के होमवर्क नगरी नहुने हो र ? बुझ्नुहोस् वालवालिकाको मनोवैज्ञानिक।

२०७६ बैशाख १६, सोमबार १८:३१ गते २०७६ बैशाख १६, सोमबार १८:३१ गते २०७६ बैशाख १६, सोमबार १८:३१ गते

विद्यालयबाट फर्केका छोराछोरीलाई सबैभन्दा बढी चटारो हुन्छ, होमवर्कको । विद्यालयको ड्रेस बदल्न नपाउँदै उनीहरु कपी र पुस्तक फिजाउन थाल्छन् । अघिल्तिर पस्किएको नास्ता समेत भुलेर पाठ घोक्न र प्रश्न हल गर्न थाल्छन् ।गृहकार्य, जसलाई अहिलेका बालबालिकालाई होमवर्क भन्न सजिलो मान्छन्, त्यो उनीहरुको दैनिकीको एक हिस्सा हो । अढाई बर्षको उमेर अर्थात नर्सरीमा भर्ना भएदेखि नै उनीहरुले घरमा आएर गृहकार्य गर्नुपर्ने हुन्छ ।

गृहकार्यको पिरलो

बालबच्चा घर फर्किएपछि सबैभन्दा बढी घोत्लिनै नै गृहकार्यमा हो । यदि उनीहरुले सही ढंगले गृहकार्य गरेनन् भने उक्त विषयको कक्षामा बस्न असहज हुन्छ । शिक्षकको गाली खानुपर्ने हुनसक्छ । सजाय झेल्न सक्नुपर्छ । साथीभाईको अगाडि आफ्नो कमजोरी खुल्नेछन् ।त्यही कारण उनीहरु गृहकार्यप्रति अत्यान्तै गंभिर एवं संवेदनशिल हुने गर्छन् । गृहकार्य गर्नुपर्छ भन्ने मानसिकताले उनीहरुलाई उन्मुक्त खेल्न र खान पनि दिदैन । यस्तो समस्या ‘पढाईमा कमजोर’ विद्यार्थीलाई अरु बढी हुन्छ ।उनीहरु यसैपनि शिक्षक र साथीभाईका अगाडि निरिह हुन्छन् । कतिपय पाठ बुझेकै हुँदैनन् । शिक्षकले कक्षाकोठामा पढाएका कुरा मस्तिष्कले ग्रहण गरेको हुँदैन । जबकी घर फर्केपछि त्यही पाठ बुझेर गृहकार्य गर्नुपर्न हुन्छ । यस्तो अवस्थामा उनीहरुलाई होमवर्क गर्नु सजाय झेल्नु बराबर हुन्छ ।यसको असर चाहि कहाँ पर्छ भने, उनीहरुलाई आफ्नो कक्षाकोठा, शिक्षक सम्झन मन लाग्दैन । विद्यालयप्रति वितृष्णा भाव जाग्न थाल्छ । गृहकार्यकै बोझले उनीहरु मानसिक भार बोक्न बाध्य हुन्छन् ।

खेल्न मन लाग्दालाग्दै, खान मन लाग्दालाग्दै, गफ गर्न मन लाग्दालाग्दै, टिभी हेर्न मन लाग्दालाग्दै पनि उनीहरु आफुलाई खुम्चाएर गृहकार्य गर्न बस्छन् । गृहकार्य गर्नैपर्छ भन्ने मानसिक दबावले उनीहरुलाई अरु कुरा गर्न छुट दिदैन ।गृहकार्य राम्ररी गरेका छैनन् वा गर्न छुटाएका छन् भने बालबालिकालाई विद्यालय जान डर लाग्छ । त्यही डरको कारण बालबच्चा विद्यालय नजाने भएकाले कति अभिभावक आफैले होमवर्क गरिदिन्छन् ।

गृहकार्य एक कर्मकाण्ड

बालबालिकाले राम्ररी गृहकार्य गरेनन् भने शिक्षक/शिक्षिकाको गाली खानुपर्छ । सजाय झेल्नुपर्छ । उनीहरुलाई यस्तो लाग्छ, मानौ गृहकार्य नगर्नु वा छुटाउनु भनेको अपराध गरे सरह हो ।यद्यपी हरेकजसो विद्यालयले गृहकार्यलाई अनिवार्य गराउँछ । जति धेरै गृहकार्य थमाइन्छ, उत्तिनै विद्यार्थीहरु बौद्धिक एवं तिक्ष्ण हुन्छन् भन्ने मान्यता हुन्छ । भएभरको गृहकार्य दिएपछि विद्यार्थीहरुले पाठ कष्ठस्थ गर्छन् । कक्षा कोठामा पढाएको पाठ र अभ्यास गराएको कुरालाई थप जानेर वा बुझेर आउँछन् । यही कारण हरेक शिक्षक/शिक्षिकाले विद्यार्थीलाई साँझ घर र्फकदा गृहकार्य पनि बोकाएर पठाउँछन् । विद्यार्थीहरु पिठ्युँमा ५-६ केजीको झोला र मस्तिष्कमा दर्जनौ गृहकार्यको चाप बोकेर घर र्फकन्छन् । घरमा पिठ्युँको झोलाले भन्दा मस्तिष्कको बोझले अरु बढी थकित बनाउँछ ।

शिक्षक/शिक्षिकाले विद्यार्थीको मनोदसा बुझेका हुँदैनन् । बुझ्ने फुर्सद पनि हुँदैन । उनीहरुलाई के मात्र थाहा हुन्छ भने, गृहकार्य दिएपछि विद्यार्थीहरु पढाईबाट दायाँबायाँ लाग्दैनन् । खेलेर वा टिभी हेरेर समय बर्वाद गदैनन् । निरन्तर पढिरहन्छन् । किनभने परीक्षामा उच्च अंक जो हासिल गर्नुछ ।

गृहकार्य गर्नैपर्छ ?

