गुल्मी– एक छोरी, तीन जिल्लाकी बुहारी !उमेर मात्रै २७ । तर विवाह ६ पटक । पत्ताउन गाह्रो भयो होला ? तर साँचो हो, घटना । २७ वर्षको उमेरकी युवतीले छैठौँ विवाह जोसँग गरिन्, त्यो अझ अनौठो छ । उनले ६६ वर्षका वृद्धासँग विवाह गरिन् ।
अनौठो लाग्ने यो घटना गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्ला दुवानेटको हो । घटनाकी प्रमुख पात्र ती महिला (छैठौँ पटक विवाह गर्ने ) भने भिडियोमा बोल्न चाहिनन् । तर उनका ६६ वर्षीया जीवनसाथी ढालबहादुर घिमिरे भने खुलेरै बोले ।
केही दिनअघि लौरो टेक्दै धुर्कोट गाउँपालिकाको तेस्रो चौैमासिकको सार्वजानिक सुनुवाइ कार्यक्रममा पुगेका ढालबहादुरले भने– ‘मेरी श्रीमतीको मृत्यु भएको ६ वर्ष भयो । त्यसयता एक्लै खाना पकाएर खाँदा असाध्यै दुःख भएको थियो ।
यो भर्खरकी केटीले मलाई पत्याउली भनेर विश्वास लागेकै थिएन’, उनीहरूबीचको सम्बन्धको रहस्यको गाँठो फुकाउँदै उनले सुनाए, ‘एक दिन एउटी महिलासँग त्यसका बारेमा सोधपुछ गरेँ । विस्तारै उसँग नजिक भएँ । उसले मनपेट खोली, हाम्रो मन मिल्यो र ब्या (विवाह) गरेका हौँ ।
ढालबहादुर भन्छन्, ‘३ छोरी ५ छोरासहित ८ सन्तानको बाबु हुँ म । खानदान पनि कम होइन । जिजुबाजेको शेषपछि जिम्वाल चलाएको मान्छे हुँ तर त्यो सम्पत्ति र त्यतिका छोराछोरी हुँदा पनि एक्लो र निरासिलो महसुस हुँदोरहेछ । बुढेसकालमा स्याहरसुसार गर्ली भनेर विवाह गरेको हुँ । नभन्दै राम्रै स्यहारसुसार र माया प्रेम दिएकी छ ।
त्यहीबीचमा ‘जूनको र ताराको, बल्लै भेट भयो दुवै कर्म हाराको…’ गीत सुनाउँदै उनले भने– ‘उनले गुल्मीकै चार ठाउँमा विवाह गरिन् ।
विस्तारमा उनले सुनाए– ‘गोरखामा पनि विवाह गरेर गइन् । त्यसपछि प्युठानका एक जनाले विवाह गरेर लगेको ५ दिनमै माइतीघर ल्याएर छोडेछ । अन्यत्रै ५ सहित म उनको छैठौँ श्रीमान हुँ ।
उनका दुई छोराहरू छन् । मेरा ३ छोरी र ५ छोराहरूले पनि एक्लै पारेका थिए । कर्मले म पनि एक्लै, उनी पनि एक्लै परेपछि हामीलाई संजोगले जुराएको जस्तो लाग्छ ।’
शिशुको चाहना छ कि ? भन्ने प्रश्नमा ढालबहादुर भने– खै हेरम, त्यो भने यसै भन्न सकिन्न । उनले मेरा पनि दुई छोराहरू छन् । तपाईंका पनि पाँचवटा छोराहरू छन् । अब किन चाहियो र अरू सन्तान ? सन्तान भएर पो के हुँदो रहेछ र? ढालबहादुरले कुराकानीकै क्रममा थपे– अरू हाम्रो मेलमिलाप राम्रै चलेको छ ।
मैले वृद्धभत्ता चाँडै खान्थेँ होला तर नागरिकतामा मेरो उमेर घटाई दिएका छन् तर म ६६ वर्षको भएँ ।
Views: 0