बीबीसी । ब्रिटिस सेनामा गोर्खा राइफल्सको तेस्रो बटालियन स्थापना भएर सन् २०१९ बाट भर्ती शुरु गरिने त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । पछिल्ला वर्षमा ब्रिटेनको सेनाको घटिरहेको सङ्ख्याको मारमा नेपाली गोर्खाहरू समेत परेका थिए । नयाँ निर्णयसँगै उनीहरूको सङ्ख्या ७३० ले बढेर झण्डै चार हजार पुग्ने ठानिएको ब्रिटिस फोर्सेस बोर्डकास्टिङ सर्भिसले जनाएको छ ।
नेपालसँग छलफल भएको थियो ?
फागुनको दोस्रो साता नेपाल भ्रमणमा रहेका ब्रिटिश रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टरले बटालियन बढाउनेबारे नेपाल सरकारसँग कुनै छलफल नगरेको पर्राष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । उनले भने, ूगोर्खा सैनिकको सङ्ख्या थप गर्ने बिषयमा समग्र पुनरावलोकन नभएसम्म नेपालको सहमति छैन भनिसकेका छौं । मन्त्री ज्ञवाली भर्तीको सङ्ख्या थपघट हुने विषयमा नेपाल सरकारसँग छलफल हुनुपर्ने बताउँछन् ।
नेपाल, भारत र बेलायत सरकार बीच सन् १९४७ मा भएको गोर्खा फौजबारेको त्रिपक्षीय सम्झौतालाई उल्लेख गर्दै उनीहरूको सेवा सुविधा र सङ्ख्याको बारेमा समय९समयमा बहस हुने गरेको छ । सन् २०१९ का लागि नेपालका विभिन्न ठाउँबाट हुने प्रारम्भिक छनोटमा १० हजारबाट छानिएका ५८० पोखरा आइपुगेका थिए । भर्तीको सङ्ख्या सन् २०१९ मा ४३२ थियो जुन पछिल्लो साढे तीन दशकको सबैभन्दा उच्च हो ।
परिवर्तित परिवेश
ब्रिटेनले तीन वर्षअघि गरेको आफ्नो प्रतिरक्षा समीक्षामा पाँचवटा विशेषज्ञ पैदल फौज तयार पार्ने बताएको थियो । जस अन्तर्गत नै अहिले तेस्रो बटालियन स्थापना गरेर गोर्खा सैनिकहरुको सङ्ख्या बढाउन लागिएको ब्रिटेनको रक्षा मन्त्रालयले जनाएको छ । यी फौजहरु खासगरी क्षमता विकास र तालिम विज्ञका रुपमा रहनेछन् ।
नयाँ बटालियनमा गोर्खालाई रोज्नुको कारण बताउँदै ब्रिटिश रक्षा राज्यमन्त्री लाङ्कास्टरले भनेका छन्, दुई शताब्दीभन्दा बढि समयदेखि गोर्खाहरूले आफ्नो क्षमता र साहसका कारण निकै उच्चस्तरको सेवा र बलिदानी दिएका छन् । उनीहरुले युके र ब्रिटिस सेनासम्म ल्याएको त्यही मौलिक विज्ञता र दृष्टिकोणकै कारण तेस्रो बटालियनमा निर्माणका लागि छानिएको हो । ब्रिटेनको विश्वव्यापी सुरक्षा प्रतिबद्धतासँग जुझ्नमा महत्तवपूर्ण मानिने तिब्र उद्दार, इञ्जिनियरिङ र सञ्चार सम्बन्धी जिम्मेवारीहरु मुख्य मानिने मन्त्रालयले जनाएको छ । दुई शताब्दीदेखि ब्रिटिस सेनामा रहेका गोर्खा सैनिकहरू आधारभूत तालिममा सतप्रतिसत उत्तिर्ण हुनेमध्ये पर्छन् ।
सरकार स्पष्ट होस्
हाल ब्रिटेनमा सेवानिवृत्त जीवन बिताइरहेका पूर्व गोर्खा मेजर टिकेन्द्र दल देवानले नयाँ घोषणालाई उत्साहजनकु बताउँछन् । गोर्खा सैनिकहरु पुराना पुस्तामा भएका विभेद र समस्याका बेग्लै कथा छन् । तर नयाँ पुस्ताका भएको समान अवसरबीच यस्तो घोषणाको स्वागत गर्नुपर्छ । उनीजस्ता पूर्व गोर्खाहरूको एउटा माग भने ब्रिटेनलाई आवश्यक पर्दा ठूलो सङ्ख्यामा भर्ती गर्ने नचाहिँदा कटौती गर्ने अनिश्चितता हटाउनु पर्छ भन्ने हो ।
देवान भन्छन्, जसको लागि दुवै सरकारहरु मिलेर गोर्खाहरुको न्यूनतम सङ्ख्या घटबढ नहुने सहमति गर्नु आवश्यक छ । ब्रिटिस सेनामा पछिल्लो समय गोर्खाहरूलाई अन्य रेजिमेन्टतर्फ जाने अवसर समेत खुला छ । नयाँ बटालियनले गोर्खाहरूलाई बढुवाजस्ता व्यावसायिक उन्नतिको अवसर उच्च हुने र उनीहरुले गोर्खा बिर्गेडमै पूरा २४ वर्ष सेवाअवधि पूरा गर्ने सम्भावना उच्च हुने ब्रिटिस रक्षा मन्त्रालयको भनाई छ । सन् २०२० सम्म गोर्खा ब्रिगेडमा नेपाली महिलाहरूलाई पनि भर्ती गर्ने योजना बनाइरहेका बेला नेपालको एउटा संसदीय समितिले उक्त कार्य तुरून्त बन्द गराउनु निर्देशन दिएपछि ब्रिटिश सरकारको उक्त योजनाबारे अन्योल कायमै छ ।
Views: 0