काठमाडौं । बसमा सवार अधिकाश सुटमा थिए । बसभित्र बेजोडसँग गीत घन्किरहेको थियो । बेहुला भक्तपुरको, बेहुली हेटौंडा । दुबैको लगन गाँठो कस्न जन्ती मंगलबार बिहान बा ४ ख २२१७ नम्बरको बसमा भक्तपुरबाट हेटौडातर्फ लागेका हुन् । सुटमा सजिएका युवा गीतको तालमा बसभित्रै नाचिरहेका थिए ।गीतको गुन्जायससँगै बस आफ्नै सुरमा गुडिरहेको थियो ।
बसमा गीत गुन्जिए पनि चालकको ध्यान भने सडकमै थियो । हात स्टेरिङमै थियो, खुट्टा ब्रेक र क्लजमा । बेलुकी बेहुली लिएर फर्केने परिकल्पना गर्दै जन्ती रमाइरहेका थिए । बसमा सवार सबै जना उमंगित थिए । यात्रा यसैगरी अगाडि बढिरहेको थियो । तर उनीहरुको खुशी धेरैबेर टिक्न पाएन । रमाइलो वातावरणमा गुडिरहेको बस अकस्मात् सडकबाट काल्लामुनि पुग्यो । बसमा सवार २ जनाले जीवन गुमाए । २६ जना घाइते हुन पुगे । बसमा नाचिरहेकाहरुमा अमस्मात रुवाबासी भयो ।
भक्तपुरबाट जन्ती लिएर हेटौडातर्फ आइरहेको बा ४ ख २२१७ नम्बरको बस मकवानपुरको गढी गाउँपालिका २ सिखर कटेरीमा दुर्घटना भएको हो । दुर्घटनामा जन्ती गएका विकास धमला र नवराज परियारको मृत्यु भएको छ । अन्य २६ जन्ती घाइते भएका छन् । घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Views: 0