हुनान। बाल्यकालदेखि नै चेन जिमोले आफ्नो जिम्मेवारी राम्रोसँग बुझ्न थालेकी थिइन् । १२ वर्षको उमेरमा उनी यति समझदार भइसकेकी थिइन् कि उनले आफ्ना भाइलाई बचाउन आफैं मृत्युवरण गरिन् । घरमा आगो लागेपछि ५ वर्षका भाइ मोजीलाई बचाउन उनले आगोमा हाम्फालेकी थिइन् । उनका पिता चेन होका अनुसार उनले भाइलाई बचाउनको लागि आफैंले भाइलाई ढाकेकी थिइन् । जसका कारण आगोले जिमोलाई जलायो तर उनले ढाकेर राखेका कारण भाइ जल्न पाएनन् ।
चीनको हुनान प्रान्तको छेंगदेमा रहेको जिमोको घरमा राती ३ बजेतिर आगो लागेको थियो जतिबेला उनी भाइसँग सुतिरहेकी थिइन् । पिता चेन होले जब आगो लागेको थाहा पाए उनले तत्कालै छोराछोरीको खोजी गरे । दुवै आफ्नो कोठामा बेहोस थिए । उपचारका लागि जिमो र उनका भाइ मोजीलाई अस्पताल पुर्याइयो । जिमो ५५ प्रतिशतसम्म जलिसकेकी थिइन् जबकि मोजीको शरीर २८ प्रतिशत मात्र जलेको थियो । जिमोले ५ दिनसम्म मृत्युसँग संघर्ष गरिन् । अन्ततः उनी जीवनको लडाइमा मृत्युसँग हारिन् ।
पिता चेन होका अनुसार जिमो सानैदेखि जिम्मेवारी बुझ्न थालेकी थिइन् । ४ वर्षको उमेरदेखि नै उनले एक्लै बस्न सिकेकी थिइन् किनकि पिता चेनको आफ्नै व्यवसाय थियो र उनकी पत्नी रातको शिफ्टमा नर्सको काम गर्थिन् । भाइ जन्मिएपछि जिमोले उनको पनि हेरचाह गर्न थालेकी थिइन् । दुर्घटनापछि चेन होले छोराछोरीको उपचारको लागि ७ घण्टामा १ करोड ७० लाख रुपैयाँ (१० लाख युआन)को अनलाइन फण्ड जम्मा गरेका थिए । उनका अनुसार मोजीको अपरेशनको बिल तिरेपछि बाँकी रहेको रकम उनले च्यारिटीमा खर्च गर्नेछन् ।
Views: 0