काठमाडौं, १ चैत । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतले नेपालको करीब ६० हजार वर्ग किलोमिटर भूमि भारतले आफ्नो कब्जा जमाएको दावी गरेका छन् । जेनेभाको स्विस प्रेस क्लमा नेपाल, पन्जाब, मद्रास , मणिपुर र त्रिपुराका मानवअधिकार प्रतिरक्षाका क्षेत्रमा सङ्घर्षरत प्रतिनिधिका निम्ति आयोजित प्रेस भेटघाट कार्यक्रममा मोर्चाका अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
जेनेभामा फेब्रुअरी २५ देखि भइरहेको मानवअधिकार परिषद्को ४० औँ सत्रका गतिविधिबारे समाचार सङ्कलन गर्न आएका करीब डेढ दर्जन विदेशी पत्रकारलाई नेपालले भारतले नेपाल माथि गरेको ज्यादतीका बारेमा जानकारी गराएका हुन् ।
मोर्चाका अध्यक्ष नेपालले ९० वर्ष ब्रिटिस उपनिवेशविरुद्ध लडेको भारतले आफू स्वतन्त्र हुनासाथ त्यसरी नै नेपाली भूमिमा जबरजस्ती कब्जा जमाउने रणनीति लिएको बताए । उनले भारतको यस्तो कृयाकलाप मानवअधिकार, प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्रताको चरम उपहास भएको बताएका थिए ।
मोर्चाका अध्यक्ष नेपालले पत्रकारहरूलाई ग्रेटर नेपालको नक्सा बाँड्दै आफूलाई संसारको सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक बताउने भारतले आजको २१ औँ शताब्दीमा उपनिवेशजस्तो अमानवीय, अप्रजातान्त्रिक र मानव स्वतन्त्रता विरोधी क्रियाकलाप देखाउनु निन्दनीय भएको बताए ।
भारतले सैनिक बलको आडमा प्रजातन्त्र र स्वतन्त्रताको गला दबाइरहेको आरोप लगाउँदै ग्रेटर नेपालका अभियन्ता नेपालले नेपाली भूमिमा भारतीय उपनिवेशको अन्त्यका लागि सहयोग गर्न त्यहाँ उपस्थित अन्य प्रतिनिधिलाई आग्रह पनि गरेका थिए ।
उनले नेपालमा सडकमा ग्रेटर नेपालको आवाज उठाउँदा प्रहरीले पक्राउ गर्ने र प्रहरी हिरासतमा राख्ने गरेको बताउँदै विश्व समुदायले तिरस्कार गरेको उपनिवेशजस्तो अमानवीय व्यवहारलाई भारतले अँगालिरहेकोमा मानवअधिकारको क्षेत्रमा लडिरहेकाहरूले यसको खुलेर भत्र्सना गर्न आग्रह गरेका थिए ।
त्यहाँको प्रेस भेटघाटमा सहभागी अन्य प्रतिनिधिहरूले भारतले अल्पसंख्यकहरूमाथि अमानवीय व्यवहार गरेको प्रति अन्तर्राष्ट्रिय जगत् को ध्यान जानुपर्ने बताएका थिए ।
Views: 0