गृहकार्य गर्नैपर्छ ? संभवत हरेक कलिला विद्यार्थीको मनमा यो प्रश्न उठ्छ । तर, उनीहरुलाई यस्तो प्रश्न गर्ने ठाउँ दिइदैन ।गृहकार्य किन गराइएको होला ? गृहकार्य गराउँदा के हुन्छ ? गृहकार्य कुन हिसाबले सार्थक हुनसक्छ ? गृहकार्य नगराउँदा के हुन्छ ?यस सम्बन्धमा शिक्षक/शिक्षिकाहरु सायदै घोत्लिन्छन् । गृहकार्य आफैमा गलत भने होइन । गृहकार्य नगराउँदैमा राम्रो हुन्छ भन्ने पनि होइन । तर, गृहकार्यको महत्व र आवश्यक्तालाई नबुझी दिइने गृहकार्य विद्यार्थीको लागि बोझ हो । यसले उनीहरुको खाने र खेल्ने समय चोरिदिन्छ । बच्चाहरु बच्चा जस्तै हुन पाउँदैनन् । उनीहरु मानसिक बन्दी बन्न पुग्छन् ।

गृहकार्य गराउनुको पछाडि केही अर्थ हुन्छ ।पहिलो, विद्यार्थीले कक्षाकोठामा पढेका पाठ घरमा गएर अभ्यास गरुन् ।दोस्रो, दिनभर पढेको पाठ विद्यार्थीले कसरी बुझेका छन् भन्ने मूल्यांकनका लागि ।तेस्रो, विद्यालयबाहिर पनि विद्यार्थी पढाईमा केन्द्रित होउन् ।चौथो, फुर्सदको समय सदूपयोग होस् ।मूलत यिनै ध्येय हुन्, गृहकार्य दिइने । जब कुनै विद्यार्थीले गृहकार्य गर्दैनन्, तब उनीमाथि औंला ठड्याइन्छ । किन ?किनभने, उनले पाठ बुझेकै छैनन् ।किनभने, उनले हेलचेक्रयाइ गरे ।किनभने, उनले शिक्षकलाई टेरेनन् ।किनभने, उनी पढाइप्रति गंभीर छैनन् ।

यस्तै सोचाइ राखेर गृहकार्य नगर्ने विद्यार्थीलाई ‘कमजोर’ वा ‘हेलचेक्राई गरेको’ दोष दिइन्छ । अतः गृहकार्यको नतिजा जे हुनुपर्ने सो हुँदैन । यसले विद्यार्थीको पढाईमा थप निखार ल्याउनुपर्ने थियो, तर यसले उनीहरुलाई मानसिक बोझ दियो ।हाँस्ने-खेल्ने समय गृहकार्यमा

अहिले यसैपनि विद्यालयमा पठन-पाठनको समयावधी बढी छ । बिहान आँखा खुल्नसाथ बालबालिकाहरु पहिरन लगाउने, पुस्तक मिलाउने, नास्ता तयार गर्ने हतारोमा हुन्छन् । राम्ररी ज्यान तंगि्रन नपाउँदै उनीहरु विद्यालयको प्राङ्गण टेकिसकेका हुन्छन् । दिनभर विद्यालयकै कक्षा कोठामा बसेर पठनपाठन गर्छन् । घर र्फकदा साँझ ५ वा ६ बज्छ । अर्थात बिहान आँखा खुल्नसाथ घर र आमाबुवा छाडेका विद्यार्थी साँझमा मात्र घरभित्र प्रवेश गर्न पाउँछन् । अझ कतिपय बच्चालाई ट्युसन, कोचिङ क्लासमा राख्ने गरिन्छ । अर्थात बिहान उठेदेखि राती सुत्ने समयसम्म उनीहरु पढेको पढ्यै हुन्छन् ।त्यसपछि पनि उनीहरुलाई किताब र कपीले छाड्दैन, गृहकार्य जो गर्नैर्पर्छ ।

जबकी बालबच्चालाई खेल्ने र रमाउने समय पनि चाहिन्छ । बच्चाले पाठ वा किताब हेरेर मात्र सबै कुरा सिक्दैनन् । घरमा खेलेर धेरै कुरा सिक्छन् । मनोरञ्जन गरेर धेरै कुरा सिक्छन् । घरको वातावरण, चालचलनबाट पनि धेरै कुरा सिक्छन् । तर, होमवर्क वा पढाईको अतिरिक्त चापले उनीहरु घरभित्रै पनि आमाबुवा, परिवारबाट विच्छेद हुनुपर्छ ।यसर्थ अहिलेका बालबालिकालाई गृहकार्य कति आवश्यक छ ? गृहकार्यले कति सार्थक नतिजा दिइरहेको छ ? अभिभावक र शिक्षिक/शिक्षिकाले बुझ्नैपर्छ ।अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *