म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ बोक्सीखोलामा चौरीको आलो रगत पिउने मेला लागेको छ । वैशाख र साउन गरी वर्षको दुईपटक लाग्ने यो मेलामा औषधीय गुणले युक्त चौरीको आलो रगत पिउन गण्डकी प्रदेशका विभिन्न जिल्लाका साथै काठमाडौं, बुटवल, चितवन लगायत स्थानबाट मानिसहरू आएका छन् ।विशेष गरी यौनशक्ति बढाउन र रक्तविकार हटाउन चौरीको रगत पिउन उक्त भीड लागेको धौलागिरि चौरीपालन कृषक समूहका गोविन्द शेरचनले बताए ।चौरीको रगत निकाल्न बोक्सीखोलामा २४ ओटा चौरी गोठहरू राखिएका छन् । ती गोठहरूमा करीब ४ सय भन्दा बढी चौरी रहेको बताइएको छ । शनिवारसम्म १ हजार पाँचसय भन्दा बढीले चौरीको आलो रगत पिएको व्यवसायीहरूको भनाइ छ । प्रत्येक बर्ष आयोजना हुने यस मेलामा आलो रगत सेवन गरेबापत प्रति गिलास २ सय ५० रुपैयाँ लिने शेरचनले बताए । मेला १० दिनसम्म सञ्चालन हुने बताइएको छ ।
Views: 0