिब एक महिना सम्म जमेको रगत बाहिर निश्कने हुँदा स्वभाविक रुपमा त्यो रगत कालो हुँदै जाँदा दुर्गन्धित रजमा विषालु किटाणु हुने ठम्याइएको छ । यसकारण छाउ भएकी नारी अपवित्र मानिएकी हुन प्रतिवन्धित होइनन ।
छाउपडी सम्बन्धमा विज्ञानको मत के छ ?
ब्रम्हाण्डका हरेक जीव जन्तुका कृयाकलापहरु जैविक गुण अनुसार निर्धारित भएका छन । त्यस्ता जैविक गुणहरुमा प्राणीहरुको प्रजनन् प्रकृया पनि एक हो । प्राय प्रजनन योग्य उमेर १५- ४९ बर्ष समुहका महिलाहरुमा अण्ड निश्कासन चक्रको प्रतिफल महिनावारी हुनु प्रजनन क्षमताको सूचक हो । प्रजनन योग्य उमेरका महिलाहरुमा अण्ड निश्कासन प्रकृया नियमित हुन्छ । उचित समयमा निशेचित अण्डले सुक्रकिटसंग मिलन गर्न नपाए पाठेघरमा तह बनी बस्ने र निश्चित समयाबधीमा सो तह फुट्ने भइ जमेको रगत महिलाको योनीबाट बाहिर निसक्ने हुन्छ यसै प्राकृतिक प्रकृयालाई छाउ भएको वा महिनावारी भएको मानिन्छ । छाउ हुनु वा महिनावारी हुनु महिलाको नियमित प्राकृतिक प्रकृया हो । यस बेलामा महिलामा अनौठो परिवर्तन भएको महशुस हुने, एक्लोपन महशुस हुने, दिक्दारी पैदा हुने, मनमा नाकारात्मक भाव पैदा हुने भएको हुँदा उनीहरुलाई सहयोगको खाँचो पर्ने हुन्छ । त्यसैले छाउ बार्ने होइन बरु उनीहरुलाई उचित स्नेह र साथ दिनु पर्दछ । सरसफाईमा बिशेष जोड दिनु पर्दछ भन्ने मान्यता छ विज्ञानको ।
कुप्रथाको रुप कसरी ?
वास्तमा हिन्दु धर्म सम्प्रदायका कतिपय धार्मिक मान्यताहरु वैज्ञानिकतामा आधारित छन । उदाहरणका लागि ग्रहणको समयमा कैँचीको प्रयोग, फलफूल टिप्नु, कपडा धुनु, ब्रश गर्नु, गाइभैँसी दुहुनु, भोजन गर्नु, सहवास गर्नु, यात्रा गर्नु, सुत्नु , रुख काट्नु आदि जस्ता कार्य गर्नु हुँदैन । गर्भवती महिलाले त झन् आराम गर्नुपर्दछ र ग्रहण हेर्नु हुँदैन । ग्रहणको समयमा सूर्यको प्रकाश पनि नआउने र प्रकाश परावर्तन पनि हुन नपाउने हुँदा यो समयमा हानिकारक किटाणुहरुको संख्यामा वृद्धि हुने भएकाले यस समयमा माथि उल्लेख भए अनुसार गर्न नहुने ज्योतिषीय र वैज्ञानिक तथ्यहरु छन् । यही कुरालाई आधारमान्ने हो भने धर्मशास्त्रले नै सभ्य जीवनशैलीको विकास गर्न सिकाएको यथार्थ हो । मानव समुदायलाई अनुशासित र मर्यादित बनाउनका साथै मानविय मुल्यको विकास गर्न सिकाउनमा धर्मिक मान्यताहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेका छन ।
यही सन्दर्भमा छाउपडी प्रथालाई नी जोड्न सकिन्छ । वास्तवमा महिनावारी हुँदा स्त्रीको सरिरको पाठेघरमा एक महिना देखी जम्मा भएको रगत बाहिर बग्दछ । यो रगतमा हजारौँ प्रकारका विषाणुहरु रहेका हुन्छन । रक्तश्राव पश्चात बाहिर निस्कने ती विषाणुहरुको प्रभावले रोगको प्रकोप फैलन सक्छ । मानव सभ्यताका आविश्कार भई नसकेको पुरानो समयमा महिनाबारी हुँदा बग्ने रगत यत्रतत्र छरिन सक्ने हुन सक्थ्यो । स्यानिटरी प्याड उबलब्ध नहुने र सो सम्बन्धमा उचित ज्ञानको अभाव हुँदा फोहोर रगत जताततै छरिन नपाओस भन्नका लागि छाउ बार्नु परेको हुन सक्छ । तर त्यसताका बारिने छाउ अहिलेको जस्तो छुनै नहुने गरी नभई प्रदुषित रक्त बार्न मात्र भएको देखिन्छ । कालान्तरमा हरेक कुराको इभोलुसन के त सकारात्मक रुपमा के त नाकारात्मक हुने भएझैँ केहि दशक यता छाउलाई यति धेरै बारिन थालिएको हुन सक्छ । हाल आएर धार्मिक कार्यमा प्रतिबन्धित हुन थाल्यो, घरमा बस्न नदिई टाढा रहेको छाउ गोठमा सुत्नु पर्ने बनाईयो । गोरस(गाई भैसीको दुध र दुधबाट बन्ने परिकार) छुनै नपाईने । फलफुलका बिरुवा पनि छुनै नहुने छोए तिनीहरु सुक्ने यी यावत गन्थनमन्थनहरु हुन थाले । पुरुष प्रधान हाम्रो समाजमा महिलाका हरेक कृयाकलापको टिकाटिप्पणी अनायसै हुन्छन नै यस्तै मानसिकताले छाउपडी प्रथालाई समेत छोयो । पुरुषहरुकै मानसिकताको उपज यो प्रथाले यस किसिमको विकृत रुप लिएको हुन सक्ने देखिन्छ ।
कुप्रथाको प्रतिफल के ?
यसको प्रतिफल घर भन्दा टाढा रहेका असुरक्षित गोठमा बास बस्दा महिलाहरु यौन हिंसाको सिकार हुन बाध्य छन, पर्याप्त अक्सिजन नपाएर निसास्सियर मरिरहेकी छन, सर्पको टोकाईबाट ज्यान गुमाउन विवश छन । यति मात्रै हैन यो समयमा एक्लोपन महशुस भई आत्महत्या गर्न बाध्य छिन । यसै प्रथाका कारण कयौं महिलाहरु जंगली जनावरका शिकार हुनु परेको छ, अचेतना र रोगको शिकार हुनु परेको छ, ब्यभीचारहरुको फन्दामा परी बलत्कारीनु परेको छ, शिशु र मातृ मृत्युदर बढाएको छ । समग्रमा भन्नु पर्दा छाउपडी प्रथाका कारण महिलाहरु माथि ठूलो अमानविय तथा भेदभावयुक्त ब्यवहार र उनीहरुको मानवअधिकारको हनन भैरहेको छ । यस्तो किसिमको अमानवीय व्यवहार हामी हाम्रै चेली बुहारी माथि गरिरहेका छौँ । हामीमा उनीहरु प्रतिको दयाभाव नभएको देखिन थालेको छ । धर्मिक प्रचलनका नाममा हाम्रो गलत मानसिकताले हाम्रा छोरी चेली दुख झेलिरहेकी छिन । यो प्रथाले न हाम्रो ईज्जत बढेको छ न आत्म सन्तुष्टी तै पनि यही परम्परा निरन्तरता किन ?
निश्कर्ष
छाउपडी सम्बन्धमा विकसित भएको गलत मानसिकता विज्ञान र प्रविधिको वर्तमान समयमा पनि जारी रहनु सरासर मानव सभ्यताको खिल्ली हो । मानविय सम्वेदनाप्रतिको अपमान हो । समग्र संस्कारको बेईज्जत हो ।त्यसैले हामीले अब अरु सभ्य समाजको साकारात्मक पक्षको अनुकरण गर्न सिक्नु पर्छ नाकारात्मक अनुकरण हैन । हाम्रो समाजिक चरित्र सुध्रिनु पर्दछ, हाम्रा संस्कारहरुलाई विश्वमाझ साकारात्मक रुपमा चिनाई उदाहरणिय बनाउन हाते मालो गर्नु पर्छ । यस कार्यका लागि प्रमाणै नभएको तथ्यको नाममा कसैको पनि अमुल्य जीवन बर्बाद पार्नु हुदैन । ग्रन्थ विचार कहिँ कतै पनि स्थान नदिईएको कुप्रथालाई नियम बनाउनु ठीक होइन । छाउपडी कुप्रथालाई सदाका लागि तिलाञ्जली दिई मानव अधिकारको सम्मान सहित सभ्य मानिसको परिचय दिनु अहिलेको आवश्यकता हो ।
-लाेकेन्द्र बिष्ट
Views: 0