विवाह भनेको जीवनमा एकचोटीमात्र हुने कुरा हो। त्यसैले यसलाई हामीले अविस्मरणीय तरिकाले सम्पन्न गर्नुपर्छ । अवस्मरणियको अर्थ धेरै खर्चिलो र तडकभडकयुक्त होइन। केही विशेष र फरक बनाउनुपर्छ। नेपालमा यसको अभ्यास केही न केही रुपमा भइरहेको छ। एक सय रुपैयाँमा विवाह सम्पन्न गर्ने र विवाहमा लाग्ने अनुमानित रकम समाज सेवाको क्षेत्रमा खर्च गर्ने संस्कारको विकास हुँदैछ। तथापी बाह्य प्रभावले र विभिन्न हिन्दि फिल्म र पाकिस्तानी टेलिफिल्मको प्रभावले विवाह महँगो हुँदै गइरहेको छ। हिन्दु ग्रन्थहरुले विवाहलाई स्त्री पुरुषको सामान्य संयोगको रुपमा मात्र स्वीकार गरेको छैन।अग्नि स्थापनामा साथ बैदिक मन्त्रहरु उच्चारण गर्दै कन्यालाई सक्षम र योग्य पु्रुषका साथ मोक्ष प्राप्त गर्ने दिशामा उन्मुख गराउनु विवाहको उद्देश्य मानेका छन्। अत विवाहले केवल यस भौतिक जीवनमा अघि बढ्न सहयोग गर्ने मात्र होईन, आध्यात्मिक र मोक्षको लागि पनि उत्तिकै महत्वपूर्ण रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ।
विवाहका हरेक विधिले दाम्पत्य जीवन अझ बढी दरिलो रुपमा बाँध्न सक्छ। जस्तो, जनै सुपारी, स्वयंम्बर, वरणी, कन्यादान, सम्धिनी भेट, बिदाइमा सासुले ज्वाइँलाई व्यक्त गर्ने भनाइ आदी। यस्ता विधिले सम्बन्ध अटुट बनाउने विषयमा अहिलेको पुस्ताले त्यती धेरै ध्यान दिएको देखिदैन। हिजोआज त विवाह हरेक कुराको योजना बनाइदिने, मिलाइदिने विभिन्न इभेन्ट म्यानेजमेन्ट कम्पनी पनि छन्। त्यसपछि थरीथरीका पार्टीहरु गर्ने र खर्च बढाउने काम भइरहेको छ। विवाहमा सहभागीहरुले पनि महँगा उपहार तथा खादाहरुले दुलाहा दुहलीलार्इ नै पुर्ने किसिमको संस्कार विकास हुँदै गइरहेको छ। यसअघि नेकपा एमालेबाट निर्वाचित सांसद कृष्णबहादुर राईले देशमा सामूहिक विवाह गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका थिए। प्रतिनिधि सभा भईरहेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा राईले भोजमा हुने अनुत्पादक खर्च घटाउन र समतामुलक समाज बनाउन सामुहिक विवाह गर्ने व्यवस्था गर्नुपर्ने बताएका थिए। सांसद राईले भनेका थिए, हामी विवाह गर्छौं, यो जीवनका लागि आवश्यक छ तर हामी भोज संस्कृतिका बिवाहमा होस् या म्यारिज एनिभर्सरीमा होस्, यस्तै बर्थ डेका नाम जति धेरै भोज गरिरहेका छौं त्यो अनुत्पादक क्षेत्रमा गरेको लगानी सरह हो।
विवाह यति भड्किलो बनाइन्छ कि त्यसको भार तिर्न नै त्यो दम्पत्तिलार्इ आधा उमेर बित्छ वा तिर्न नपरे पनि त्यो पैसा कुनै उत्पादक तथा समाजसेवाका क्षेत्रमा लगाउन सकिन्छ। जब उसलार्इ कही विराम भयो वा परिवारका सदस्यलार्इ केही रोग लागेर अस्पताल भर्ना भयो भने आर्थिक जोहो उ एक्लैले गर्नुपर्छ। त्यहाँ आउने आफन्तले पनि बुके, जुस, फलफूल लाने हाम्रो बानी नै भइसकेको छ। बिरामी भेट्न जाँदा फलफूल, पुष्पगुच्छामा पैसा खर्चिनुभन्दा सिधै आर्थिक सहयोग गर्नु उत्तम हुन्छ। अन्नपूर्ण न्युरो अस्पतालले त ‘गेट वेल सुन’ कार्ड को अवधारणा ल्याएको छ। गेट वेल सुनको को नेपाली अर्थ हुन्छ ‘छिटै निको होऊ’। यो कार्ड पोस्ट कार्डजस्तै हो जुन तीन थरिका छन्। कार्डको मूल्य रु. २५०, ५०० र १००० रुपैयाँ रहेको छ। हरेक कार्डमा छुट्टाछुट्टै चित्रहरु छन्। कार्डको पछाडि मूल्य लेखिएको छ। आगन्तुकले बिरामी भेट्न जाँदा अस्पतालको फार्मेसीबाट यो कार्ड किन्न सक्छन्। कार्ड किन्दा कार्डकै लागि अत्तिरिक्त रकम तिर्नु पर्दैन। आगन्तुकले आफूले मनलागेको जति पनि कार्ड दिन सक्छन्। बिरामीले त्यो जम्मा पारेको कार्डको रकमअनुसार डिस्चार्ज हुँदा अन्तिम बिलबाट छुट पाउँछन्। अस्पतालमा भेट्न आउने सबै आगन्तुकले फलफूल तथा बुके ल्याएर थुपार्दा विरामीलार्इ कति कुरा त खान बर्जित गरिएको हुन्छ। त्यहाँ ल्याएर थुपार्दा त्यतीकै सडेर जान्छ। त्यसकारण अस्पतालको बेडमा जाँखा गेट वेल सुन कार्डजस्तै सक्नेजति आर्थिक सहयोगको खाम बोकेर हिड्नु उत्तम हुन्छ। विवाहमा अनावश्यक बुके तथा गिफ्ट लग्नु र अस्पतालमा फलफूल लगेर जानु उत्तिकै महत्व हुन्छ। तर, अस्पतालमा आफूले सक्ने आर्थिक सहयोग गर्दा त्यो गुन कहिल्यै बिर्सिनेछैन। त्यसकारण विवाहमा जाँदा आर्शिवाद दिउ र अस्पतालको बेडमा जाँदा आर्थिक सहयोग गरौं। यो अभियानकै रुपमा सञ्चालन गर्दा समाजिक रुपान्तरणमा ठूलो टेवा पुग्नेछ।
-कृष्णप्रसाद सापकोटा
Views: 0