बिबिसी – शुक्रवार एउटा पत्रकार सम्मेलन गरी पाकिस्तानी सेनाले पुलवामा भएको हमलामा पाकिस्तानलाई जबरजस्ती मुछिएको भन्दै कडा प्रतिक्रिया दिएको छ। सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले उक्त हमलाले भारतको आन्तरिक सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह उठेको बताए।

फेब्रुअरी १४ मा भारतीय अर्धसैनिक बल सीआरपीएफका जवानहरू चढेको गाडीको लस्करमाथि जैश-ए-मोहम्मद नामक समूहले गराएको आत्मघाती हमलामा परि ४० भन्दा बढीको ज्यान गएको थियो।

भारतले सो घटनाका निम्ति पाकिस्तानलाई जिम्मेदार ठहर्‍याएको छ। तर पाकिस्तानले ती आरोप अस्वीकार गरेको छ। मेजर जनरल गफूरले भने, “पाकिस्तानले यो हमला भएपछि राम्ररी सोच्यो छानबिन गर्‍यो र जिम्मेवार सरकारको रूपमा प्रतिक्रिया दियो। हाम्रा प्रधानमन्त्रीले भारतलाई पहिले कहिल्यै नदिइएको प्रस्ताव दिएका छन्। उनले भनेका छन् यदि प्रमाण भेटियो भने कसैको दबावमा होइन कि हाम्रो आफ्नै स्वार्थले त्यस्ता समूहविरुद्ध कारबाही गर्नेछौँ भनेर।”

“हामीले जाँचबुझ गर्‍यौँ त्यसैले जवाफ दिन केही ढिलाइ भयो। तर हामीले गरेको जाँचबुझबाट पाकिस्तानमाथि लगाइएका आरोप आधारहीन पाइएका छन्।” नियन्त्रण रेखा भन्दा मिलौँ टाढा घटना भएको छ। जुन विस्फोटक सामग्री प्रयोग भएको छ त्यहीँको सुरक्षाबलले त्यसलाई जुटाएको हो। यहाँ पाकिस्तानबाट लगिएको होइन। जुन गाडीको प्रयोग गरि घटना भयो त्यो स्थानीय गाडी हो। पाकिस्तानबाट लगिएको होइन। जुन युवाले यो चरमपन्थी हमला गराए ती त्यहीँका स्थानीयवासी हुन्।

उनले भारतमाथि पाकिस्तानभित्र आतङ्कवादलाई भड्काएको पनि आरोप लगाए। पाकिस्तानमा जब जब कुनै महत्त्वपूर्ण कार्यक्रम आयोजना हुन लाग्छ तबतब यस किसिमका हमलाका घटना हुने गरेको उनले बताए। पुलवामा हमलाको बेला पनि पाकिस्तानमा आठवटा महत्त्वपूर्ण कार्यक्रमहरू हुन लागेको बताउँदै यस्तो बेला पुलवामामा हमला गराएर पाकिस्तानलाई के फाइदा भन्दै उनले प्रश्न गरे।

यही बेला साउदी अरेबियाका युवराजको भ्रमण तथा लगानी सम्मेलन हुन लागेको अनि यही समय संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्‌मा आतङ्कवादी सूचीबारे छलफल हुन लागेको उनले उदाहरण दिए।

साथै यो बेला भारतमा चुनावी चहलपहल भइरहेको भन्दै चुनावकै मुखमा यस्तो घटना किन हुन्छन् भन्नेबारे सोचविचार गर्नुपर्ने बताए। मेजर जनरल गफूरले भारतमा पाकिस्तानले युद्धको तयारी गरिरहेको चर्चा चल्दै गरेको भन्दै खासमा पाकिस्तानले कुनै तयारी नगरेको बरु भारतले नै युद्धको धम्की दिइरहेको बताए।

“हामी शुरू गर्दैनौँ। तर यदि कसैले कारबाही गर्छ भने हामी जवाफी कारबाही गर्नेछौँ। प्रतिकार गर्ने हाम्रो हक छ,” उनले भने। “हामी बितेको युगको सेना होइनौँ।”

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *