कति मान्छे थाम्न सक्ला इटहरीले ?

२०७६ बैशाख ११, बुधबार ०८:१६ गते २०७६ बैशाख ११, बुधबार ०८:१६ गते २०७६ बैशाख ११, बुधबार ०८:१६ गते

प्रदेश १ को केन्द्रभागमा अवस्थित उदीयमान इटहरी शहर बसाइँसराइको चापका कारण बेलुन जसरी फुलिरहेको छ । यही गतिमा जनसंख्या वृद्धि हुँदै गयो भने इटहरीले कति मान्छे थेग्न सक्ला ? यसको हिसाव-किताब अहिलेसम्म कसैले गरेको छैन ।

जनसंख्या वृद्धिले भविश्यमा पार्ने प्रभावबारे अगि्रम विश्लेषण नभए पनि घरधुरीको नयाँ विवरणचाहिँ इटहरी उपमहानगरपालिकाले संकलन गरिरहेको छ । उपमहानगरपालिले तयार पारेको प्रारम्भिक तथ्यांकलाई हेर्ने हो भने ०६८ सालमा १ लाख ४० हजार ५१७ जनाको बसोबास रहेको इटहरीको जनसंख्या अहिले करिब ३ लाख पुगेको छ ।

उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीका अनुसार इटहरीमा वर्षेनी २ हजारको संख्यामा नयाँ घर थपिने गरेका छन् । उपमहानगरनगरप्रमुख चौधरीले अनलाइनखबरसँग भने, ‘वर्षेनी २ हजार घर नक्शा पास हुन्छन् । २ हजार घर निर्माण हुन्छन् । यो तथ्यांकले के बताउँछ भने इटहरीमा बसाइँ सराइको चाप अत्यधीक छ ।’

सहर मोटायो, संरचना उस्तै !

इटहरी बजारमा अग्ला-अग्ला भवनहरु बनेका बन्यै छन् । ठूल्ठूला होटल, सपिङ मल र डिपार्टमेन्ट स्टोरहरुले इटहरीको शोभा बढाएको छ । फुटफाथका पसलमा देखिने भीडभाडले इटहरीमा बिजनेश मौलाइरहेको प्रष्ट हुन्छ । सुन्दर पोखरीको छेउमा रहेको कलात्मक उपमहानरनगरपालिकाको कार्यालय र हरित सिटीका रुपमा विकास भइरहेको इटहरीको मुख्य बजारलाई हेर्दा यो शहर शान्त र मनोरम देखिन्छ । तर, मुख्य शहर वरपर बढिरहेको बजारले यो उपमहानगरपालिका सुन्निएर मोटाउन थालेको पो हो कि भन्ने भान हुन्छ ।

शहरको अव्यवस्थित विकास भएकाले सार्वजनिक स्थलहरु मासिँदै गइरहेको नगर प्रमुख चौधरी बताउँछन् ।

नगरपालिका हुँदा बनेको संरचनामा उहानगरका कर्मचारीहरु नअटाउने भएपछि मेयरको कार्यकक्ष पोखरीको डिलमा एकतले भवनमा बसेको छ । जमीनको अभावले नै हुनुपर्छ, स्व. रामजी चौधरीका परिवारले जग्गा दान दिएर बनाइएको पोखरीभित्र उपमहानगरपालिकाले भौतिक संरचना बनाएको छ । इटहरी उपमहानगरपाकिलाका कार्यकारी प्रमुख बस्ने कार्यकक्ष नगरपाकिलाको पोखरीमै पिल्लर गाढेर बनाइएको छ ।

शहर जति-जति मोटाउँदै छ, पुराना भौतिक संरचनाहरु साँघुरा बनिरहेका छन् । उदाहरणका लागि इटहरी इलाका प्रहरी कार्यालयलाई हेरौं ।

उपमहानगरपालिकाको कार्यालयभन्दा अलि पूर्वपटि्ट मुख्य राजमार्गसँग जोडिएको स्थानमा छ इटहरी इलाका प्रहरी कार्यालय । यो कार्यालय ०३४ सालमा स्थापना भएको हो । सुरुमा यहाँ असईको नेतृत्वमा ६/जना प्रहरी बस्थे । अहिले इटहरीको जनसंख्या बढ्दै जाँदा प्रहरीको दरबन्दी बढेर १६० पुगेको छ । असईको साटो डीएसपीको नेतृत्व छ । तर, ६/ जना बस्ने संरचनामै अहिले डेढ सय प्रहरी फोर्स बसिरहेको छ । यो जमीन पनि पूर्व-पश्चिम राजमार्ग ६ लेनको बनाउने क्रममा आधाजति सडकमा पर्ने जाने इप्रकाका डीएसपी समिर चन्द्र खरेलले अनलाइनखबरलाई बताए ।

डीएसपी खरेलका अनुसार इटहरी इलाका प्रहरी कार्यालय राख्नका लागि उपमहानगरपालिकासँग मिलेर जग्गाको खोजी भइरहे पनि अहिलेसम्म भनेजस्तो जमीन फेला पर्न सकेको छैन ।

इटहरीजस्तै तराईको पूर्वपश्चिम राजमार्ग आसपासमा मौलाइरहेका नेपालका उदीयमान शहरहरुमा देखिने सुरक्षा चुनौती नयाँ किसिमका हुने गरेको डीएसपी खरेल बताउँछन् । जस्तै- विगतमा इटहरीमा गुण्डागर्दी र यौनजन्य अपराधहरु देखिने गरेकोमा अचेल ठगीलगायतका आर्थिक अपराधका घटनाहरु बढी देखिने गरेको डीएसपी खरेलले अनलाइनखबरलाई जानकारी दिए ।

इटहरीका डीएसपीले यहाँ प्रचार गरिएजस्ताे सुरक्षा समस्या नरहेको दाबी गरे । तर, गत साउनमा मारिएका इटहरी–१० का कृष्ण ढकालका हत्यारा पहिचान भएर पनि प्रहरीले अहिलेसम्म समात्न सकेको छैन, जसले इटहरीमा अपराधको ‘लेबल’ कस्तो छ भन्ने स्पष्ट पार्छ ।

इटहरीमा जनसंख्या बढ्दै जाँदा नयाँ किसिमका सुरक्षा चुनौतीहरु देखिएको सुरक्षा अधिकारीहरुले बताउँदै गर्दा यहाँ घर घडेरी जोड्नेहरुको ताँती केही वर्षदेखि लगातार बढिरहेको छ । वैदेशिक रोजगारीबाट फर्केका पूर्वी पहाड वा तराईका गाउँले बासिन्दाहरुको रोजाई इटहरी नै बन्ने गरेको छ । मोरङ, सुनसरी आसपासका गाउँबाट जग्गाजमीन बेचेर इटहरीमा घडेरी किन्ने अभियान चलिरहेकै छ ।अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *