यतिबेला मलाई सबै कुरा सपना जस्तो लागिरहेको छ । एकदमै मीठो सपना । तर, जब यो पदकलाई हेर्छु, छाम्छु अनि विश्वास गर्न कर लाग्छ कि म विपनामै छु ।पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागीता जनाउँदै थिएँ म, त्यो पनि एसियालीस्तरको । नेपालले अहिलेसम्म यस प्रतियोगितामा जितेको भनेको कास्य पदक हो । हङकङ जानुपहिले स्वर्णपदकको मलाई आशै थिएन ।तर, म त्यति कमजोर पनि थिइनँ कि कुनै पदकको आशै गर्न नसक्ने । मलाई गुरुहरुले भन्नुभएको थियो कि त्यहाँ तिम्रा प्रतिस्पर्धिहरु तिम्रै स्तरका छन् । तिमीले पदक ल्याउन सक्छौं । यसले मेरो मनभित्र पनि उर्जा भरिएको थियो र कुनै न कुनै पदक ल्याउँछु भन्ने अठोट बलियो भएको थियो ।
पदक जित्दाको अविस्मरणीय क्षण त म वर्णन गर्ने नै छु, त्योभन्दा अगाडि यो मैदानमा प्रतिस्पर्धा गर्नु अगाडिका झण्झट र उल्झनहरु सुनाउँछु जुन बिर्सन लायक छैनन् । म सशस्त्र प्रहरीसँग करारमा रहेर एथलेटिक्स खेलिरहेको थिएँ । धेरै प्रतियोगिताहरु जितिसकेको थिएँ । जुनियर लेभलमा त मैले विरलै हारेको थिएँ । ५–६ महिना अगाडि एक दिन मलाई सोमबहादुर कुमालले सुनील राजवंशी गुरुको घरमै लैजानु भयो । सुनील गुरु एथलेटिक्स संघका पूर्वमहासचिव हुनुहुन्छ र भुतपूर्व खेलाडी पनि । उहाँलाई सोमबहादुर दाइले मेरो विषयमा भन्नुभयो कि यसलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउन पाए केही गरेर देखाउँछ ।
सुनील गुरुले मेरो नाम त सुन्नुभएको रहेछ तर मेरो बारेमा धेरै थाहा रहेनछ । मेरो दौडको टाइमिङहरु बुझेपछि उहाँ प्रभावित हुनुभयो । उहाँले मेरो दौड पनि हेर्नुभयो । जब मैले दौडेर देखाएँ अनि उहाँ विश्वस्त हुनुभयो कि मैले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छु । उहाँले मलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पठाउन पहल गर्ने आश्वासन दिनुभयो ।हङकङमा मार्च १५ तारिखबाट २३ वर्षमुनिको प्रतियोगिता हुने समाचार सुनेँ । त्यसपछि म सुनील सरलाई भेट्न गएँ । उहाँले मेरो लागि प्रक्रिया अगाडि बढाइदिन तयार हुनुभयो ।वास्तवमा मलाई हङकङ पुर्याउन सुनिल गुरुको ठूलो हात छ । उहाँले अन्तिम क्षणसम्म प्रयास नगरेको भए मेरो सपना यसै खेर जाने थियो । त्यसैले उहाँको गुन कहिल्यै भुल्न सक्दिनँ । उहाँ खेलाडीहरुलाई अति माया गर्नुहुन्छ । मलाई उहाँले पदकका लागि पनि धेरै प्रेरित गर्नुभयो । तिमीले गर्न सक्छौ भनेर ढाडस दिनुभयो ।उहाँले प्रोसेस चालेपछि म कडा अभ्यासमा जुटेँ । गुरु धनीराम चौधरीले मलाई निकै साथ दिनुभयो । उहाँको प्रशिक्षणमा मैले धेरै प्रगति गरेँ।
सुनील गुरुले हङकङ एथलेटिक्स एसोसिएसनमा ४ हजार मिटर दौडका लागि मेरो नाम इन्ट्री गराउन त सफल हुनुभयो, तर भिसा पाउन निकै झमेला व्यहोर्नुपर्यो । कहिले बैंक स्टेटमेन्ट भएन भन्ने, कहिले स्पोन्सर गर्ने होटलको लेटर ल्याउनुस् भन्ने ।धेरै झण्झट दिएपछि मैले त जाने आशा नै मार्न थालिसकेको थिएँ । तर, गुरुले हिम्मत हार्नुभएन । उहाँले हङकङमा सोझै सम्पर्क गरेर भिसाको लागि पहल गर्नुभयो ।सेड्यूल अनुसार हामी १२ तारिखमा उड्नुपर्ने थियो । प्रतियोगिता १५ तारिखबाट सुरु हुँदै थियो भने मेरो गेम १७ तारिखमा थियो । १२ तारिखको लागि हामी दुई (धनीराम गुरु र मेरो) टिकट पनि बुक गरिएको थियो ।तर, १२ तारिखसम्म भिसा नै आएन । त्यसपछि टिकट पोस्टपोन्ड गराइयो । गुरुले लगातार उता सम्पर्क गरिरहनुभयो । बल्ल खबर आयो कि एक–दुई दिनमा भिसा प्राप्त हुन्छ । त्यसपछि १५ तारिखका लागि फेरि टिकट कन्फर्म गरियो ।
१५ तारिखको बिहान बल्ल भिसा आयो । ११ बजेको फ्लाइट थियो । हतारहतार सामानहरु रेडी गरेँ । झोलामा स्पाइक, जुत्ता, कट्टु र दौडदा लगाउने टिसर्ट राखेँ । र, नेपाली झण्डा पनि राखेँ । झोलामा राख्नुअघि नेपाली चन्द्रसूर्य झण्डालाई चुमेँ । एकछिन गला अवरुद्ध भए झैं भयो ।
पहिलोपटक अन्तर्राष्ट्रिय जहाजमा चढियो । एकातर्फ पहिलो विदेश भ्रमण (भारतबाहेक) को रोमाञ्चकता थियो भने अर्कोतिर प्रतियोगिताको डर पनि । सिंगै देशको प्रतिनिधित्व गर्न जाँदैछु भन्ने सम्झिँदा गर्वले छाती ढक्क फुल्यो । तर, कुनै न कुनै पदक जितेर सम्पूर्ण नेपालीको अनुहारमा मुस्कान ल्याउँछु भन्ने मनमनै अठोट गरेँ । स्वर्णको कुरा चाहिँ दिमागमा आएको थिएन ।हामी स्थानीय समयअनुसार १६ तारिख बिहान ६ बजेतिर विमानस्थलमा ल्यान्ड गर्यौं । हामीलाई लिन आयोजकका मानिसहरु आउँछन् भन्नुभएको थियो । त्यसैले हामी प्रतिक्षामा बस्न थाल्यौं । तर, कोही आएन । गुरुसँग आयोजकको फोन नम्बर थियो । त्यहाँ भेटिएका एक नेपालीले फोन लगाइदिए । तर, फोन मरे उठेन । एयरपोर्टमा रहेको पब्लिक फोनबाट पनि बारम्बार गर्यौं । तर, उठेन ।यसरी चार घन्टासम्म एयरपोर्टमै हामी व्यग्र भएर बसिरह्यौं । तर, लिन कोही नआएपछि ट्याक्सी चढेर जाने निधो गर्यौं । गुरुले हामी बस्ने होटलको एड्रेस टिपेर ल्याउनुभएको रहेछ । त्यो एड्रेस ट्याक्सी ड्राइभरलाई दियौं र उसले होटलमा पुर्याइदियो ।
