काठमाडौं । भारतको टेलिभिजन च्यानल ‘जी टिभि’ को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगमपा लिटिल च्याम्प’मा सिन्धुपाल्चोक घर भई हालभक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने बर्ष १२ का आयुश केसी पुरा भारत र नेपाल समेत हाल विश्वभरि नै चर्चाको शिखरमा पुग्न सफल भएका छन्।
हिजो मात्र जी टिभीले रिलिज गरेको ‘प्रोमो’ र प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भएको छ। नेपालमै २ वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका सिन्धुपाल्चोकका आयुश केसीको पहिलो प्रस्तुति भोली शनिबार प्रसारण हुँदैछ, यस प्रस्तुति पछि उनी टप १५ मा पुग्नेछन्।
सानैबाट संगीतमा रुचि राख्ने आयुष तीन वर्षको उमेरदेखि गीत गाउँन थालेको आयुषका बुवा रामकृष्ण केसीले बताए। उनले संगीत सिक्न थालेको ५ वर्ष भयो। आयुषलाई हाल सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीले संगीत सिकाइ रहेका छन्। आयुष घरका कान्छा छोरा हुन्।
अहिले उनी भक्तपुरको मोर्डन स्कूलमा कक्षा ७ मा पढ्दैछन्। बाबा टुुर गाइड हुन् भने आमा–गृहणी। मध्यम किसिमको उनको परिवारमा आयुषको संगीतप्रतिको मोहलाई पूरा गर्न परिवारले सक्दो सहयोग गर्यो। जुनियर आइडल भएपछि उनले गीत पनि रेकर्ड गराईसकेका छन्।
यस रियालिटी कार्यक्रममा अर्का नेपाली बालप्रतिभा प्रितम आचार्य पनि सँगै छन्। यो यात्रामा पुग्नु अघि आयुश केसीले धेरै चरण पार गरेका हुन्। सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो।
सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो।
दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियोराउण्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’मा छानिएर टप ३० मा पुगेका हुन्।
Views: 0