काठमाडौ– नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको कुरा चर्चामा आएको छ ।फागुन २९ गतेदेखि मधेश भ्रमणको क्रममा ज्ञानेन्द्र शाह जनकपुरको सिताशरण होटलमा बास बसे । त्यस्तै, जनकपुर–जयनगर रेल्वे निर्माण कार्यको अनुगमन गर्न राजदूत पुरी आकस्मिक रुपमा चैत१ गते जनकपुर पुगेका थिए।उनी पनि जनकपुरको सिताशरण होटलमै बास बसे।
उनीहरुका बीचमा चैत १ गते भेट भएको राजवादीहरुले दावी गर्दै आएका छन् । चैत १ गते राती ११ बजेतिर उनीहरुको बीचमा डेढघण्टा भेटघाट भएको दावी गरिएको छ तर नेपालस्थित भारतीय दूतावासका एक कर्मचारीका अनुसार उनीहरुको बीचमा भेटघाट त धेरै टाढाको कुराहरु देखादेख समेत भएको छैन ।‘यो राजावादीहरुले ज्ञानेन्द्रलाई चर्चामा ल्याउनका लागि गरिएको हल्ला हुनसक्छ’ दूतावासका एक पदाधिकारीले भने, ‘दूतावासको तर्फबाट विगत दुई वर्षयता ज्ञानेन्द्र शाहसँग कसैले भेटेको छैन, जनकपुरमा भेटेको हल्ला पूर्ण निराधार हो ।’
‘यदि ज्ञानेन्द्रलाई भेट्नु नै पर्यो भने जनकपुर गएर किन भट्नु पर्यो ?’ उनको भनाई थियो । पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौमा पनि मज्जाले भेट्न सकिने दूतावासका ती पदाधिकारीले दावी गरे ।यदि नेपाल सरकारको संयन्त्रले यो सूचना केन्द्रीय सरकारलाई वा मन्त्रिपरिषद्लाई दिएको छ भने परराष्ट्र मन्त्रालयले आफूहरुसँग जवाफ माग्नुपर्ने हो नि तर अहिलेसम्म उताबाट कुनै पत्र आएको छैन, दूतावासका ती पदाधिकारीले भने, ‘ज्ञानेन्द्रसँग भेटको विषयमा दूतावासलाई आधिकारिक कुनै कम्प्लेन आएको छैन, यदि आयो भने मात्र हामी बोल्छौं, अहिले त्यतिकै बोल्न आवश्यक छैन ।’
सरकारले दूतावाससँग आधिकारिक जानकारी माग गर्यो भने आफूहरु दिन तयार रहेको र त्यसपछि मात्र त्यसको बारेमा बोल्ने उनले बताए । यता, परराष्ट्र मन्त्रालयले पुरीलाई स्पष्टिकरण सोध्ने विषयमा कुनै तयारी गरेको छैन ।ज्ञानेन्द्रको भ्रमणसँगै हिड्ने शिवसेनाका एकजना पदाधिकारीले भने, ‘यी दुईजना बीचको भेटबारे हामीले केही बोल्न मिल्दैन, बोल्ने हामी आधिकारीक होइनौं, राजाको सचिवालयसँग सम्पर्क गर्नुस् ।’ उनले दुईजनाको बीचमा भेट भएको संकेत गरे पनि प्रष्ट बताउन चाहेनन् ।धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल भन्छन्, ‘हामीलाई प्राप्त सूचनाअनुसार राजदूत मञ्जिभसिंह पुरी र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटघाट भएको छैन ।’
दुईजना भिआइपी एउटै होटलमा बास बसेपछि अनुसन्धानका प्रहरीदेखि लिएर जनपदका प्रहरी २४ घण्टा सुरक्षाका लागि ड्युटी गरेका थिए । ज्ञानेन्द्र पहिलो तल्लाको भिभिआइपी १०७ नम्बर कोठमा बसेका थिए । त्यो फ्लोर ज्ञानेन्द्रकै सचिवालयका कर्मचारी र सुरक्षाकर्मीले प्याक थियो ।राजदूत पुरी तेस्रो तल्लामा बसेका थिए । यस कारणले पनि दुईजनामा भेट्ने चान्स नै थिएन, होटलमा लिफ्ट पनि छैन, माथि जाँदा–आउँदा भर्याङ्ग प्रयोग गर्नुपर्ने हुन्छ । प्रमुख कँडेलका अनुसार राती भर्याङ प्रयोग गरेर दुईजनामध्ये कोही पनि तलमाथि गरेका छैनन् ।
दूतावासका कर्मचारीले दावी गर्दै भन्छन्, ‘रेल्वेको निरीक्षणपछि त्यस विषयमा राती ११ वजेसम्म पुरीले त्यहाँका पदाधिकारीसँग आफ्नै कोठामा छलफल गरेका थिए ।’प्रदेश २ को अस्थायी राजधानी रहेको जनकपुरमा सबभन्दा राम्रो भनेको होटल सिताशरण मात्र हो । बाहिरबाट जाने भिआइपीहरुको पहिलो रोजाई सिताशरण होटेल नै हुन्छ, दुवैजना त्यही होटेलमा बसेको हो तर कुनै भेटघाट नभएको दूतावास स्रोतको दावी छ ।
राजा ज्ञानेन्द्रले आफ्नो लागि स्पेस बनाउनका लागि विभिन्न ठाउँको भ्रमण गरिरहेका छन् । उनले पटक–पटक भारतको पनि भ्रमण गरेका छन् । भारतीय जनता पार्टी हिन्दु समर्थक पार्टी भएको हुनाले साथ पाइन्छ भने ज्ञानेन्द्रले त्यसखालको ‘लविङ्ग’ पनि गरे । भारतीय सत्ताधारी दलबाट उनले कुनै पनि सिङ्गनल पाउन सकेनन् ।त्यसपछि उनले मधेशलाई केन्द्रबिन्दु बनाए । मधेश र भारतको सम्बन्ध राम्रो रहेको छ, हिन्दु धर्मालम्बीहरु मधेशमा नै बढी छन् ।
त्यो बुझेर पूर्वराजा ज्ञानेन्द्रले मधेश भ्रमण गरेको मधेशका बुद्धिजीवी तथा विश्लेषकहरुको बुझाई रहेको छ । प्रदेशका ८ वटै जिल्ला घुमिसकेका पूर्वराजा त्यहाँको भीड र नाराले उत्साहित भएका छन् । ज्ञानेन्द्र हाल झापामा छन् । त्यहाँबाट इलाम हुँदै पाँचथरसम्म जाने कार्यक्रम रहेको बुझिएको छ ।
-musicnepal
Views: 0