होटलमा पुगेपछि हामीले आयोजकलाई खोज्यौं । उहाँहरुले लिस्टमा मेरो नाम खोज्नुभयो । नाम भेटिएपछि कन्र्फम गरिदिए र रुमको चाबी दिए । हामी दुवैलाई एउटा रुम छुट्याइएको रहेछ । प्रतियोगितामा भाग लिने सबै देशका टोलीहरु आइसकेका रहेछन् र हामी लास्ट थियौं । साथै सबैभन्दा सानो टोली पनि हाम्रै थियो । जम्मा दुईजनाको ।रुममा गएर हामीले केहीबेर आराम गर्यौं । अनि गाडी चढेर रंगशालातिर गयौं । ३५ मिनेटमा रंगशाला पुगियो । निकै भिडभाड थियो । प्रतियोगिता भइरहेको रहेछ । मैले केही खेलहरु हेरेँ । भर्खरै चीनका प्रतिस्पर्धीले एउटा दौड जितेका थिए । उनलाई पदक दिने क्रममा चीनको राष्ट्रिय धुन बज्यो ।त्यतिबेला मैले ती खेलाडीको ठाउँमा आफूलाई सोचेँ । यसैगरी गोल्ड मेडल जितेर चन्द्र सुर्य झण्डा ओढेर नेपालको राष्ट्रिय गान गुञ्जाउन पाए कस्तो होला भनेर मेरो मन बहुत तरंगित बन्यो ।
त्यसपछि मैले केहीबेर अभ्यास गरेँ । थकाइ लागिरहेको थियो । त्यसैले चाँडै होटलमा फर्कियौं । खानपिन गरेर सुत्यौं ।त्यो रात मलाई पटक्कै निद्रा लागेन । हुन त पहिले पनि कुनै पनि प्रतियोगिता खेल्ने अघिल्लो दिन मलाई निद्रा लाग्दैन । झिमिक्कै ननिदाए पनि मेरो दौडमा असर गर्दैन । बानी नै परिसकेको छ । यसपालि पनि त्यस्तै भयो । राति पटक्कै निद्रा परेन । भोलि कस्तो हुने हो, कुनै पदक जित्न नसके कुन मुल लिएर देश फर्किनु भन्ने कुरा मनमा खेलिरह्यो ।बिहान ५ बजे नैं उठेँ । नुहाइधुहाइ गरेँ । गुरु ६ बजेतिर उठ्नुभयो । हामीले गफसफ गर्यौं । गुरुले मलाई केही टिप्सहरु दिनुभयो । ८ बजे हामीले सामान्य खाजा खायौं ।
साढे १ बजे गेम थियो मेरो । १० बजे हामी रुमबाट सबै सामान प्याक गरेर निस्कियौं किनकि खेल सकिनासाथ त्यतैबाट एयरपोर्ट जानुपर्ने अवस्था थियो ।रंगशाला पुग्दा निकै भिडभाड थियो । प्याराफिटमा दर्शकहरु धेरै थिए । त्यहाँ फरक–फरक देशका समर्थकहरुका समूह थिए । मैले नेपाली अनुहारहरु खोजेँ । तर, एकजना पनि देखिनँ । मेरोचाहिँ एक मात्रै समर्थक धनीराम गुरु । तर, हाम्रो खेल युट्यूवबाट लाइभ हुने भएकाले नेपालमा धेरैले हेर्छन् भन्ने थियो ।
रंगशालामा गएर वार्मअप गरेँ । मेरो खेल सुरु हुने भएपछि फस्र्ट कल, सेकेन्ड कल र थर्ड कल हुँदो रहेछ । फस्र्ट कलमा मेरो सामानहरु चेक गरियो । मैले ब्याग खोलेर देखाएँ । उनीहरुले मेरो टिसर्ट देखाउँदै सोधे, ‘ह्वेर इज योर कन्ट्री नेम (खोइ तिम्रो देशको नाम ?) । दौडँदा लगाउने टिसर्टमा देशको नाम लेखेको हुनुपर्ने रहेछ । हामीलाई त्यो ख्यालै भएन । मैले कालो रंगको सादा टिसर्ट लगेको थिएँ ।