चलचित्र ‘छक्का पन्जा २’ फेरि रिलिज गर्ने तयारी गर्दै गर्दा निर्माता दीपकराज गिरी र उनको टिमलाई दर्शकले गाली गरिरहेका छन् । निर्माता दिपकराज गिरी यो सबै योजनाको योजनाकार आफू भएको भन्दै गाली आफूलाई नै गर्न दर्शकसँग आग्रह गर्छन् । युटुबमा चलचित्र नहालेर फेरि रिलिज गर्न लागेको भन्दै उनलाई ‘लोभी’ भन्नेहरुको पनि कमी छैन ।
अनलाइनखबरको ‘ओके सेलिब्रिटी शो’मा कुरा गर्दैै दिपकले भने–‘अहिलेको यूवापुस्तालाई कुनै पनि चलचित्रको ‘रिपिट भ्यालू’ भन्ने थाहा नहुन सक्छ । तर, चलचित्रको रिपिट भ्यालू भन्ने पनि हुन्छ । नेपाली चलचित्रको रिपिट भ्यालू बन्द भएको धेरै भएको छैन ।’यता, कलाकार केदार घिमिरेले भने–‘हलमा झिंगा पनि आउन छाडेपछि २ महिना अगाडि हल संचालकहरुले ‘छक्का पन्जा २’ भएपनि लगाउन आग्रह गर्नुभएको थियो । हामीलाई पनि यसपछि सोच आएको हो ।’ चलचित्र ‘छक्का पन्जा २’का केही दृश्यहरुलाई काटेर चुस्त बनाइएको दिपकले भने । उनले भने–‘नेपाली चलचित्र हलमा नभएको बेलामा फेरि पनि दर्शकलाई हाँसौ न त भन्ने सोच आउन सक्छ । बिदाको मुडमा दर्शकलाई चलचित्र हेर्ने बानी पनि बस्न सक्छ । फेरि, यसको पैसा राम्रो कामका लागि पनि जान्छ ।’
उनले युटुबमा चलचित्र हाल्न हुँदैन भन्ने सोचमा आफू नभएको बताए । तर, चाडै युटुबमा हाल्न नहुने उनको भनाई छ । ‘छक्का पन्जा २’लाई चुस्त बनाइएको भन्दै केदारले भने–‘जे कुरालाई छक्का पन्जा २ लाई छक्का पन्जा १ भन्दा कमजोर बनाएको थियो । ती दृश्य काटेर चुस्त बनाइएको छ ।’निर्माता तथा कलाकार दिपकराज गिरीले सबै दर्शकले हलिउड चलचित्र ‘एभेन्जर्स’ नहेर्ने बताए । उनले, नेपाली चलचित्र हेर्ने दर्शकले आफूहरुको चलचित्र रिपिट चल्दा पनि हेर्ने दाबी गरे । उनले अगाडि भने–‘एकदिन नेपाली चलचित्र बलिउडका खानसँग जुध्ने पावर राख्नुपर्छ । एभेन्जर्स आयो भन्दैमा नेपाली चलचित्र भाग्नुपर्छ भन्ने छैन ।’ कलाकार केदार घिमिरेले नेपाली चलचित्रकर्मीले नै राजनीति गरेको देख्दा भने आफूलाई दुःख लाग्ने सुनाए ।वैशाख १३ गतेबाट चलचित्र ‘छक्का पन्जा २’ रि–रिलिज हुँदैछ । यसको व्यापारले आजको दिनमा चलचित्रको रिपिट भ्यालूको अर्थ केलाउनेछ ।
Views: 0