काठमाडौं । बैंकिङ कसुर अभियोगमा पक्राउ परेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा दोषी देखिएका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाललाई नरेशकुमार न्यौपानेले दिएको जाहेरीको आधारमा वैशाख १० गते निवासबाटै पक्राउ गरेको थियो ।‘मुद्दा अगाडि बढाउनुभन्दा पहिला बैंकबाट पैसा बुझे÷नबुझेको कागजपत्रहरु झिकाएर अनुसन्धान गरिरहेका छौं,’ परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।यो मुद्दा फौजदारी हो । त्यसैले थुनामा राखेर अनुसन्धान भइरहेको छ । चेक बाउन्स भइसकेपछि दोषी को हो भनेर भनिराख्न पर्दैन,’ डिएसपी बोगटीले भने ।प्रहरीले अनुसन्धानका लागि नेपाललाई ७ दिनको थप म्याद थपेको छ । अनुसन्धानपछि प्रमाणका आधारमा उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
नेपालले २०७५ मंसिर २१ गते नरेशकुमार न्यौपानेलाई ६ लाख रुपैयाँको चेक दिएको र त्यो बाउन्स भएपछि न्यौपानेले प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।बैंक कसुरमा दोषी प्रमाणित भए तीन महिनादेखि ६ महिना जेल सजाय र विगो बराबरको अतिरिक्त रकम पीडितलाई भराउने व्यवस्था छ। यसैबीच नेपालले आफूलाई फसाइएको दावी गर्दै आएका छन् । पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो राष्ट्रवादी आन्दोलन कमजोर पार्न आफूलाई षड्यन्त्रमुलक ढंगले पक्राउ गरिएको दावी गरेका छन् ।
Views: 0