आयोजकले यो टिसर्ट लगाएर खेल्न नपाइने बताएँ । अब म त आत्तिइहालें । त्यत्रो सपना लिएर आएको मान्छे, प्रस्तिस्पर्धा नै नगरी फर्किनुपर्छ कि जस्तो पो भयो । ‘प्लीज, प्लीज’ भनेर अनुरोध गर्न थाले । उनीहरुको मन पग्लिएछ । ओके ओके भने । मलाई सास आयो । सानो कुरामा विचार नपुर्याएकोमा लज्जित पनि बनेँ ।
हाम्रो दौड सुरु भयो । मेरो रणनीति के थियो भने पहिले अरुको गति जाँच्छु र त्यसपछि आफ्नो गति बढाउँछु । त्यस्तै गरे । सुरुमै लिड लिइनँ । जब अरुको पेस अलि स्लो भयो, त्यसपछि म चम्किएँ । ६ सय मिटरपछि म लिडमा आएँ । तर, मलाई भारतीय धावकले कडा चुनौति दिइरहेका थिए । हामीबीच उछिनपाछिन भयो ।सबै खेलाडीका समर्थकहरु चिच्याइरहेका थिए । खासगरी भारतीय समर्थकको स्वर चर्को थियो । तर, त्यो होहल्लामा पनि म आफ्नो गुरु धनीरामको आवाज मात्रै सुनिरहेको थिएँ । उहाँ मेरो नाम लिएर चिच्याइरहनुभएको थियो ।
तीन ल्यापमात्रै बाँकी रहँदा मैले भारतीय धावकसँग स्पष्ट अग्रता लिएँ । अनिचाहिँ अब जसरी पनि पहिलो हुनुपर्छ भन्ने मनमा लाग्यो । बरु मर्छु, तर दोस्रो हुन्न भन्ने सोच्दै एकदमै जोड लगाएर दौडिएँ । भारतीय खेलाडीले भेट्न सकेनन् ।मैले ४.५ मिनेटमा दौड पूरा गरें । भारतीय खेलाडी मभन्दा ६ सेकेन्डले दोस्रो भए । मैले त्यो दौडमा आफ्नो व्यक्तिगत रेकर्ड पनि राख्न सफल भएको थियो । अर्को शब्दमा भन्नुपर्दा मैले नेपालमा कहिल्यै कायम नगरेको टाइमिङ त्यहाँ कायम गरेँ । देशका लागि खेल्दाको उत्प्रेरणाको नतिजा थियो त्यो सायद ।दौड जित्दाखेरिको क्षणलाई कसरी वर्णन गरुँ ? शब्दहरु नै पाउँदिनँ । मलाई त सपनाको संसारमा छु जस्तो भयो । यताउता आफ्नो गुरुलाई हेरेँ । उहाँ दौडँदै मतिर आइरहनुभएको थियो । हामीले गम्लङ्ग अंगालो मार्यौं ।
मलाई नेपालको झण्डा ओढ्न हतार भइरहेको थियो । टेलिभिजनमा अन्तर्राष्ट्रिय गेमहरु हेर्दा विजेताले झण्डा ओढेर दौडिएको देखेको थिएँ । म पनि त्यसैगरी दौडिएँ बेपत्तासँग । गुरु पनि पछिपछि कुदिरहनुभएको थियो ।केहीबेरमा पदक वितरण सुरु भयो । स्वर्ण पदकमा मेरो नाम आउँदा गर्वले छाती ढक्क फुल्यो । जब नेपालको राष्ट्रिय गान बज्न थाल्यो । त्यतिबेला मलाई सगरमाथाको शिखरमा पुगेको अनुभव भयो । निकै भावुक भएँ । आँखाबाट आँशुचाहिँ खसेन । मेरो हत्तपत्त आँशु आउँदैन । तर, विदेशी भूमिमा सयौं थुंगा फूल.. गुञ्जिँदाको अनुभूति, अहो… ।म सपनाको उडानमा थिएँ । तर, तुरुन्तै नेपाल फर्किने उडान थियो । त्यसैले हामी त्यहाँबाट एयरपोर्टतिर हिँड्यौं । धनीराम गुरुले चिन्नुभएको एकजनाले हामीलाई एयरपोर्टमा ड्रप गरिदिनुभयो ।
विमानमा बस्दा मेरो मनमा अनेकन तर्कनाहरु आइरहेका थिए । दुई दिनअघि हङकङका लागि बिमान चढ्दा र आज नेपाल फर्किने विमान चढ्दा मेरो मानसिकतामा आकाश जमिन फरक थियो । मलाई नेपाली भूमिको पवित्र माटोमा टेक्न हतार भइरहेको थियो ।विमानस्थलमा हामी ओर्लियौं । स्वागतमा एथलेटिक्स संघका पदाधिकारी, सुनिल गुरु, केही एथलेटिक्स खेलाडी र मिडियाहरु हुनुहुन्थ्यो । मेरो दाइ पनि आउनुभएको थियो । न्यानो स्वागत पायौं । सबैले बधाई दिनुभयो । त्यहाँबाट दाइसँग म होस्टलतर्फ लागेँ ।भोलिपल्ट अखबारहरुमा आफ्नो नाम र तस्वीर छापिएको देख्दा प्रफुल्ल बनेँ । इलामबाट बुवा मलाई भेट्न आउनुभएको रहेछ । उहाँलाई दाइले मेरो भिडियोको लिंक पठाइदिनुभएको रहेछ । साथीहरुसँग मेरो छोरा हो भन्दा उहाँको छाति निकै चौडा भएछ ।अहिलेसम्म फोनहरु आइरहेका छन् । मिडियाकर्मीहरुले बोलाइरहनुभएको छ । एकाएक जीवनमा ठूलो परिवर्तन आएको महसुस गरेको छु ।
मेरो पृष्ठभूमि भन्नुपर्दा सप्तरीको राजविराजमा जन्मेको हुँ । बुवा सहस्त्रमा नोकरी गर्नुहुन्छ । अहिले असई हुनुहुन्छ । इलाममा पोष्टिङ छ । आमा हाउसवाइफ हो । गाउँमा नै बस्नुहुन्छ । हामी दुई दाजुभाई छौं । दाजु सीए पढ्दै हुनुहुन्छ । म म्यानेजमेन्ट विषयमा १२ कक्षा पढ्दैछु पिनाकल एकेडेमीमा ।म सानैदेखि काठमाडौंमा बसेर पढेको हुँ । एपीएफ स्कुलमा पढ्दा विभिन्न खेलकुदमा भाग लिन्थे । बढी रुची फुटबलमा थियो । स्कुलको टिमबाट धेरै फुटबल म्याच खेलियो ।कक्षा ८ मा पढ्दै गर्दा एकपटक अन्तरविद्यालय रोड रेस हुने भयो । त्यसका लागि विद्यालयबाट प्रथम भएर म छानिएँ । त्यसमा एक हजार विद्यार्थीले भाग लिएका थिए । म तेस्रो भएँ । नगद पाँच हजार, मेडल र प्रमाणपत्र पाएँ । भोलिपल्ट पत्रिकामा पनि मेरो नाम छापियो । त्यही प्रतिस्पर्धाबाट मेरो खेल करिअरले नयाँ मोड लियो ।पहिलो प्रतिस्पर्धामा नै तेस्रो भएपछि मेरो निकै हौसला बढ्यो । आजसम्म फुटबल खेलेर एक पैसा पुरस्कार पाउन सकेको थिइनँ । पहिलोपटक दौडिँदा नै ५ हजार पाएँ र पत्रिकामा नाम पनि आयो । अब म फुटबल छोडेर दौडमै लाग्छु भन्ने निधो गरेँ ।अनि नियमित अभ्यास गर्न थालेँ । प्रतियोगिताहरुमा भाग लिँदै गएँ । शिक्षा दिवसको अवसरमा आयोजित दौड जितेँ । त्यसपछि लगातार दुई रोड रेसमा फर्स्ट भएँ ।
Views: 0